बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

चर्चित शक्तिपीठ जहाँ दसैं देखिन्छ

महेश्वर गौतम
2 weeks ago
12/10/2018

चर्चित शक्तिपीठ जहाँ दसैं देखिन्छ

महेश्वर गौतम

चाडबाडको समयमा हिन्दूहरू मन्दिरमा पुगेर पूजा आराधना गर्नु अनिवार्य ठान्छन् । त्यति मात्र नभई धार्मिक स्थलहरूमा पुगेर दर्शन गर्ने अनि घुमेर रमाइलो गर्नेहरू पनि प्रशस्त भेटिन्छन् । दसैंका बेला यस्ता मन्दिरहरूमा झनै भीडभाड बढ्ने गरेको पाइन्छ । नेपालमा यस्ता चर्चित शक्तिपीठहरू छन्, जहाँ विजयादशमीका बेला हर्षोल्लासका साथ पूजाआजा
चल्ने गर्छ ।

पाथिभरा

पूर्वी नेपालको चर्चित धार्मिक स्थलहरूमध्ये पाथिभरा देवी मन्दिर पुग्ने धेरैको इच्छा हुन्छ । चाडबाडको फुर्सदको समयमा पाथिभरा पुग्नेहरूको भीड नै लाग्छ । दसैंमा यहाँ भक्तजनहरूको घुइँचो लाग्छ । ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि १९ किलोमिटर उत्तरपूर्वमा पर्ने मन्दिर अग्लो डाँडामा पर्दछ । ३ हजार ७९४ मिटरको उचाइमा रहेको मन्दिरमा हिउँद महिनामा भने जान कठिन हुन्छ । चैत, वैशाख तथा असोज, कात्तिक महिना मन्दिरको दर्शन गर्न जान उपयुक्त हुन्छ । सुकेटर विमानस्थलबाट पैदल हिँड्दा करिब नौ घण्टा लाग्छ । यहाँ जतिसुकै बलि चढाए पनि रगत नदेखिने जनविश्वास छ । विराटनगर वा काठमाडौंबाट हवाई यातायातको सुविधा भए पनि सधैं जहाज जाँदैन । त्यसैले, झापाको चारआलीबाट सार्वजनिक सवारीमार्फत २७० किलोमिटर यात्रापछि फुङलिङ सदरमुकामबाट मन्दिरको यात्रा तय गर्न सकिन्छ ।

हलेसी

पूर्वको पशुपतिनाथका रूपमा चिनिने खोटाङको हलेसी तुवाचुङ नगरपालिका (साबिक महादेवस्थान गाविस) मा पर्ने हलेसी गुफाको प्रसिद्धि नेपालमा मात्र नभई भारत, बंगलादेश र भुटानमा समेत छ । काठमाडौंबाट हलेसी बिहान सबेरै हिँड्दा साँझसम्म पुग्न सकिने शक्तिपीठ हो । यहाँको महादेव गुफा आकर्षक मानिन्छ । गुफामा बौद्ध, किराँत र हिन्दूहरूले उत्तिकै श्रद्धा एवं सम्मान गर्ने गर्छन् । विशेषगरी शिवरात्रि, बालाचतुर्दशी तथा रामनवमीका दिन यस मन्दिरमा भक्तजनको ठूलो संख्यामा भीड लाग्ने गर्छ । काठमाडौंबाट हलेसी महादेव पुग्न २३० किलोमिटरको यात्रा तय गर्नुपर्छ । दसैंका बेला यहाँ विशेष मेला लाग्ने गर्दछ ।

छिन्नमस्ता

सप्तरी जिल्लामा पर्ने छिन्नमस्ता देवीको मन्दिरमा विशेष गरेर दसैंका बेला भक्तजनहरूको धेरै भीड लाग्छ । सदरमुकाम राजविराजबाट १० किलोमिटर टाढाको सखडा गाउँमा पर्ने यो मन्दिर नेपाल र भारतको सिमानामा पर्छ । दसैंका बेला पशुपंक्षीको बलि दिनलाई धेरै भक्तजन यहाँ पुग्छन् । मन्दिरमा हिन्दू मात्र होइन मुसलमान समुदायहरू पनि दर्शन गर्न पुग्ने गर्छन् । मन्दिरभित्र मूल देवीको कालो रङको मूर्ति छ । उक्त मूर्तिको पाउतिर राँगाको काटिएको टाउको प्रस्ट रूपमा ढुंगामा कुँदिएको छ । जसका कारण पनि साक्षात देवीका रूपमा भक्तजनहरू यहाँ पुग्छन् ।

 

जालपा देवी

नुवाकोट जिल्लामा पर्ने जालपा देवी मन्दिरमा दसैंका बेला विशेष भीड लाग्ने गर्छ । सदरमुकाम विदुरदेखि आठ किलोमिटर दक्षिणमा त्रिशूली नदीको किनारामा रहेको यो देवीघाट चाडबाडको समयमा पुग्नैपर्ने धार्मिकस्थल हो । पृथ्वीनारायण शाहको दाहसंस्कार यही मन्दिरको घाटमा गरिएको नेपालको इतिहासमा उल्लेख छ । दसैंमा यहाँ नुवाकोट, धादिङ, रसुवासहित राजधानी काठमाडौंबाट समेत दर्शनार्थीहरू पुग्ने गरेका छन् ।

 

ज्वालामुखी देवी

धादिङको चैनपुरमा पर्ने ज्वालामुखी देवीको मन्दिरमा पनि दसैंमा बढाइँ दिने प्रचलन छ । प्रसिद्ध शक्तिपीठका रूपमा यहाँ भक्तजनहरू आइपुग्छन् । सदरमुकाम धादिङबेंसीबाट काफलपानीसम्म गाडीमा सहजै पुग्न सकिने यो मन्दिर आसपासबाट धादिङका सबै गाविस देख्न पनि सकिन्छ ।

 

बडिमालिकास्थान

कालीकोट जिल्लाको बडिमालिका मन्दिर चाडबाडका समयमा धेरै घुइँचो लाग्ने मन्दिर हो । बडादसैं तथा चैतेदसैंमा विशेष मेला लाग्ने भएकाले यसलाई ठूलो शक्तिकेन्द्रका रूपमा मान्ने गरिन्छ । १२ हजार २ सय १९ फिटको उचाइमा रहेको यो मन्दिरमा अष्टमीका दिन बलि दिएर टीका लगाउन घरमै पुग्ने प्रचलन छ । कालिकोटको मार्तडीबाट तीन दिनको पैदल यात्रा गरी मन्दिर पुग्न सकिन्छ ।

 

त्रिपुरा सुन्दरी

डोल्पाको त्रिपुरा सुन्दरी भगवतीमा दसैंमा भीडभाड हुन्छ । प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपले महŒवपूर्ण त्रिपुरा भेरी नदीको किनारमा पर्छ । पञ्चबलिका लागि प्रख्यात यस मन्दिरमा चैते दसैं र बडादसैंमा भव्य मेला लाग्छ । त्रिपुरा नामको राक्षसलाई मारिएको हुनाले मन्दिरको नाम त्रिपुरा सुन्दरी रहन गएको विश्वास छ । यसको प्रवद्र्धनका लागि खप्तड स्वामी शंकराचार्यले ठूलो योगदान पु¥याएको मानिन्छ । डोल्पाको सदरमुकाम दुनैबाट १६ कोष पूर्वमा रहेको मन्दिर पुग्न पैदल हिँडेर पाँच घण्टामा पुग्न सकिन्छ । प्राकृतिक रूपमा पनि यो स्थान अति नै रमणीय छ ।

 

बागलुङ कालिका

बागलुङ जिल्लामा रहेको बाग्लुङ कालिका देवीको मन्दिर चाडबाडका बेला विशेष भीडभाड हुने मन्दिर हो । पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग गरिदिएपछि दाइजोका रूपमा कालिकाको मूर्ति दिएकोमा त्यही मूर्ति मन्दिरमा राखिएपछि मन्दिरले चर्चा पाउन थालेको र भक्तजनहरूको भीड लाग्न थालेको मानिन्छ । सदरमुकाम बागलुङ बजारदेखि पूर्वमा कालिगण्डकी र कोठेखोलाको संगममा रहेको हात्तीसुँडे जंगलमा मन्दिर रहेको छ । दसैंको कालरात्रि र नवमीको दिन यहाँ राँगो, कुखुरा, सुगुर र परेवाको बलि दिइन्छ ।

गहवामाई

पर्सा जिल्लाको वीरगन्जमा रहेको गहवामाई दसैंका लागि प्रख्यात धार्मिक स्थल हो । गहवामाई मन्दिरमा बली चढाउँदा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । पशुबलि नचढाउनेहरू मिठाई, फलफूल र नरिवल चढाउने गर्दछन् भने उनीहरूले जमरा कोठामा घिरौंला, कुभिण्डो, मुला आदि बलि दिई दुर्गाभवानीलाई दही चिउरा, खीर तथा नरिवल
चढाउने गर्दछन् । प्रत्येक वर्ष बडादसंैको सप्तमीदेखि महानवमीसम्म ठूलो मेला लाग्ने गरेको गहवामाईमा विभिन्न कामना र भाकल गरिएका बोका, कुखुरा, हाँस र परेवालगायतका पशुपंक्षीको बलि चढाइन्छ । यहाँ नजिकैको भारतीय सहर रक्सौलसहित बिहार र आसपासका क्षेत्रबाट समेत दसैंमा भाकल पूजा गर्न उल्लेख्य संख्यामा भक्तजनहरू आउने गर्दछन् । जसका कारण घण्टाघर क्षेत्रदेखि बिर्ता बजारसम्मको सडक मेलाकै कारण अवरुद्धसमेत हुने गरेको छ ।

उग्रतारा

सुदूरपश्चिमका नौ भगवतीमध्ये उग्रताराको दर्शनका लागि पनि हजारौं भक्तजन यहाँ पुग्ने गर्छन् । डडेल्धुराको अमरगढी नगरपालिकामा पर्ने यो मन्दिर बागबजारबाट चार किलोमिटर पश्चिमपट्टि रहेको छ । प्रत्येक वर्षको महाअष्टमीका दिन यहाँ भव्य मेला लाग्ने गर्छ । किंवदन्तीअनुसार २५ सय वर्षपहिले हालको अमरगढी नगरपालिका–८ लटाउली बस्ने सार्की जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएको विश्वास गरिन्छ । यहाँ बलि दिने प्रचलन पनि छ ।

 

मौलाकालिका

नवलपरासी गैंडाकोटको मौलाकालिका मन्दिर चाडबाडका समयमा भीडभाड हुने मन्दिर हो । सवारीसाधन मन्दिरको प्रवेशद्धारसम्मै पुग्छ । त्यहाँबाट १ हजार ८९२ वटा सिँढी चढेपछि भगवतीको मन्दिर पुग्न सकिन्छ । उकालो सिँढी पार गर्न करिब ४० मिनेट लाग्छ । यहाँ एउटा पोखरीको बीचमा गाडिएको काठको खम्बा र सामुन्ने कालीको मन्दिर छ । मन्दिरभित्र रहेको कालीको मूर्ति भने छुन पाइँदैन । दसैंका बेलामा यहाँ नारायणगढ बजारसहित नवलपरासी, चितवन, रूपन्देही तथा मकवानपुरबाट समेत भक्तजनहरू दर्शनका लागि पुग्ने गरेका छन् ।

 

गोरखकाली

बडादसैंमा विशेष महŒवका साथ पूजा–आरधना गरिने गोरखाको गोरखकाली मन्दिरको आफ्नै विशेषता छ । गोरखा दरबारस्थित मन्दिर दसैंघरमा घटस्थापनाको दिन बिहान सबेरै दुर्गा भगवतीको प्रतिमालाई दियो, कलश र नगराबाजा कैलाश कोठाबाट पूजा कोठामा स्थानान्तरण गरी देउता सार्ने प्रचलन छ । सोही अवसरमा हर्षबढाइँ गरी दसैं प्रारम्भ भएको घोषणासमेत गरिन्छ । गोरखा दरबारसँगै रहेको मन्दिरमा वर्षौंअघि देखि बडादसैंका अवसरमा विशेष पूजाआजा हुने गरेको छ ।

 

विन्ध्यवासिनी

पोखराको विन्ध्यवासिनीको मन्दिरमा पनि चाडबाडका बेला विशेष भीड लाग्ने गर्छ । भगवतीलाई विन्दुवासिनी पनि भनेर पूजा गर्ने गरिन्छ । बडादसैंको फूलपातीका दिन बाजागाजासहित फूलपाती भिœयाउने प्रचलन छ । पोखरा–बागलुङ सडकखण्डनजिकै पर्ने यो मन्दिर ३ सय वर्षअघि निर्माण भएको इतिहास छ । यस्तै, पर्सा जिल्लाको साबिक विन्ध्यवासिनी गाविसमा समेत विन्ध्यवासिनी मन्दिर छ । जहाँ दसैं अवधिभर पूर्णिमासम्म धुमधामका साथ मेला लाग्ने गर्छ । यहाँ भारतबाट समेत भाकल पूजा गर्न उल्लेख्य संख्यामा भक्तजनहरू आउने गरेका छन् । यस्तै बारा, पर्सा, रौतहट, मकवानपुरबाट समेत यहाँ दर्शन गर्न भक्तजनहरू पुग्ने गर्दछन् ।

 

पाल्पा भगवती

पाल्पाको तानसेन बजारको मध्य भागमा अवस्थित पाल्पा भगवती मन्दिरको बेग्लै धार्मिक महŒव छ । श्रीनगर डाँडामा रहेको मन्दिरको मध्य भागमा रणउजेश्वरी भगवतीको मूर्ति रहेको छ । भाद्र कृष्ण नवमीका दिन यहाँ भव्य जात्रा हुने गर्छ । अंग्रेजसँग युद्ध लड्नुपूर्व यहाँ सैनिकहरूले भव्य पूजाआजाको आयोजना गर्ने गर्थे भन्ने इतिहास पाइन्छ । बडादसैंका बेला पनि भगवतीको दर्शनका लागि भक्तजनहरू पुग्ने गर्छन् ।

 

देउती बज्यै

सुर्खेतको ऐतिहासिक धार्मिकस्थल देउती बज्यै मन्दिर धार्मिक पर्यटकीय स्थलका रूपमा प्रख्यात मानिन्छ । मन्दिर सदरमुकाम वीरेन्द्रनगर बजारबाट साढे तीन किलोमिटरको दूरीमा पर्छ । मन्दिरमा देवीका दुवै पाइला रहेकाले त्यहाँ दर्शन गर्ने भक्तजनको घुइँचो लाग्छ । मनले चिताएको पूरा हुने विश्वासका साथ कुलदेवीको पूजा गर्ने गरिन्छ । मन्दिरमा बोका बलि दिने, परेवा उडाउने र घण्टी चढाउने परम्परा छ ।

गढीमाई

बलिका लागि चर्चित गढीमाईको मन्दिर बारा जिल्लामा पर्छ । सदरमुकाम कलैयाबाट करिब आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईमा पाँच–पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि मेला लाग्ने गर्छ । बडादसैंका बेला यहाँ राँगा र बोकाको विशेष बलि दिने प्रचलन छ । गढीमाईको पूजाआजा गर्दा कंकालीमाई, जाखिनमाई, भक्तिमाईको पनि पूजा गरिन्छ । यो शक्तिपीठ चर्चित शक्तिपीठ हो ।

 

मनकामना

गोरखा जिल्लामा पर्ने प्रख्यात धार्मिक स्थल मनकामना नपुग्ने मानिसहरू कमै मात्र भेटिन्छन् । चाडबाडको समयमा दर्शन गर्ने मात्र होइन घुमघामका लागि मनकामना पहिलो छनोटमा पर्छ । काठमाडौंबाट १०२ किलोमिटर यात्रा गरेपछि कुरिनटारबाट केबुलकार चढेर यस मन्दिरमा सहजै पुग्न सकिन्छ । पैदल जानेहरूका लागि आबुखैरेनीबाट करिब पाँच घण्टाको यात्रा तय गरेपछि पुगिन्छ । विशेष गरेर पशु बलिका लागि यो मन्दिर प्रख्यात छ । दसैंको अष्टमीका दिन यहाँ विशेष बलि चढाउने प्रचलन छ ।

पलाञ्चोक भगवती

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालबाट नजिकै रहेको पलाञ्चोक भगवतीको मन्दिर चर्चित शक्तिपीठ हो । वैशाख पूर्णिमा र कात्तिक पूर्णिमामा भव्य मेला लाग्ने यहाँ टाढाटाढाबाट भक्तजन आउने गर्दछन् । मन्दिर लिच्छवी कालीन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन् । काठमाडौंको नक्साल भगवती र शोभा भगवती अनि पलाञ्चोक भगवती एकै शिल्पकारले तयार गरेको किंवदन्ती रहेको छ । यहाँ दसैंमा भक्तजनहरूको
भीड लाग्छ ।

भीमेश्वर

दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट उत्तरपूर्वमा रहेको ऐतिहासिक सहर दोलखामा अवस्थित भीमेश्वर मन्दिर नेपालकै प्रसिद्ध देवस्थल हो । किरातकालमा नै स्थापना भएको यस मन्दिरमा देशमा संकट आउनुपूर्व भीमेश्वरको मूर्तिमा संकेतका रूपमा पसिना आउने गर्दछ । मन्दिरमा नित्य पूजाबाहेक भीम एकादशी, बालाचतुर्दशी, चैतेदसैं, बडादसंैमा मेला लाग्ने गर्दछ । काठमाडौंको पुरानो बसपार्कबाट १३३ किलोमिटरको यात्रा तय गरेपछि चरिकोटबाट मन्दिर पुग्न चार किलोमिटरको यात्रा तय गर्नुपर्छ ।

दक्षिणकाली

काठमाडौंबाट नजिकै रहेको दक्षीणकाली मन्दिर धार्मिक यात्राका लागि प्रमुख गन्तव्य मानिन्छ । विशेषगरी शनिबार र मंगलबार भीड लाग्ने यस मन्दिरमा बलि दिने प्रचलन पनि छ । दक्षिणकाली काठमाडौंबाट दक्षिणतर्फ करिब १७ किलोमिटरको बस यात्रा गरेपछि पुग्न सकिन्छ । राजा प्रताप मल्लद्वारा निर्माण गरिएको यो मन्दिर कालीदेवीको हो । यहाँ दसैं अवधिभर धुमधामका साथ मेला लाग्ने गर्दछ । राजधानीवासीहरूको दसैंमा यहाँ भीड लाग्ने गर्दछ ।

वनशक्ति माई

पर्सा जिल्लाको पश्चिमी क्षेत्र ठोरीमा पर्ने वनशक्ति माईको मन्दिरमा दसैंको सुरु दिन घटस्थापनादेखि नै भव्य पूजा आराधना हुने गर्दछ । यहाँ भारतीय क्षेत्र पटनादेखिका भक्तजनहरू दर्शनका लागि आउने गर्दछन् । घरमा जमरा नराख्नेहरूले समेत यस मन्दिरमा जमरा राख्ने वा त्यहाँबाट घरमा लैजाने गर्दछन् । यस शक्तिपीठमा बलिसमेत दिइने गरिन्छ । यस मन्दिरमा चितवन जिल्लाबाट समेत भक्तजनहरू पूजा आराधनाका लागि पुग्ने गर्दछन् ।

बज्रबाराही

चार बाराहीमध्ये बज्रबाराही मन्दिरको बेग्लै महŒव छ । ललितपुरको चापागाउँमा पर्ने यो मन्दिरसम्म पुग्न ललितपुरको लगनखेल तथा जावलाखेलबाट सहजै गाडी पाउन सकिन्छ । प्राकृतिक रूपले सुन्दर साथै ऐतिहासिक स्थलका रूपमा पनि यस मन्दिरको महŒव छ । दसैंमा यहाँ बोकाको बलि दिने प्रचलन छ । कात्तिक शुक्ल अष्टमी, नवमी र दशमीका दिन यहाँ विशेष जात्रा देखाउने
प्रचलन छ ।

कालिञ्चोक

कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवतीसमेत सात भगवती दिदी बहिनी हुन् भन्ने किंवदन्ती रहेको छ । यो मन्दिर दोलखाको सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर उत्तरमा पर्छ । यहाँसम्म पुग्न हिजोआज कच्ची बाटोमार्फत ट्याक्सीमा समेत जान सकिन्छ । यस्तै निजी सवारीसाधनहरू समेत यहाँ लैजान सकिन्छ । हालै आएर यस मन्दिरमा पुग्नका लागि केबुलकारको पनि परीक्षण सञ्चालन सुरु गरिएको छ । यस मन्दिरमा दर्शन गरेमा चिताएको पूरा हुने, रोग व्याधी नलाग्ने, शत्रुको भय नहुने, धन सम्पत्ति वृद्धि हुने जनविश्वास रहेको छ । चाडबाडको समयमा यहाँ भक्तजनहरूको भीड लाग्ने गर्छ ।

बज्रयोगिनी

नेपालको प्राचीन सहर साँखुमा रहेको बज्रयोगिनी मन्दिरको विशेष महŒव रहेको छ । काठमाडौंको पुरानो बसपार्कबाट १८ किलोमिटर टाढा रहेको यो मन्दिरमा विशेषगरी माघ महिनामा श्रीस्वस्थानी व्रतकथा मेला लाग्ने गर्छ । बज्रयोगिनी देवीलाई बौद्ध परम्पराअनुसार बुद्धशक्ति ‘तारा’का रूपमा मानिन्छ । यसकारण बज्रयोगिनी देवीलाई उग्रतारा पनि भनिने गरिन्छ । चैतमा बज्रयोगिनी जात्राकै आयोजना गरिन्छ । जात्राका बेला अन्डा, हाँस, बोका र राँगाको बलि दिने गरिन्छ ।

चण्डेश्वरी

चण्डेश्वरी मन्दिर काभ्रेको बनेपामा पर्दछ । नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीका रूपमा पुज्ने गर्दछन् । यी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरू चण्डेश्वरी भनेर मान्दछन् भने बुद्धमार्गीहरूले पनि चण्डेश्वरीलाई विशेष रूपमा मान्ने गर्दछन् । दसैंका बेला यहाँ सयौं भक्तजन दर्शनका लागि पुग्ने गर्छन् ।