आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

दसैं आशीर्वाचन

नवीन लुइँटेल
2 months ago
12/10/2018

दसैं आशीर्वाचन


नवीन लुइँटेल

बडादसैंका बेला मान्यजनका हातबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्ने गरिन्छ । दुर्गाभवानीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने क्रममा विभिन्न संस्कृतका मन्त्रहरू उच्चारण गर्ने गरिन्छ । मन्त्रहरूसँगै विभिन्न आशीर्वाद पनि दिने चलन छ । संस्कृतका मन्त्रहरूमा धन, मान, ऐश्वर्य, बल, आयु, स्वास्थ्य, ज्ञान, शान्ति मनोकामना पूर्णलगायतका शुभेच्छासहित आशीर्वाद दिने गरिन्छ । विभिन्न मन्त्र भए पनि नेपाली समाजमा दुईवटा मन्त्र बढी प्रचलित छन् । ‘आयु द्रोणसुते श्रीयम् च दशरथे…’ भन्ने मन्त्र पुरुषहरूलाई टीका लगाइदिँदा उच्चारण गर्ने मन्त्र हो । यसैगरी, ‘जयन्ती मंगला काली भद्रकाली कपालिनी…’ भन्ने मन्त्र महिलालाई टीका लगाइदिँदा उच्चारण गर्ने गरिन्छ ।

पुरुषलाई टीका लगाइदिँदा उच्चारण गर्ने मन्त्र ः
आयुद्र्राेणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।।
शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।।
विज्ञाने विदुरे भवति भवताम किर्तिश्च नारायणे ।।

आयुद्र्रोणसुते भनेको द्रोणपुत्र अस्वस्थामाको जस्तो दीर्घायु होस् भन्ने हो । अष्ट चिरञ्जीवीमध्ये एक पर्ने अस्वस्थामाको आयु यो ब्रह्माण्ड रहुन्जेल भएको पुराणमा उल्लेख छ । मन्त्रका क्रममा श्रियो दशरथे भन्नाले दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस् भन्ने कामना हो । यसैगरी, शत्रुक्षयं राघवे भनेको भगवान् रामको जस्तो शत्रु नाश होस् भन्ने हो । रामका सबै शत्रुको नाश भएजस्तै टीका थाप्नेहरूको पनि शत्रुहरू नाश होऊन् भन्ने शुभेच्छा हो । ऐश्वर्य नहुषे भनेको नहुष राजाको जस्तो खुसी ऐश्वर्य होस् भन्ने हो । जीवनमा सधैं हाँसीखुसी रहनुपरोस्, दुःख नपरोस्, मनमा आनन्द होस् भन्ने कामना मन्त्रमा उल्लेख गरिएको छ । यसैगरी, गतिश्च पवने भन्नाले पवन पुत्र हनुमानको जस्तो गतिशीलता होस् भन्ने हो । हनुमानको गति यति छिटो थियो कि उनले आफ्नो गतिमा लाखौं कोस समुन्द्रपारि लंका पुगेर माता सीताको पत्ता लगाएका थिए । अहिलेको आधुनिक युगमा पनि उनै हनुमानको जस्तो गतिका साथ हामी मानव अघि बढ्नुपर्छ । टीका थाप्ने मन्त्रमा मानञ्च दुर्याेधने पनि भनिन्छ ।

यसको अर्थ दुर्याेधनको जस्तो मान हुन सकोस् भन्ने हो । दुर्योधनले आफूले मान्नुपर्ने र पाहुनालाई धेरै मानसम्मान दिने गरेको महाभारतमा उल्लेख छ । यसैगरी दानं सूर्यसुत भनेको सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस् भनेको हो । अहिलेको युगमा दान महŒवपूर्ण छ । कसैका लागि सानो दान पनि महŒवपूर्ण हुन सक्छ तसर्थ द्वापर युगमा कर्णले दान गरेजस्तै हुनु भनेर आशीर्वाद दिइने चलन छ । कर्णले आफूलाई जस्तै दुःख पर्दा पनि दान गर्न छोडेका थिएनन् । बलं च हलधरे भन्नाले हलो बोकेर हिँड्ने कृष्णका दाजु बलरामको जस्तो बल होस् भन्ने कामना पनि गरिन्छ । बलबिना कसैको अस्तित्व हुँदैन ।

अहिलेको समाजमा मुडेबल मात्र नभई बुद्धिसहितको बल चाहिन्छ । यसैगरी, सत्यञ्च कुन्तीसुत भनेर टीका जमरा लगाउँदा मान्यजनले आशिष दिन्छन् । यसको अर्थ कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता होस् भन्ने हो । सत्य बलवान छ, सत्य कहिल्यै लुक्दैन र सत्य जसले गर्छ, त्यो सफल पनि हुन्छ । युधिष्ठिरले पनि जीवनमा सत्य मात्रै बोले र व्यवहारमा पनि उतारे । जसका कारण असत्यका प्रतीक कौरव पराजित भए । विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे भन्नाले विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वाद दिने गरिन्छ ।

महिलालाई टीका लगाइदिँदा भनिने आशीर्वाद मन्त्र
जयन्ती मंगला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।
मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने मान्यता नेपाली समाजमा छ । पूर्व या पश्चिम फर्किएर टीका ग्रहण गर्दा राम्रो हुने मान्यता छ । दसैंमा रातो टीका र जमरा लगाउने गरिए पनि कुनैकुनै समुदायले भने सेतो टीका पनि लगाउने गर्छन् । रातो र सेतो शान्ति तथा समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ ।

देवी विसर्जन मन्त्र
नवरात्रभर देवीलाई पूजाआजा गरी विजयादशमीका दिन विसर्जन गरिन्छ । देवी विसर्जनका बेला पनि निम्न मन्त्र उच्चारण गरिन्छ ।
आवाहनं नजानामी नजानामी विर्जसनम् ।
पूजां चैव नजानामी क्षम्यतां परमेश्वरी ।।
इमां पूजां मायादेवी यथाशक्त्या निवेदितम् ।
रक्षार्थ त्वत्प्रसादाय वज्र स्वस्थानमुत्तमम् ।।
यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादका रूपमा घाँटीमा लगाइन्छ । घरका ज्येष्ठ व्यक्तिले भगवतीको प्रसादस्वरूप अबिर र दहीमा मुछेको चामलका टीका निधारमा र जमरा टाउकोमा लगाई प्रसाद तथा दक्षिणा दिई आशीर्वाद ग्रहण गरिन्छ । अनि, सपरिवार नातेदारकहाँ तथा मान्यजनकहाँ दसैंको टीका लगाउन जाने परम्परा छ ।

नवदुर्गा पूजा गर्दा भनिने श्लोक
प्रथमं शैलपुत्री च द्वितीयं
ब्रह्मचारिणी ।
तृतीयं चन्द्रघंटेति कूष्माण्डेति चतुर्थकम् ।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः ।।

(Visited 3 times, 1 visits today)