बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

उपभोगको पर्व

शिव दुवाडी
2 weeks ago
12/10/2018

उपभोगको पर्व

शिव दुवाडी

दसैं मूलतः पारिवारिक मिलनको चाड हो । यस अवसरमा टाढाटाढादेखि मानिसहरू पुर्खौली घर आउने र आपसमा भेटघाट तथा मेलमिलाप गर्ने प्रचलन छ । मीठो खाने र राम्रो लाउने चाड भएकाले दसैंमा वस्तु तथा सेवाहरूको अत्यधिक खपत हुन्छ । हुनेखानेहरूलाई समस्या भएन तर हँुदाखाने परिवारलाई ठूलै भार बोकाएर जान्छ, दसैंले । किनकि उनीहरूसँग ऋण काढेर दसैं मनाउनुको विकल्प हुँदैन ।

यतिबेला देशको अर्थतन्त्रसमेत अत्यधिक चलायमान हुने गर्दछ । दसैंले देशको अर्थव्यवस्थालाई नै हल्लाउँछ । अर्थशास्त्रीहरूका अनुसार देशको कुल वार्षिक खपतको २० प्रतिशत दसैं र तिहारमा मात्रै हुने गर्दछ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् डा. जगदीशचन्द्र पोखरेल दसैंलाई ‘उपभोगको पर्व’को संज्ञा दिन्छन् । तर, यसबाट देशको अर्थतन्त्रलाई लाभ हुनेमा चाहिँ उनको संशय छ । ‘यदि देशभित्र आन्तरिक उत्पादन पर्याप्त हुन्थ्यो भने दसैंका कारण नै नेपालले ठूलो लाभ लिन सक्थ्यो,’ उनी भन्छन्, ‘तर अहिले नेपालमा आवश्यक उपभोग्य सामान प्रायः विदेशबाट आयात हुने भएकाले ठूलो स्वदेशी पुँजी बाहिर जान्छ, हामी चाड मनाउँछौं, विदेशीले पैसा कमाउँछन् ।’

अर्थविद् डा. पिताम्बर शर्माको विचारमा दसैंले सहरको अर्थतन्त्रलाई गाउँतिर लैजान्छ । यस अवसरमा गाउँ निकै चलायमान बन्छ । दसैं बालबच्चाका लागि अझ विशेष हुन्छ । आफू जे–जस्तो लगाएर भए पनि बालबच्चाका रोजाइका लुगा किनिदिन चाहन्छन्, बाबुआमा । लुगा मात्र नभएर बच्चाका खेलौना पनि अधिक बिक्री हुन्छन् ।
कपडा, खाद्यवस्तु, मासु, घरायसी सामान बिक्ने मुख्य सिजन हो यो । आर्थिक अवस्था जेजस्तो भए पनि दसैंमा मीठो÷मसिनो खानैपर्ने मान्यता छ । यसका कारण दैनिक उपभोग्य खाद्यवस्तुको बढी माग हुन्छ । यसैगरी, दसैंमा नयाँ कपडा लगाउनुपर्ने परम्परागत मान्यता छ । गरिब परिवारमा त नयाँ लुगा किन्ने भनेकै दसैंमा हो । त्यसैले, लुगा र जुत्ताको अत्यधिक व्यापार हुने नै भयो ।
योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ भने नेपालको आन्तरिक उत्पादन कमजोर हुँदा अधिकांश दसैंमा ठूलो रकमको उपभोग्य समानसँगै आयातमा विशाल खर्च भइरहेको बताउँछन् । अधिकांश वस्तुका लागि अत्यधिक व्यापार हुने सिजन दसैं नै हो । त्यसैले व्यापारीहरूका लागि दसैंले दोब्बर खुसी लिएर आउँछ । साडीदेखि गाडीसम्मको व्यापार गर्नेहरू यस चाडको प्रतीक्षामा हुन्छन् ।

पूर्वअर्थसचिव रामेश्वर खनाल दसैं र तिहारजस्ता चाडपर्वमा कुल राष्ट्रिय उपभोगको २० प्रतिशतबराबर उपभोग यसैमा हुने गरेको बताउँछन् । यसलाई आधार मान्दा यी दुई चाडमा मात्रै करिब साढे ४ खर्ब रुपैयाँबराबर उपभोग्य सामग्रीमा खर्च हुने देखिन्छ ।
दसैंमा टीका लगाएपछि दक्षिणास्वरूप नयाँ नोट दिने चलन हुनाले नयाँ नोटको माग अधिक हुन्छ । राष्ट्र बैंकले दसैंका लागि भनेर यस वर्ष मात्रै ४० अर्बको नयाँ नोट बजारमा ल्याउँदै छ । खुद्रा नोटको संकट पर्छ । दसैं सकिनासाथ फेरि बजारमा खुद्रा नोटको ओइरो लाग्छ । अर्थात्, बैंकिङ कारोबारहरूमा पनि खुद्रा नोटले
व्यापकता पाउँछ ।
दसैंमा पशुवध गर्ने र मासु खाने चलनले पनि संस्कृतिकै रूप लिएको छ । सन्पन्न परिवारमा मासु खान दसैं कुर्नुपर्दैन तर विपन्न परिवारको भान्सामा दसैंमा मात्र मासु भित्रिन्छ । यतिबेला जिउँदा खसीबोका, च्यांग्रा, कुखुरा, राँगा, बुंगुर र यिनीहरूको मासुको व्यापार ठूलो परिमाणमा हुन्छ । मासु व्यवसायी अत्यधिक चटारोमा
हुनेबेला हो यो ।
दसैंमा उच्च खपत हुने अर्को वस्तु हो मदिरा । जमघटलाई विशेष बनाउन मदिराको प्रयोग बढी हुन्छ । सहरमा आफ्नै परिवारभित्र मदिराको चुस्की लाउने चलन व्यापक बनिरहेको छ । मदिरा नपिउनेहरूले कोक, पेप्सी, इनर्जी ड्रिंक्स, तयारी जुसलगायतका बेभरेज रोज्छन् । घरहरू सजाउन आन्तरिक सजावटका सामानहरूको पनि धेरै कारोबार हुन्छ । घर रङ्याउने काम पनि यही समय बढी हुने भएकाले रङको बिक्री बढ्छ ।
दसैंका बेलामा नयाँ सामान जोड्न चाहनेहरू पनि उत्तिकै हुन्छन् । जागिरेहरूको दसैं पेस्की आउने भएकाले उनीहरूलाई यतिबेला महँगा सामान जोड्न सहज हुन्छ । त्यसैले मोबाइल, टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिनलगायत इलेक्ट्रिक तथा होम अप्लाइन्सेस यतिबेला खुब बिक्छन् ।

 

दसैंका बेलामा नया“ सामान जोड्न चाहने पनि उत्तिकै हुन्छन् । जागिरेहरूको दसैं पेस्की आउने भएकाले उनीहरूलाई यतिबेला मह“गा सामान जोड्न सहज हुन्छ

 

दसैंमा धेरै बिक्ने अर्को महँगो वस्तु हो, सवारीसाधन । मोटरसाइकल र कार यतिबेला अत्यधिक बिक्री हुन्छन् । अब त मध्यम वर्गले समेत कारमा आँखा लगाउन थालेका छन् । सवारी बिक्रेताहरूको वर्ष दिनको ४० प्रतिशत व्यापार दसैंको सेरोफेरोमै हुन्छ ।
पछिल्लो समय नेपालमा पठन संस्कृति विकास भइरहेको छ । बजारमा आएका नयाँ किताब पढ्न फुर्सद निकाल्न नसकेकाहरूले दसैंको छुट्टीमा यो अवसर जुराउँछन् । दसैंको फुर्सदमा चलचित्र हेर्नेको संख्या पनि बढी हुने गरेकाले चलचित्र निर्माताहरू यही मौसमलाई हलमा नयाँ चलचित्र लगाउने अवसरको रूपमा प्रयोग गर्छन् ।

यातायात व्यवसायीको मुख्य कमाउने सिजन यही हो । दसैंको समयमा घर फर्किनेहरूको चाप सवारीसाधनमा उच्च हुन्छ । बसभित्र मुडामा बस्न पाउनेहरूले पनि आफूलाई भाग्यमानी ठान्नुपर्छ । अरुबेला यात्रुको पाखुरा तान्दै गाडी चढ्न आग्रह गर्ने व्यवसायीहरूको यतिबेला यात्रुसँग बोल्ने फुर्सद पनि हुन्न । उपत्यकाबाहिर जाने गाडीले दुई सिफ्टमा यात्रु बोक्छन् ।
गाडीको झन्झटिलो यात्रा गर्न नचाहने र आयस्तर उच्च भएकाहरूले यात्राका लागि हवाई यातायात रोज्छन् । त्यसैले एयरलाइन्स कम्पनीहरूको पनि कमाइको मुख्य सिजन हो यो । पछिल्ला वर्षहरूमा दसैंमा घुमफिरको संस्कृति निकै मौलाएको छ । लामो छुट्टी हुने भएकाले अहिले दसैंमा साथीभाइ वा परिवार नै मिलेर विभिन्न पर्यटकीय स्थानमा घुम्न जाने क्रम बढेको छ । त्यसले पनि गाडी र जहाजमा यात्रुहरू बढ्ने गर्छन् । देशभित्र मात्र नभएर दसैंमा देशबाहिर घुम्न जानेक्रम पनि बढिरहेको छ । बाहिर जान चाहनेहरूले खासगरी सिंगापुर, मलेसिया, बैंकक, थाइल्यान्ड, इन्डोनेसिया, दुबईलगायत गन्तव्य रोजिरहेका छन् । यो समयमा ट्राभल एजेन्सीका टुरका प्याकेजहरू निकै बिक्री हुन्छन्


दसैंले अर्थतन्त्रलाई चलायमान त बनाइदिन्छ तर उत्पादन भने न्यून हुन्छ । कामदारलाई छुट्टी दिनुपर्ने भएकाले धेरैजसो कलकारखाना र सेवा उद्योग बन्द हुन्छन् । विकासका काम पनि रोकिन्छन् । यतिबेला वस्तु आयात भने अत्यधिक हुन्छ । रेमिट्यान्स अत्यधिक बर्सिने समय पनि यही हो । विदेशमा रहेका प्रायः व्यक्तिले घरमा दसैं खर्च पठाउँछन् । रेमिट्यान्स कम्पनीहरूले धेरै कमाउने अवसर बन्छ दसैं । रेमिट्यान्सबाट आएको रकमको ठूलो हिस्सा पनि उपभोगमै सकिन्छ ।
दसैंमा किनिने प्रायः धेरै मालसामान विदेशबाटै आयात हुने गर्छन् । आन्तरिक उत्पादन कमजोर हुँदा दसैंका लागि नेपालमा व्यापार फस्टाए पनि अन्ततः त्यसको ठूलो लाभ भने विदेशले नै पाउँछ ।