बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

देशबाहिर चाडपर्व

दिल तामाङ
2 weeks ago
12/10/2018

देशबाहिर चाडपर्व

दिल तामाङ

सदाझैं यस वर्ष पनि नेपालीहरूको महान पर्व विजयादशमी र दीपावली नजिकिएको छ । सरकारी कार्यालय, स्कुल, कलेज, बैंक र निजी कार्यालयले दसैंलाई लक्षित गरेर बिदा दिने प्रचलन पनि रहेको छ । सामान्यता घटस्थापनादेखि तिहारसम्म अथवा दसैं पूर्णिमासम्म सरकारी बिदा हुने प्रचलन छ । तर, पछिल्लो समय बिदाको प्रचलन केही कम भएको छ । दसैंलाई परिवार जमघट भएर मासु खाने, ठुलाबडाबाट आशीर्वाद लिने पर्वका रूपमा लिइन्छ । त्यसैले त दसैंलाई महान पर्वका रूपमा व्याख्या गरिन्छ ।

सामान्यतया दसैंमा कोही कसै पनि परिवारबाट छुटेर बस्न खोज्दैनन् । वैदेशिक रोजगारीमा गएकाहरू पनि दसैं मनाउन घर फर्किनेको ताँती नै लाग्ने गर्दछ । तर, राष्ट्रको प्रतिनिधित्व गरेर विदेश जाने खेलाडीको हकमा भने यसरी छुट पाइँदैन । चाडपर्वको बेला उनीहरूले आफ्नो ड्युटी पूरा गर्नैपर्ने हुन्छ । यस्ता केही घटना भएका छन् । चाडपर्वको मुखैमा खेलाडीहरू विदेशमा खेल्दै पर्व मनाउन बाध्य भएका छन् ।
हाल पल्सर शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिगका निर्देशक तथा फुटबल विश्लेषक सञ्जीव मिश्रले ११ वर्षअघिको अनुभव र गत वर्षको अनुभव यसरी सुनाए । हामी सन् २००७ मा एएफसी यू–१६ फुटबलका लागि दसैंमा मुस्लिम राष्ट्र इरान गएका थियौं । सायद यो नै मेरो पहिलो देशबाहिरको दसैं बनेको थियो । पहिलोपटक घरभन्दा बाहिरको दसैं फुटबल टिमसँगै मनाउने अवसर जुरेको थियो ।

 

 

‘विदेश त्यही पनि मुस्लिम देश इरानमा दसैं, नेपालीहरू पनि कम, साह्रै नरमाइलो अनुभव भएको थियो तर हामीलाई त्यहाँका एक नेपालीले टीका र जमरा होटलमा ल्याएर लगाइदिएका थिए । म टिमको म्यानजेर र हेड अफ डेलिगेसन भएको नाताले मैले टिम प्रशिक्षक र सबै खेलाडीलाई टीका लगाएर दसैंलाई रमाइलो गरी मनाउने प्रयास गरेका थियौं । विदेशको दसैं खल्लो भए पनि हामीले आफ्नो हिसाबले दसैं मनाएका थियौं ।’
मिश्रले भने, ‘फुटबल टिमलाई नै घरपरिवार सम्झिएर दसैं मनाउने प्रयास ग¥यौं । होटलमा उपलब्ध खानेकुराहरू खायौं, एउटा माहोल बनायौं तर विदेशको दसैं चाहेर पनि घर परिवारसँग बसेर मनाएको जस्तो नहुने रहेछ ।’ उनले गत वर्ष भुटानबाट यू–१८ च्याम्पियन बनेर सारा नेपालीलाई चाडपर्वसँगै साफ च्याम्पियनसिपको उपाधि उपहार दिन सकेको स्मरण गरे । ‘अघिल्लो वर्ष हामी दसैंकै बेलामा यू–१८ च्याम्पियनसिपका लागि भुटान पुगेका थियौं, भुटानबाट हामी च्याम्पियन बनेर दसैंमा सबैलाई खुसी दिन सफल भयौं,’ मिश्रले भने । उनले त्यतिबेला र अहिलेमा धेरै फरक रहेको बताए ।

त्यतिबेला सामाजिक सञ्जालहरू सबैको पहँुचमा थिएनन् । फोन गर्न सम्भव पनि थिएन । तर, अहिले व्यापक परिवर्तन भएको छ । सामाजिक सञ्जालले विश्व नै साँघुरो बनाइदिएको छ । यसबाट खेलाडीहरू पनि अछुतो रहेका छैनन् । उनीहरू विदेशमा रहे पनि भिडियो च्याट, म्यासेन्जरबाट परिवारसँग निरन्तर सम्पर्कमा रहेका छन् । बाहिरै रहे पनि घरेलु वातावरणमा बसेको अनुभव पाएको छु । राष्ट्रका लागि खेल्न गएका खेलाडीहरू चाडपर्वकै नाममा होमसिक भएका मैले पाएको छैन ।
खेलाडीले पर्वका बेलामा घर परिवारबाट छुट्टिएर बस्नु परे पनि हाम्रो काम खेल्ने हो, अहिले राष्ट्रका लागि खेल्न आएको हो । खेल्नुपर्छ भन्ने अनुभव पाएको छु । चाडपर्व भएर होमसिक हुने, परिवारलाई मिस गर्ने कमै पाएको छु । राष्ट्रका लागि खेल्न गइसकेपछि राष्ट्रको टिम नै परिवार हुने भएकाले त्यस्तो फिलिङ मैले पाएको छैन ।

 

सोलिडारिटी कपका लागि मलेसिया जानै लाग्दा गोलरक्षक विशाल श्रेष्ठकी दिदीले भाइलाई सरप्राइज गिफ्ट दीपावलीको दिनमा दिनु भन्दै एउटा ब्याग थमाएकी थिइन् । दीपावलीको दिन ब्याग खोलेर हेर्दा भाइ विशाल मात्र होइन, टिमकै लागि सरप्राइज बनेको थियो । त्यहा“ दीपावलीका लागि सबै सामग्री रहेछ

 

 

यता, नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान विराज महर्जनले चाडपर्वमा खेल परेका कारण परिवारसँग बसेर धेरैपटक चाडपर्व मनाउन नपाएको बताएका छन् । ‘चाडपर्वकै बेला खेल पर्ने भएका कारण मैले उमेर समूहदेखि सिनियर राष्ट्रिय टिमसम्म धेरैपटक परिवारसँग दसैं मनाउन पाएको छैन, सम्झँदा दुःख लाग्छ तर एक खेलाडी भएको नाताले आफ्नो ड्युटी पूरा गर्नैपर्ने हुन्छ, धेरैपटक परिवासँग बसेर पर्व मनाउने मौका गुमाएको छु,’ कप्तान विराजले भने, ‘एक हिसावले परिवारसँग बसेर पर्व मनाउने बेलामा छुट्टिनु पर्दा खल्लो र नरमाइलो महसुस हुन्छ नै तर साथीभाइसँगै रमाइलो गर्ने मनसायले मनलाई सम्हालेर जानुपर्ने हुन्छ ।’ उनले ला मैले त मिस गरे नि भन्ने पनि हुन्छ । तर, यसलाई सम्हाल्नुपर्दछ । खेल्न जाने बेलामा पर्वभन्दा पनि खेलमै फोकस हुनुपर्ने बताए ।

विराजले सन् २०१६ मा मलेसियामा भएको एएफसी सोलिडारिटी कप बिर्सनै नसकिने बताए । हामी एसियन कपको छनोटबाटै बाहिरिए पनि एएफसीले एएफसी सोलिडारिटी कपको आयोजना गरेको थियो । त्यतिबेला हामी दीपावली मनाउन पाएका थिएनांै । हामी सोलिडारिटी कपका लागि मलेसिया जानै लाग्दा हाम्रा गोलरक्षक विशाल श्रेष्ठकी दिदीले भाइलाई सरप्राइज गिफ्ट दीपावलीको दिनमा दिनु भन्दै मलाई एउटा ब्याग थमाएकी थिइन् । दीपावलीको दिन ब्याग खोलेर हेर्दा भाइ विशाल मात्र होइन, हामी टिमकै लागि सरप्राइज बनेको थियो । त्यहाँ दीपावलीका लागि सबै सामग्री रहेछ । हामी सबैले टीकामाला लगाएर विदेशमा रमाइलोका साथ दीपावली मनायौं । पछि हामी च्याम्पियन पनि बन्न सफल भयौं ।
उनले विदेशमा र परिवारमा बसेर पर्व मनाउनुमा धेरै भिन्नता रहेको समेत बताए । ‘साथीभाइसँग रमाइलो त हुन्छ, तर, परिवारमा बसेर मनाएको जस्तो रमाइलो हुँदैन, चाडपर्व भनेको घर परिवारमा बसेर मनाउने हो, त्यसपछि साथीभाइलाई भेटेर मनाउने हो,’ उनले भने ।
नेपाल पुरुष भलिबल टिमका कप्तान इमबहादुर रानाले १० वर्षअघि टीकाकै दिन बिदेसिनु पर्दाको क्षणलाई सम्झिए । हामी एसियन विच भलिबलका लागि इन्डोनेसिया जाने तालिका थियो । टीकाकै दिन घरपरिवार छाड्नु पर्दा अलिक नरमाइलो महसुस भएको थियो । बुबाको हातबाट टीकासहित आशीर्वाद थापे पनि गाउँबाट ठूलोबुबा, ठूलीआमालगायत गाउँका अन्यबाट टीका लगाउन नपाउँदा र परिवारसँग बस्न नपाउँदा दुःखी थिएँ । खेलाडी भएको नाताले टीकाभन्दा पनि बढी ध्यान खेलमै गएको थियो । खेलाडीको जीवन यस्तै रहेछ भन्ने लाग्यो । बुबाको आशीर्वाद लिइसकेकाले पनि अन्तर्राष्ट्रिय सहभागितामा जान पाउने भएकाले एक हिसाबले खुसी थिएँ । त्यसपछि भने भलिबलका खेलहरू दसैंका बेलामा परेको छैन । कतै जानुपरेको छैन । परिवारसँगै रमाइलो गर्दै दसैं मनाउन मौका पाएको छु । यसपटक टीका छैन । काठमाडौंमा साथीभाइसँग बसेर दसैं मनाउने योजना रहेको उनले सुनाए ।

महिला भारोत्तोलनकी कीर्तिमानधारी तारादेवी पुनले भने चाडपर्वका बेलामा अहिलेसम्म बाहिर जानु नपरेको सुनाइन् । भारोत्तोलनका खेलहरू चाडपर्वका बेलामा पर्दैन । अन्य खेलहरू पर्वका बेलामा परेको सुनेकी छु । अहिलेसम्म परिवारबाट टाढा बसेर पर्व मनाउनुपरेको छैन । यसमै खुसी रहेकी उनले सुनाइन् । उनले परिवारबाट टाढा रहेर पर्व मनाउन खल्लो र नरमाइलो हुने कल्पना गरिन् । यति मात्र होइन क्रिकेट, तेक्वान्दो, कराते, बास्केटबललगायतका खेलका खेलाडीले पनि खेलकै कारण परिवारसँग चाडपर्व मनाउन नपाउँदा केही खल्लो हुने
अनुभव सुनाए ।