आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

वामदेव फेरि ‘ब्याक’

टेनिस रोका
2 months ago
12/10/2018

टेनिस रोका/काठमाडौं।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमलाई काठमाडौं निर्वाचन क्षेत्र–७ बाट उपनिर्वाचन लड्न ब्रेक लागेको छ ।
काठमाडौं–७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर गौतमलाई सांसद बनाउने तयारीबाट नेकपा शीर्ष नेतृत्व पछि हटेको हो । गौतमलाई सांसद बनाउनकै लागि मानन्धरले सचिवालयमा राजीनामा स्वीकृतिका लागि पत्र बुझाइसकेका थिए । मानन्धरले मंगलबार पत्रकार सम्मेलन गरेर गौतमका लागि भन्दै सांसद पदबाट राजीनामाको घोषणासमेत गरेका थिए । उनले पार्टी सचिवालयमा राजीनामाको स्वीकृतिका लागि पत्र बुझाएको र निर्णय भएलगत्तै सभामुखसमक्ष राजीनामा दिने बताएका थिए ।

मानन्धरको राजीनामाको विषयसँगै पार्टी सचिवालय भने अनिर्णित बनेको छ । बुधबारका लागि बोलाइएको पार्टी सचिवालय बैठक शनिबारसम्मका लागि सारिएको छ ।
मानन्धरको ठाउँमा गौतमलाई सांसद बनाउने विषय उठेसँगै नेकपाभित्रै विवाद छ । कार्यकर्ता पंक्तिले समेत विरोध जनाएपछि शीर्ष नेतृत्व पछि हटेको हो ।
नेकपाका महासचिव विष्णु पौडेलले सार्वजनिक रूपमा नै गौतमका लागि काठमाडौं–७ ठीक नभएको बताएका छन् । उनले पछिल्लो समय आएका प्रतिक्रियाहरूले परिस्थिति अनुकूल नभएको र वामदेवलाई भेटेर पनि चुनावमा नजान सल्लाह दिएको समेत बताएका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बुधबार मात्र एक सार्वजनिक कार्यक्रममा पार्टीको सिट घट्ने गरी उपनिर्वाचन नहुने बताएका थिए । त्यसको एक दिनपछि नेकपा शीर्ष नेतृत्व गौतमका लागि काठमाडौं–७ मा उपनिर्वाचन गराउनबाट पछि हटेको हो ।
नेकपाका नेता देवेन्द्र पौडेलले गौतमलाई उठाउने नउठाउने विषय पार्टी बैठकले निर्णय गर्ने बताए । ‘उहाँको इच्छा, अहिलेको परिस्थिति सबैको विषयमा पार्टीभित्र छलफल भएपछि निर्णय हुन्छ ।’ उनले राजधानीसँग भने ।

गौतमलाई सांसद बनाउने विषयमा नेकपाभित्रै फरक फरक मत रहेको थियो । नेकपाभित्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल खुलेरै गौतमलाई सांसद बनाउनेमा लागेका छन् । तर, अर्का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरू मौन छन् । पूर्वएमाले उपाध्यक्ष भीम रावल, महासचिव इश्वर पोखरेललगायत नेताहरूले भने मानन्धरलाई राजीनामा गराएर गौतमलाई उठाउनु ठीक नभएको भन्दै विरोध गर्दै आएका छन् ।

गौतम मंसिर २०७४ को प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए । कांग्रेस उम्मेदवार गौतमले ४४ हजार ८२९ मत लिएर विजयी बन्दा गौतमले ४४ हजार ७६ मत मात्र प्राप्त गरेका थिए । पराजयसँगै गौतमले अन्तर्घातका कारण आफूले चुनाव हारेको बताउँदै सांसद बन्ने चाहना निरन्तर पार्टीमा राख्दै आएका थिए । उनलाई सांसद बनाउने विषयमा डोल्पा, रुकुमलगायत ठाउँमा पनि प्रयास भएको थियो ।

(Visited 1 times, 1 visits today)