बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

धेरै भाडा लिने माईक्रोलाई कारवाही

राजधानी संवाददाता
2 weeks ago
12/10/2018

काभ्रेपलाञ्चोक । यात्रुसँग धेरै भाडा लिने चार माईक्रोबसलाई प्रहरीले कारवाही गरेको छ । काभ्रेको बिपी राजमार्ग हुँदै तराईसम्म पु¥याउने माईक्रोले धेरै भाडा असुलेको भन्दै प्रहरीले कारवाही सुरु गरेको हो ।

बिपी राजमार्गमा संचालन हुने माईक्रोबसहरुले तोकिएको भन्दा बढी भाडा लिने गरेको गुनासो आएसँगै जिल्ला प्रहरी कार्यालयले माईक्रोबसमा छड्के जाँच सुरु गरेको छ । दसैं तिहारमा यात्रुहरुको अत्याधिक चाप हुने भएकाले मौकाको फाईदा उठाउँदै माईक्रोमा तोकिएको दररेटभन्दा धेरै भाडा उठाउने गरेको गुनासो लगत्तै जिल्ला प्रहरी कार्यालय र ट्राफिकको संयुक्त टोलीले गरेको अनुगमनमा तोकिएको भन्दा धेरै भाडा लिएको पाइएपछि ट्राफिकले कारवाही सुुरु गरेको छ ।

शुक्रवार प्रहरीले गरेको अनुगमनमा बा ४ ख ४१८ हायस रौताहमाई यातायातले कटारीसम्मको भाडा ८ सय ४ रुपैया लिनुपर्नेमा एक हजार तीन सय लिएपछि कारवाही गरेको हो । त्यस्तै, बा ३ ख ८६२८ हायस जानकी यातायातले जनकपुरसम्मको ७ सय ३६ रुपैया लिनुपर्नेमा एक हजार लिएको भेटिएको थियो । त्यस्तै बा ४ ख ६९०९ हायस जानकी यातायातले पनि जनकपुरसम्मको एक हजार लिएको भेटिएको छ । बा ५ ख ५५५९ हायस सफल यातायातले बिराटनगरको एक हजार ४३ लिनुपर्नेमा १ हजार तीन सय लिएपछि कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

तोकिएको भन्दा धेरै रकम लिने सवारी साधनलाई एक हजारदेखि पाँच हजारसम्म जरिवाना हुने प्रावधान रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविराज खड्काले बताए । काभ्रेमा धेरै भाडा लिने सबै माईक्रोबसलाई सोही अनुसार कारवाही गरेको एसपी खड्काले बताए ।