आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

टी–२० विश्वकपको एसिया छनोट ‘बी’ को उपाधी नेपाललाई, सन्दीपको कीर्तिमान

राजधानी समाचारदाता
2 months ago
12/10/2018

राजधानी समाचारदाता/काठमाडौं– नेपाल मलेसियाको राजधानी क्वालालम्पुरमा भएको आईसीसी टी–२० विश्वकपको एसिया छनोट समूह ‘बी’ अन्तर्गत छनोट चरणको उपाधि जित्न सफल भएको छ ।

शुक्रबार सिंगापुर र नेपालबीचको खेल बर्षाका कारण प्रभावित भएपछि नेपाल उपाधी जित्न सफल भएको हो । ओभल क्रिकेट मैदानमा वर्षाले प्रभावित खेलमा नेपाल रन रेटका आधारमा विजेता घोषित भएको हो ।

पहिले ब्याटिङ गर्दै सिंगापुरले नेपाललाई ८२ रनको लक्ष्य दिएको थियो । तर, नेपाल ब्याटिङमा उत्रिएको केही बेरमै भारी वर्षा भएपछि खेल प्रभावित भएको थियो ।

३ बलमा १ रन जोडेर १ विकेट गुमाएको अवस्थामा वर्षाले खेल हुन नसक्ने अवस्था भएपछि रन रेटका आधारमा नेपाललाई विजेता घोषित गरिएको हो । दुवै टिमको ६ खेलबाट समान ११ अंक रहेको छ ।

यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुरले १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ८१ रन जोडेको थियो ।

सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ रनको योगदान दिए । उनले ३२ बल खेल्दै ३ चौका प्रहार गरे । त्यसैगरी, मनप्रित सिंह र सिद्धान्तले समान १०÷१० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिए । त्यस्तै, सोमपाल कामी र करण केसीले २÷२ विकेट लिए भने ललित राजवंशी र वसन्त रेग्मीले १÷१ विकेट लिए ।

यसअघिका पाँच खेलमा पनि नेपाल अपराजित बनेको थियो । प्रतियोगिताको पहिलो खेलमा नेपालले १७ असोजमा म्यानमारलाई ८ विकेटले पराजित गरेको थियो ।

त्यस्तै, नेपालले दोस्रो खेल २० असोजमा मलेसिया, २१ असोजमा थाइल्यान्ड, २३ असोजमा भुटान र २४ असोजमा चीनलाई पराजित गरेको थियो ।

सन्दीपको कीर्तिमान
नेपाली क्रिकेट टिमका चर्चित लेग स्पिनर सन्दीप लामिछानेले एकै प्रतियोगितामा नेपालका लागि सर्वाधिक विकेट लिएर नयाँ कीर्तिमान बनाएका छन् । उनले मलेसियामा भएको आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोटको खेलमा ६ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।

उनले जारी प्रतियोगितामा जम्मा २४ विकेट लिए । शुक्रबार सिंगापुरविरुद्धको खेलमा मात्र उनले ४ विकेट लिए । त्यसअघि उनले ५ खेलबाट २० विकेट लिइसकेका थिए । यसअघि वसन्त रेग्मीको नाममा सो रेकर्ड रहेको थियो ।

रेग्मीले सन् २०१२ मा विश्व क्रिकेट लिग डिभिजन ४ मा २१ विकेट लिएर रेकर्ड बनाएका थिए । यी दुवै रेकर्ड मलेसियामा बनेका हुन् । रेग्मीले पनि मलेसियामै रेकर्ड बनाएका थिए ।

यसैगरी, विनोद दासले पनि सन् २००५ को एसीसी फास्ट ट्र्याक कन्ट्रिज तीन दिवसीय प्रतियोगितामा २१ विकेट लिएका थिए ।

(Visited 2 times, 1 visits today)