आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

क्रमवेलको अनौठो बेलायती गणतन्त्र

2 months ago
12/10/2018

ओलिभर क्रमवेल बेलायतका निकै चर्चित राजनीतिक नेता हुन् । उनको नेतृत्वमा गणतन्त्र बेलायत स्थापना भएको थियो । बेलायतमा राजतन्त्र, त्यो पनि निकै गएगुज्रेको अवस्थामा चलिरहेको थियो ।

जनता निकै आजित थिए भने सेनाहरू पनि राजाको विपक्षमा थिए । यस्तो मौकाको फाइदा उठाउँदै क्रमवेल अगाडि बढे । उनलाई क्रमशः सेनाले साथ दिन थाल्यो । सेनाको सहयोगमा उनी बेलाती संसद्मा सांसद बन्न सफल भए ।

त्यसपछि सन् १६४९ देखि १६५३ सम्म बेलायतका हर्ताकर्ता अभिभावकै बनेर रहे ।
ओलिभर क्रमवेलले गणतन्त्रको स्थापनासँगै राजा चाल्र्सको टाउको काटेका थिए । भनिन्छ, चाल्र्स निकै निरंकुश थिए । जनताबाट बहिष्कृत भएका थिए ।

चाल्र्सले बेलायती समाजलाई कहिल्यै पनि परिवर्तन गर्ने र परिवर्तन हुन दिने छैनन् भनेर सबैलाई लागेको थियो । चाल्र्सको टाउको गिँड्नका लागि क्रमवेलको हस्ताक्षर जरुरी थियो । तर धेरैलाई के आशंका थियो भने क्रमवेल आफैंमा प्युरिटन धर्मावलम्बी भएकाले उनले राजाको टाउको गिँड्ने कुरामा हस्ताक्षर गर्नेछैनन् । किनकि प्युरिटनहरु ईश्वरले दिएको भाग्य र भविष्यमा निकै विश्वास गर्छन् । तर क्रमवेलले राजा चाल्र्समाथि एक्सन लिनका लागि हस्ताक्षर गरे । राजा काटिए ।

क्रमवेलका पालामा होटेल, डान्सबार, रक्सी पसल र नाटकघरहरू पनि बन्द गरिए । धेरै खेलहरूमाथि प्रतिबन्ध लगाइए । आइतबार बिदाका दिन फुटबल खेल्ने केटाहरूलाई कडा सजाय दिन थालियो । महिलामाथि कडा निगरानी सुरु भयो । महिलाका लागि चर्चबाहेक मर्निङवाक बन्द गरियो ।

महिलाका लागि कपडा सिफारिस गरिएअनुसार लगाउनुपर्ने नियमहरु बनाइए । मेकअपका सामानहरूमाथि प्रतिबन्ध लगाइएको थियो । चहकिला कपडामाथि प्रतिबन्ध लगाइएको थियो ।

कुर्कुच्चासम्म ढाक्ने काला कपडा महिलाका लागि सिफरिस गरिएका थिए । त्यसमाथि सेतो एप्रोन र कपाल चुल्टो पारेर बाँध्ने नियम बनाइएको थियो । पुरुषहरु छोटो कपाल पाल्ने र कपडा प्रायः कालो नै लगाउने गर्थे । क्रमवेलले त क्रिसमस मनाउन पनि प्रतिबन्ध लगाएका थिए ।

किनकि त्यसबेला क्रिसमस मनाउने भनेको रक्सीखाने, रमाइलो मनाउने र समय खर्च गर्ने मात्र बन्न पुगेको थियो । यी सबै कुरा एउटा प्युरिटन धर्मावलम्बीका लागि पाप हुन जान्थ्यो ।

मानिसले पछि मात्र थाहा पाए कि क्रिसमस पर्वमाथि लगाइएको प्रतिबन्ध रक्सी, जुवा, भट्टी, समय खर्च आदि नगरून् भनेर गरिएको थियो । तर आश्चर्यको कुरा त के थियो भने क्रमवेलले जे कुरा जनताका लागि नगर्न कानुन बनाएका थिए, ती कुरामा उनको लत नै थियो । अर्थात् उनलाई यी कुराहरु छुट थिए । उनी खेल खेल्थे, संगीत सुन्थे र छोरीहरूको बिहेमा निकै फजुल खर्च गर्ने गर्थे ।

बेलायतलाई राजनीतिक रूपमा ११ वटा प्रशासनिक इलाकामा विभाजन गरिएको थियो । हरेक प्र्रशासनिक इलाका आर्मी जनरलरूबाट शासित थिए । यी जनरलहरु क्रमवेलका विश्वास पात्र हुन्थे ।

यस्ता धार्मिक मानिसमा भने आइरिस क्याथोलिक धर्मप्रति निकै घृणा थियो । उनले यी सबैलाई राष्ट्रघाती देख्ने गर्दथे । यीमाथि बेलायतले आफ्नो दबदबा बढाउनै पर्दछ भन्ने सोच्थे ।

यसै कारणले गर्दा उनले आइरिस दमनका लागि पठाएका सेनाहरुका अगाडि आत्मसमर्पण गर्न आएका आइरिस मानिस तथा सेनाको कत्लेआम गराएका थिए । आइरिसमाथि उनी र उनका सेनाले आतंक नै खडा गरेका थिए ।

गणतन्त्रका नेता तथा अभिभावक क्रमवेलले आइरिस इतिहासमा कालो छवि बनाएका छन् । बेलायती जनता क्रमवेलको शासनबाट छोटो अवधिमा नै वाक्कदिक्क भएका थिए । जब क्रमवेलको १६५८ मा मृत्यु भयो, उनको शव ३० हजार सेनाहरुको लावालस्कर लगाएर वेस्टमिनिस्टरमा लगेर दफनाइयो ।

जनता भने त्यो लास खोसेर त्यहाँ दफनाउन नदिने तयारीमा थिए । किनकि यहाँ केवल राजारानीको लास मात्र दफनाउने गरिएको थियो ।

त्यसपछि क्रमवेलका छोरा रिचर्ड सत्तामा बसालिए । तर उनले सत्ताको चाहना गरेनन् र चाल्र्स द्वितीयलाई राजा हुन आग्रह गरियो । तर उनले क्रमवेलको लास वेस्टमिनिस्टरबाट झिकेर मिल्काएपछि मात्र राजा हुने वचन दिए ।

त्यसपछि उनलाई राजारानी काटेको अभियोग लगाइयो । उनको हड्डी तथा अस्थिपञ्जर जमिनबाट झिकियो र हाइड पार्कमा ल्याएर फाँसी दिइयो । उनको खप्पर बेलायतमा लामो समयसम्म जनताका माझमा देखाउनका लागि लट्ठीमा घोपेर राखियो ।

(Visited 2 times, 1 visits today)