आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

ललितपुरमा अष्टमातृका नाच सुरु

नवीन लुइँटेल
2 months ago
13/10/2018

 

ललितपुर। कला–संस्कृति झल्किने अष्टमातृका नाच ललितपुरमा सुरु भएको छ । ललितपुरलाई संरक्षण गर्ने देवतालाई खुसी पार्न यो नाच मल्लकालीन राजा श्रीनिवास मल्लको पालादेखि सुरु भएको हो । घटस्थापनाबाट सुरु भएको नाच बेलुका ८ बजेदेखि पौने १० बजेसम्म एकादशीका दिनसम्म देखाइने अष्टमातृका नाच प्रबन्ध समितिले जनाएको छ ।

 

अष्टमातृकाका देवीहरू महेश्वरी, ब्रह्मायणी, कुमारी, बैणवी, बराही, इन्द्रायणी, चामुण्डा र महालक्ष्मीको नाच गराउने परम्परा छ । योसँगै सिंहिनी, ब्याङ्गिनी, भैरव, गणेश र कुमारका थप नाच पनि देखाइने प्रबन्ध समितिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए ।

अष्टमातृकाको नाच नकबहिलबाट सुरु गरेर पाटन दरबार स्क्वायरको मूलचोकसम्म देखाइने समितिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए । अष्टमातृका नाच सुरुको पाँच दिन मूलचोकमा र त्यसपछि २८ गतेदेखि चार दिन कात्तिक डबलीमा देखाइने समितिका अध्यक्ष शाक्यले जानकारी दिए । उनका अनुसार फूलपाती र विजयादशमीका दिन दिउँसो साढे २ बजे मूलचोकमा नाच देखाइनेछ ।

अष्टमातृका नाचका बेलामा सानेपा, तिखेदेवल, बाग्मती नदी वरपरका शक्तिपीठ र मन्दिरमा पूजाआजा गरिन्छ । ‘पौराणिक कथनअनुसार ललितपुरलाई संरक्षण दिने देवतालाई खुसी पार्न र आफ्नो रक्षा गर्नका लागि यो अष्टमातृकाको पूजा गर्दै नाच निकाल्ने गरिएको हो,’ उनले भने,

‘नाच देखाउने समय अवधिमा बिहान ललितपुरका विभिन्न मन्दिर र पीठमा देवताको पूजा गरी परिक्रमा गर्ने चलन छ । कतिपय स्थानमा बाजा बजाउँदै पीठको परिक्रमा गर्ने गरिन्छ । ललितपुर नकवहालबाट निस्किएकाहरूले चामुण्डाको पूजा गर्छन् भने ललितपुरको अकुवहाल तथा वडा नम्बर ७, ८, ९ बडाका बासिन्दा बालकुमारी पुग्छन् ।

यसैगरी, वडा नम्बर १८, २०, २१ लगायतका स्थानका बासिन्दा नखु बैष्णवी पुग्छन् । महेश्वरी र ब्रह्मायणी देवीलाई सुन्दरीघाट, वडा नम्बर ३ बाट ल्याइन्छ । विजयादशमीका दिन दिउँसो ३ बजे मुलचोकभित्र नाच देखाइनेछ ।’

पहिलेपहिले तीनवटा स्थानबाट नाच सुरु गर्ने परम्परा भए पनि पछिल्लो समयमा नकबहिलबाट मात्र नाच देखाउने गरेको समिति अध्यक्ष शाक्यले बताए । ‘पहिलेपहिले गावहाल र ओकुवहालबाट पनि नाच देखाइन्थ्यो,’ उनले भने, ‘२०१७ सालपछि नकवहिलबाट मात्र नाच देखाउन थालियो । नाच केही समय बन्द भएपछि तत्कालीन मन्त्री गहेन्द्र राजभण्डारीको पहलमा फेरि नाचको सुरुवात भयो ।’

२०४६ सालसम्म निरन्तरता पाएको नाच कहिले आर्थिक संकट त कहिले अरू कारणले गर्दा बन्द हुदै फेरि चल्दै गरेको अनुभव अध्यक्ष शाक्यको छ । उनले २०५४ सालदेखि २०६५ सालसम्म आफ्नै अग्रसरतामा यो नाच देखाएका थिए । चार वर्ष रोकिएपछि गएको वर्षदेखि फेरि अष्टमातृका नाच सुरु भएको छ ।

(Visited 4 times, 1 visits today)