सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

दसैं मनाउन साढे २१ लाख यात्रु बाहिरिए

कमला अर्याल
1 month ago
16/10/2018

काठमाडौं।

दसैं मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म २१ लाख ५४ हजार २६ जना यात्रु दसैं मनाउन बाहिरिएका हुन् । महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार २ लाख ४५ हजार ४६ वटा सवारीमार्फत ती यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । यो तथ्यांक ५ असोजदेखि आइतबार (हिजो) सम्मको हो । सोही दिन सरकारले दसैंका लागि टिकटको अग्रिम बुकिङ खोलेको थियो ।

पन्तले नेपालका विभिन्न क्षेत्रमा दसैं, तिहार र छठ मनाउन ठूलो संख्यामा मानिस बाहिरिने गरेको बताए । महाशाखाका अनुसार हालसम्म १ लाख ६२ हजार ९८ वटा टिकटको अग्रिम बुकिङ भएको छ ।
यातायात व्यवस्था विभागका अनुसार गत वर्ष २४ लाख बढी यात्रु दसैंका लागि बाहिरिएका थिए । यस वर्ष पनि २० लाख बढी यात्रुहरू बाहिरिने अनुमान छ । विभागले गत बुधबारदेखि मुलुककै भरी रुट परमिट खुला गरेको छ । विभागका अनुसार टिकटमा कालोबजारी रोक्न तथा सर्वसाधारणको यात्रा सफल पार्न मुलुकभर रुट परमिट खुला गरिएको हो । मुलकभरि रुट परमिट खुला भएपछि उपत्यकाभित्र चल्ने साना तथा ठूला सवारी पनि उपत्यका बाहिर जान पाउने विभागले जनाएको छ ।
विभागले सर्वसाधारणको सहज यात्राका लागि नारायणघाट तथा काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी निषेध गरेको छ । सो सडकखण्डमा १६ र १८ चक्के मालवाहक गाडीलाई निषेध गरिएको हो । त्यस्ता मालवाहक गाडीहरू २४ देखि ३१ असोजसम्मका लागि चितवनको नारायणघाटमै रोकिने विभागले जनाएको छ ।

सर्वसाधारणलाई यात्रा गर्न सहज बनाउन ट्राफिक प्रहरीले उचित व्यवस्था मिलाएको छ । ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त पन्त भने, ‘हामीले सर्वसाधारणलाई आवतजावतमा समस्या नहोस्, सहायता कक्षको व्यवस्था गरेका छौं ।’ सर्वसाधारणको सहायताका लागि जाम हुने ठाउँमा विशेष ध्यान पु¥याएको प्रमुख पन्तले बताए ।
सर्वसाधारणलाई यात्राका क्रममा अलपत्र हुन नदिन ट्राफिक महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजले काठमाडौं उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेका छन् ।

उनका अनुसार उपत्यकाको नयाँ बसपार्क, कलंकी, नागढुंगा, पुरानो बसपार्क, सुन्धारा, चावहिल, तिलगंगा, कोटेश्वर, जगाती, लगनखेल, सातदोबाटो र बल्खुलगायतका स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएका छन् । ती सहायता कक्षले दसैंका लागि उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई यातायातबाट ठगिएमा, बीच बाटोमा अलपत्र परेमा वा अन्य कुनै समस्या परेमा सहयोग गर्ने प्रमुख पन्तले बताए ।