सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

सरकार सफलताको दिशामा जग हाल्दै अघि बढिरहेको छ : पण्डित

राजधानी समाचारदाता
1 month ago
16/10/2018

 

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश २ को प्रदेशसभाले प्रदेश प्रहरीसम्बन्धी विधेयक पारित गरेर प्रदेश प्रहरी भर्ना गर्र्न लागेको बारे आफूलाई पूर्णरूपमा जानकारी नभएको स्पष्ट पारेका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् । उनले भने, ‘यदि निर्णय भएको छ भने त्यो कार्यान्वयन हुँदैन, खारेज हुन्छ ।’कार्यक्रममा उनले उनले भने, ‘२ नम्बर प्रदेश सरकारले छिट्टै प्रहरी भर्ना गर्ने तयारी गरेको भन्ने कुरा मलाई थाहा छैन । तर, अधिकार नभएको विषयमा आफ्नो कुनै निर्णय यदि हुन्छ भने त्यो निर्णय कार्यान्वयन  हुन सक्दैन ।’मन्त्री पण्डितले मुलुक संघीय प्रणालीमा अघि बढिसकेको बताउँदै अब राजनीतिक व्यवस्थापनको कामसमेत सकिएको जिकिर गरे । उनले भने, ‘राजनीतिक व्यवस्थाको काम मात्रै होइन, अहिले प्रशासनिक व्यवस्थापनको काम पनि धेरै हदसम्म अगाडि बढेको छ ।’

अब मुलुकले गति लिएको पण्डितको दाबी छ । उनले भने, ‘अहिले स्थानीय तह, प्रदेश र केन्द्रीय तहको संगठन तथा संरचनाहरू तयार गरीकन त्यसअनुसार राष्ट्रसेवकलाई व्यवस्थापनको काम धेरै हदसम्म पूरा भएको छ । र, बिस्तारै संगठन तथा संरचनालाई परिष्कृत गर्ने र बाँकी कामलाई संविधानले तोकेको जिम्मेवारीअन्तर्गत अहिले व्यवस्थापनको काम निरन्तर भइरहेको छ । ऐन, नियमहरूको तर्जुमाको काम पनि तीव्र गतिका साथ हामीले अगाडि बढाएका छौं । र, थुप्रै ऐनहरू निर्माण भइसकेका छन् ।’

अब नेपालल छिट्टै जनताको चाहना र भावनाअनुसारको सुशासन हाँसिल गर्ने पनि उनको विश्वास छ । ‘अब विकासको काम पनि केही समयपश्चात् तीव्र गतिमा सुरु हुन्छ,’ उनले भने । कुनै पनि देशको संघीय प्रणाली अर्थात् केन्द्रीकृत प्रणालीबाट संघीय प्रणालीमा जाँदा केही जटिलता तथा समस्याहरू उत्पन्न हुनु र व्यवस्थापनमा केही समय लाग्नु स्वाभाविक भएको उल्लेख गर्दै मन्त्री पण्डितले भने, ‘अन्य देशको तुलनामा हामी तीव्र गतिमा यो कामलाई छिटो परिणाम ल्याउनेगरी अगाडि बढ्दै छौं ।’

 


हिजो बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार स्थानीय तह, प्रदेश तह र केन्द्रको पनि माग रआवश्यकताअनुसार राष्ट्रसेवकहरूको नयाँ नियुक्तिको प्रक्रिया अब छिट्टै सुरु गर्ने उनले जनाए ।उनले भने,‘प्रादेशिक लोकसेवा आयोग गठन नभएसम्म केन्द्रीय लोकसेवा आयोगले नै प्रदेश, स्थानीय तहको राष्ट्रसेवकको त्यो पनि स्थानीय तहबाट माग भएपश्चात् र प्रदेशबाट पनि माग भएअनुसार र भविष्यमा पनि प्रदेशका राष्ट्रसेवक हुनेगरी र स्थानीय तहको राष्ट्रसेवक हुनेगरीकन नयाँ भर्नाको प्रक्रिया सुरु हुन्छ । र, दुई महिनाको निम्ति अहिले क्याबिनेटले खासगरीकन प्रथम श्रेणी, द्वितीय श्रेणी, र ११औं र नवौं तहको पदपूर्तिको व्यवस्था एकपटक दुई महिनाका लागि अहिले लोकसेवा आयोगलाई बन्द गर्ने भनेर अनुरोध गरेका छौं ।’

सरकारले पुस मसान्तभित्र राष्ट्रसेवकहरूको समायोजनको काम सम्पन्न गर्नेगरीकन आफूहरूले तयारी गरिरहेको पनि मन्त्री पण्डितले जानकारी दिए । उनले भने,‘अहिलेको विज्ञापन केन्द्र, प्रदेश र स्थानीय तीनै तहको संविधानअनुसार व्यवस्थापन गर्नुपर्ने भएकाले गर्दा व्यवस्थापनलाई अप्ठ्यारो नपर्नेगरी अहिलेका निर्णयहरूलाई लिएर हामी अगाडि बढ्दै छौं । अर्कोतर्फ केही प्रश्न आए प्रदेश सरकारमा हामीले जति राष्ट्रसेवकहरूलाई पठाइरहेका छौं, पहिल्यै नै प्रदेशको मुख्यमन्त्रीको कार्यालयको प्रमुख सचिवले खटनपटन गर्नेगरी हामीले पठाइरहेका छौं । यो निरन्तरता जारी नै छ । र उहाँको माग र आवश्यकतालाई परिपूर्ति गर्नेगरी हामी अगाडि बढिरहेका छौं । यही बीचमा हामीले केही कुरा पनि सुनेका छौं । तर, मलाई विस्तृत जानकारी थाहा भएको छैन ।’

नेपालको संघीयता तीन तहबीच समन्वयात्मक रहेको बताउँदै पण्डितले केन्द्रको संविधानले दिएको अधिकारको सीमाभित्र रहेर प्रदेश अगाडि बढ्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘प्रदेश मात्रै होइन, स्थानीय तह पनि संविधानले दिएको अधिकारअनुसार र त्यसको सीमाभित्र रहेर गर्ने हो ।
आफ्नो अधिकार क्षेत्रभन्दा बाहिरको कुनै निर्णय यदि भएको छ भने वा संविधानतः बाझिएको छ भने, बाझिएको हदसम्म कार्यान्वयन हुँदैन । त्यस्तै, प्रदेशको हकमा पनि निर्णयहरू बाझिएको हदमा त्यो कार्यान्वयन हुँदैन । कुनै पनि तहले आफूअनुकूल निर्णयहरू गर्नु उपयुक्त हुँदैन । र गरिएको हदसम्म लागू नहुने कुरा म अवगत गराउन चाहन्छु ।’