मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

सडकमै खसीबोका कारोबार

केशवराज पौडेल
9 months ago
16/10/2018

काभ्रेपलाञ्चोक।

सडकमा खसीबोका कारोबार गर्दा सर्वसाधारणलाई बाटो हिँड्नसमेत कठिन परेको छ । काठमाडौंबाट नजिकै भए पनि काभ्रेको बजारमा काठमाडौंमा भन्दा सरल मूल्यमा खसीबोका, कुखुरा र राँगा पाइने हुँदा त्यस्ता व्यापारीले बाटैमा कारोबार गर्ने गरेका छन् ।
बर्सेनि करोडौं रुपैयाँको खसी बोका र राँगा दसैंमा किनबेच हुने गरेको छ । काभ्रेसँगै छिमेकी जिल्ला रामेछाप, सिन्धुपाल्चोक, सिन्धुलीबाट हजारौंको संख्यामा खसीबोका, राँगा र भैंसी संकलन गरेर काभ्रेमा ल्याएर बिक्री गर्ने गरिन्छ ।
परापूर्वकालदेखि काभ्रेमा ल्याएर चीनको भेडा, च्यांग्रासमेत बिक्री हुने गरे पनि सरकारले काभ्रेमा कुनै पनि बिक्री वितरण केन्द्र स्थापना गर्न सकेको छैन । जसको कारण व्यापारी सडकमै व्यापार गर्न बाँध्य भएका हुन् । सरकारले बनेपामा चौपाया बिक्री केन्द्र रहेको बताए पनि त्यसलाई सञ्चालन गर्न सकेको छैन ।

गाउँ गाउँबाट व्यापारीले खसीबोका ल्याए पनि सकडमै किन्न र बेच्न बाध्य भएपछि असुरक्षाको डर बढ्दै गएको कृषक, व्यापारी र उपभोक्ताको भनाइ छ ।
काभ्रेलाई सरकारले किनबेचको केन्द्रका रूपमा विकास भएको भने पनि सडकमै खसीबोका किनबेच गर्दा धेरै समस्या आफूहरूलाई पर्ने गरेको उपभोक्ता हरी गौतमले बताए ।
अघिल्लो वर्ष दसैंमा खसी किन्न आउँदा खसी हेर्ने क्रममा चोरीको घटनासमेत भएको थियो भने दसैंका लागि खसी बेच्न ल्याएका एक खसी व्यापारीलाई टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

काभ्रे चारदोबाटोमा खसीबोका बिक्री गरिँदै । तस्बिर : राजधानी

काभ्रेमा काठमाडौंको भन्दा सस्तो मूल्यमा खसीबोका र राँगा पाउने भएपछि काठमाडौंका ग्राहकसमेत काभ्रेमा आउने गरेका छन् । तर सडकमै खसीबोका किनबेच हुने भएकाले उनीहरूमा सुरक्षा कम भएको बताउँछन् । पाँचखालबाट खसी किन्न आएका हरि दुलाल भने स्थानीय सरकारको बेवास्ताका कारण आमसर्वसाधारणले जोखिम मोलेरै भए पनि खसीबोकाको कारोबार गरिरहेको बताउँछन् ।
बनेपामा खसीबोकाको अत्यधिक माग तथा वितरणसमेत हुने भएपछि खसीबोका किनबेच केन्द्र स्थापना भए पनि त्यो व्यवस्थित बन्न सकेको छैन । व्यवस्थित नबने पनि चौपाया बिक्री केन्द्रले खसी किनबेच गरेको ५० रुपैयाँसम्म रकम लिने गरेको छ ।
राजधानीमा सरकारले दरभाउ तोके पनि काभ्रेमा भने कुनै पनि दरभाउबाट उपभोक्ताले खसी बोका र राँगा किन्न पाउँदैनन् ।
हचुवाको भरमा उनीहरूले व्यापारीले भनेको मूल्यमा खसीबोका किन्ने गर्छन् । अरनिको राजमार्गको चारदोबाटो, बसपार्कमा सवारी आवागमनलाई समेत असर पार्ने गरी बनेपामा खसीबोकाको व्यापार हुने गरेको छ ।

बनेपाको अरनिको र हेलम्बुको गाडी रोक्ने चारदोबाटोमा फुटपाथे र झोले व्यापारीले यात्रुलाई अभद्र व्यवहारसमेत गर्ने गरेका छन् । पूर्वको नाकाका रूपमा परिचित काभ्रेको बनेपा ठूला पर्वको सुरुसँगै अस्तव्यस्त देखिने गरेको छ ।
हरेक वर्ष फुटपाथमा व्यापार गर्नेदेखि सवारीको सडक छेकेरै हुने पार्किङ प्रहरीका लागि ठूलै चुनौती बन्ने गरेको छ ।
यो वर्ष पनि बनेपामा भीड व्यवस्थापन हुन सकेको छैन ।
चाडपर्वका अवसरमा दैनिक करोडौैंको व्यापार भए पनि बनेपा व्यवस्थित हुन सकेको छैन ।
काभ्रेमा फेन्सी, लत्ताकपडा, खाद्यान्नदेखि ठूलो परिणाममा खसीबोका र राँगाहरूको सडकबाटै बिक्री हुने गरेको छ ।

 

(Visited 15 times, 1 visits today)
Loading comments...