सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

सुजीतकुमार झा
1 month ago
16/10/2018

जनकपुरधाम। मिथिलाञ्चलको गाउँगाउँमा अहिले झिझियाको गीत गुन्जिन थालेको छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महŒव रहेको छ । घटस्थापनादेखि विजयादशमीसम्म देवी स्तुतिका रूपमा यो नृत्य गरिन्छ ।
बोक्सी हुँदैन भनेर यस्तो अन्धविश्वासलाई राज्यले निषेध गरेको भए पनि बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि भन्दै यो नृत्य गर्न छाडिएको छैन । यसको बनावट र स्वरूपभित्र जादु टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ । बलिरहेको दियो तथा असंख्य प्वाल पारिएको घैंटो त्यसकै नमुना हो ।

टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृत्तिले यसमा निहित विशेष अर्थलाई संकेत गर्छ । महिलाको टाउकामा राखिएको घैंटोको प्वाल कुनै बोक्सीले गन्न सफल भयो भने नाच्ने महिला ठहरै हुने जनविश्वास रहेको छ । त्यसैकारण सो घैंटो टाउकोमा राखी जादु टुनामुनाबाट मुक्ति पाउनका लागि परम्परागत रूपमै नृत्य गरिने चलन छ ।
झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ । त्यो विशेष सुर र तालमा तथा झिझियाको गीतमा झुमी टाउकामा घैंटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अदभूत वातावरणको निर्माण हुन्छ । नृत्यसँगै गाइने सो गीतमा बोक्सीलाई गाली गरिनुका साथै धम्कीसमेत दिइने गरिन्छ । बोक्सीको अनैतिक शक्तिको प्रभाव सो गालीले कम हुने गरेको तथा सन्ततिहरूको सुरक्षा हुने जनविश्वास रहेको सांस्कृतिकविद् डा. रेवतीरमण लालले राजधानीलाई बताए ।

लेखक तथा राजनीतिज्ञ राजीव झाका अनुसार झिझिया लोकनृत्य धनुषालगायत महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सासहितका जिल्लामा गरिन्छ । त्यस्तै, भारतीय मिथिला क्षेत्रमा पनि प्रस्तुत गरिन्छ । झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य हो, जसमा बलिरहेको दियो भएको असंख्य प्वाल पारिएको घैंटो टाउकामा राखी नृत्य गर्ने गरिन्छ,’ उनले भने ।

मिथिलामा झिझिया नृत्यको आफ्नै मौलिकता, पहिचान र इतिहास छ । घैंटोमाथि बलिरहेको आगोको डल्ला लिएर नृत्य गर्न‘ आफैंमा साहस र कलाको अलौकिक प्रदर्शन झिझिया नृत्य हो । समाज रूपान्तरणसँगै लोकनृत्य गायब हुन थालेका छन् । तैपनि गाउँघर तथा सहर बजारमा जीवित राख्नकै लागि भए पनि बर्सेनि झिझिया नृत्यको आयोजना गरिँदै आएको छ । तराईका विभिन्न क्षेत्रमा समय समयमा बोक्सी प्रकरणका घटनाहरू सुनिँदै आएको छ । कानुनले त्यस्ता प्रकरणलाई असत्य भन्दै बोक्सीको आरोप लगाउनेहरूलाई नै सजाय दिइने नेपालमा कानुनी व्यवस्था छ । सजायको कानुनी व्यवस्था भए तापनि बोक्सीको घटनामा कमी आएको पाइँदैन ।

समाजमा बोक्सीको उपस्थिति रहेको भन्दै सातौं वा आठौं शताब्दीतिर बोक्सीविरुद्ध प्रतिकार गर्ने उद्देश्यले एउटा अनौंठो नृत्यको प्रदर्शन गर्दै झिझिया नृत्यको सुरुवात गरिएको इतिहासकारहरू बताउँछन् ।
गाउँ घरमा ती झिझिया नृत्यले निरन्तरता पाइरहँदा सहरबजारसमेत झिझिया नृत्यबाट अछूतो रहन सकेको छैन । जनकपुरमा अहिले प्रत्येक राति समूह समूहमा महिलाहरू झिझिया नृत्य गरिरहेको त्यसै देख्न सकिन्छ । दसैंको समयमा विभिन्न क्लबहरूकै पहलमा झिझिया नृत्यको आयोजना गरिएको पाइन्छ ।

झिझिया नृत्य प्रारम्भ गर्न पूर्वतयारी गर्न‘पर्छ । एउटा वा दुइटा सफा घैंटो किनेर त्यसलाई सफा सुग्घर गरी घैंटोभरि प्वाल बनाइन्छ । घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ । त्यसमा मट्टीतेल हालेर बालिन्छ । त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । तर, टाउकामा राखी नृत्य गर्न‘पूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ अर्थात् बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा छेकबार गरिन्छ–
‘सभ्य गुरुक बन्दे पाउँ । बजर केवाडी
बजर बान्हो दशो दुआरी
मटिया बान्हो, मसान बान्हो, टोना बान्हो, टापर बान्हो ।’
यसरी मन्त्रिएपछि ५ देखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो बलिरहेको घैंटो राखेर बिना हातको सहारा लिई नाच्दै ब्रह्मस्थानमा पुगेर सबैभन्दा पहिले पूजा गरेर नृत्य गर्ने गर्दछन् । ब्रह्मस्थानमा नृत्य गरेलगत्तै झिझियाको औपचारिक रूपमा सुरु हुन्छ । त्यसपछि घर घरमा गएर नृत्य देखाउने परम्परा रहेको छ ।

प्रत्येक घरबाट पूर्णाहुतिका लागि अन्न रुपैयाँ चन्दा माग्ने गर्छन् । त्यही मागिएको रकम जोडेर विजयादशमीको दिन पूजापाठ, भोज र प्रसाद वितरण गरिन्छ र झिझिया लोकनृत्य विसर्जन हुन्छ । झिझियालाई बचाउन मिथिलाञ्चलमा विशेष प्रयास सुरु भएको छ । मिथिला नाट्य कला परिषद्का अध्यक्ष परमेश झाले मिनापले नेपाल भारतको विभिन्न ठाउँमा गरिने सांस्कृतिक कार्यक्रममा झिझियालाई विशेष प्रस्तुतिका रूपमा लिइने गरेको छ ।

मिनापले केही वर्षयता झिझियाको ५ सयभन्दा बढी नृत्य प्रदर्शन गरेको छ । जनकपुरकै देवी चोकमा रहेका राजदेवी युवा क्लबले दसैंको बेला प्रत्येक वर्ष झिझिया नृत्य प्रतियोगिताको आयोजना गर्ने गर्छ । दसैंकै बेला जनकपुरको राम युवा कमिटी, महावीर युवा कमिटी र रामानन्द युवा क्लबको भजन सन्ध्यामा झिझियाको विशेष प्रस्तुति हुने गर्छ । यस्तै सिरहा र सप्तरीमा समेत प्रत्येक वर्ष झिझिया प्रतियोगिताको आयोजना हुने गरेको छ ।