सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

बडादशैंको नवौं दिन आज महानवमी, सर्वसाधारणका लागि तलेजु मन्दिर खुला

1 month ago
18/10/2018

काठमाडौं । हिन्दूहरुको महान् चाड बडादशैंको नवौं दिन आज महानवमी पर्व मनाईदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आव्हान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ ।

प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ ।

सो कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिँदै छ ।

तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

आज बिहानैदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि दिएर जंगी निसानपूजा तथा कोतपूजा भइरहेको छ । आजै सवारी साधनहरूलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ ।