सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बडादशैंको टीका ग्रहण

1 month ago
19/10/2018

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा शुक्रबार बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक नवदुर्गा भवानीको टीका ग्रहण गरेकी छन् ।
राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरेकी हुन् ।

स्वस्तिवाचनसहित मूल पुरोहित अर्याल र अन्य पुरोहितहरुले आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी स्थापना गरिएको पूर्ण कलशको जलले राष्ट्रपतिमा अभिषेक गरेका थिए ।

शास्त्रोक्त विधिपूर्वक प्रतिपदाका दिनदेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाअर्चना तथा सप्तशती पाठ गरिएको हनुमानढोका दशैघरबाट पूर्णकलशको जल, जमरा, तिलक र रक्षासूत्र ल्याइएको थियो ।

राष्ट्रपति भण्डारीले मूल पुरोहित, राष्ट्रपति कार्यालयका पुरोहित र अन्य ब्राह्मणलाई टीका, जमरा र दक्षिणा प्रदान गरिन् ।

यस्तै राष्ट्रपतिले आफ्नी आमा मिथिला पाण्डेबाट टीका–जमरा र दक्षिणा ग्रहण गरिन् । साथै उनले काका डेकेन्द्र पाण्डेबाट पनि नवदुर्गा भवानीको प्रसादस्वरुप टीका–जमरा ग्रहण गरिन् ।
प्रधानमन्त्रीद्वारा टीका ग्रहण
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा आफ्ना पिता मोहनप्रसाद ओलीबाट बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा टीका, जमरा र तिलक ग्रहण गरेका छन् ।