सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

सवारी दुर्घटना तीन वर्षयताकै बढी, यो वर्ष १३ जनाको गयो ज्यान

कमला अर्याल
4 weeks ago
23/10/2018

काठमाडौं ।  गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना बढेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, यस वर्षको दसैंमा तीन वर्ष यताकै बढी दुर्घटना भएका छन् ।
महाशाखाका सहायक प्रवक्ता प्रहरी निरीक्षक दामोदर सिलवालका अनुसार यस वर्षको दसैंमा भएका सवारी दुर्घटनामा १३ जनाको मुत्यु भएको छ । यो तथ्यांक घटस्थापनादेखि सोमबारसम्मको हो ।
उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी तीन जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाएको सहायक प्रवक्ता सिलवालले राजधानीलाई बताए । ती छुट्टाछुट्टै दुर्घटनामा आठ जना गम्भीर तथा १८६ जना सामान्य घाइते भएका छन् ।

यस वर्ष सवारी दुर्घटनाको संख्या तीन वर्ष वर्षयताकै बढी भएको महाशाखाले जनाएको छ । यस वर्ष २७२ वटा सवारी दुर्घना भएका छन् । गत वर्ष दसैंको समयमा भएका १७७ वटा सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको थियो ।
त्यस वर्ष १४६ वटा दुर्घटना भएको थिए ।
विशेषगरी दसैंका बेला मादक पदार्थ सेवन गरी सवारी चलाएको, उपत्यकाका मुख्य तथा गल्लीका सडकहरू खाली भएकाले तीव्र गतिमा सवारी हाक्ने तथा चालकको लापर्बाहीका कारण सवारी दुर्घटना बढेको सिलवालले बताए । उनका अनुसार ट्राफिक प्रहरीको पहुँच कम भएका स्थानमा बढी सवारी दुर्घटना भएका छन् । त्यस्तै, उपत्यकाका मुख्य सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्र तथा ट्राफिक प्रहरीको पहुँच कम हुने स्थानमा बढी दुर्घटना हुने गरेको उनले बताए ।

त्यसैगरी, ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने ३ हजार ७३३ सवारी साधनका ९९२ जनालाई कारबाही गरेको छ । त्यस्तैगरी, बढी भाडा लिने ५ सयको हाराहारीमा सवारीसाधनलाई कारबाही गरिएको महाशाखाले जनाएको छ । त्यसैगरी, ट्राफिक प्रहरीले मिटरमा नचल्ने र बढी भाडा लिने ट्याक्सीलाई पनि कारबाही गरेको छ । दसैंका समयमा बढी भाडा लिने ९५० ट्याक्सी चालकलाई कारबाही गरिएको छ ।
महाशाखाले दसैं, तिहार तथा छठ पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाको ११४ स्थानमा ६८७ जना जनशक्ति परिचालन गरेको छ भने उपत्यकाका विभिन्न स्थानमा १३ वटा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।