सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

साफ यु–१५ को तयारी पूरा

राजधानी समाचारदाता
4 weeks ago
24/10/2018

 

 

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले दक्षिण एसियाली खेलकुद (साफ) को यू–१५ पुरुष च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ ।

एन्फाले मंगलबार आफ्नै मुख्यालय सातदोबाटोमा पत्रकार सम्मेलनको आयोजना गर्दै च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगिता कात्र्तिक ८ गतेबाट १७ गतेसम्म एन्फा कम्प्लेक्सको कृतिम मैदानमा हुनेछ । च्याम्पियनसिपमा दक्षिण एसियाका आयोजक नेपालसहित ६ राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको लागि पाकिस्तान, भुटान र माल्दिभ्सको टोली नेपाल आइसकेको छ । बंगलदेशको टोली आज र भारतको बुधबार नेपाल आइपुग्ने कार्यक्रम रहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी गराए ।

सबै टिमलाई प्रशिक्षणको लागि एपीएफको हल्चोक मैदान र मध्यपुर युथ एसोसिएसनको प्रशिक्षण स्थल तोकिएको छ । च्याम्पियनसिप आयोजना गर्न करिव १ करोड ६५ लाख खर्च लाग्ने एन्फाले अनुमान गरेको छ । सो को परिपुर्ति गेट मनी र साफबाट आउने अनुदान र अपुग रकम एन्फाको आन्तरिक श्रोतबाट पुरा गरिने एन्फाले जनाएको छ । गेट टिकट साधरणतर्फ २ सय र भिआइपीतर्फ ५ सय तोकिएको छ ।

एन्फाले एकेडेमीमा रहेको २६ जना र एन्फासँग आबद्ध जिल्लाका ४५ जनाबाट उत्कृष्ट २३ खेलाडी छनोट गरिएको बताएको छ । छनोटमा जिल्लाबाट ३०० जनाले सहभागिता रहेको एन्फा ग्रासरुटका संयोजक उपेन्द्रमान सिंहले जानकारी गराए । विगतका वर्षहरुमा उमेर कारण विवाद आएको भन्दै यसपटकबाट (एमआरआई) गरेरै खेलाडी छनोट गरिएको एन्फाले जनाएको छ । छनोटबाट एकेडेमीमा रहेका बाहेक ५ जनाले टिममा स्थान बनाएको छ । नेपाली यु–१५ टोलीको घोषणा दुई साताअघि गरिएको थियो । नेपाली टोलीको मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ,  सहायक प्रशिक्षकमा राकेश श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा मनिष तिम्सेना रहेका छन् ।

साफ यू–१५ मा च्याम्पियन हुने टोलीले एएफसी यु–१६ छनोट खेलन पाउनेछ । नेपाल गत संस्करणको उपविजेता हो । नेपालमै भएको गत संस्करणमा नेपाल भारतसँग पराजित भएको थियो ।

नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र माल्दिभ्स रहेका छन् । समूह ‘बी’ मा भारत, भुटान र पाकिस्तान रहेका छन् । नेपालले ८ गते माल्दिभ्ससँग खेल्दै च्याम्पियनसिपके शुरुवात गर्नेछ । सोही दिन समुह ‘बी’ को भात र पाकिस्तानबीच खेल हुनेछ । १० गते पाकिस्तान र भुटान तथा माल्दिभ्स र बंगलादेशबच खेल हुनेछ । १२ गते भुटान र भारत तथा नेपाल र बंगलादेशबीच खेल हुनेछ । हरेक टोलीका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।

नेपाली टोली

रोशन नेपाल, रोहन मगर, विनय श्रेष्ठ, जान लिम्बु, निवास फुयाल, प्रमेश गुरुङ, रोशन थापा, सिर्जन दानी, रोजित परियार, सुशिल अधिकारी, हृदेशसिंह ठकुरी, प्रदिप लम्साल, मनग्य नकर्मी, दिपेश गुरुङ, प्रविन मगर, राकेश विके, सशांक बोहरा, निराजन मल्ल, धिरज वलायर, नमास थापा, सोनाम गुरुङ, रोहित सुब्बा र दिपेश राई