सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

खसोग्गीको हत्या पूर्वनियोजित: एर्दोगान

एजेन्सी
4 weeks ago
24/10/2018

अंकारा ।टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले पत्रकार जमाल खसोग्गीको हत्या पूर्वनियोजित भएको बताएका छन् । उनले खसोग्गीको हत्यका लागि साउदीले केही दिनअघिदेखि नै षड्यन्त्र रचेको उनको भनाइ थियो ।

संसद्लाई सम्बोधन गर्दै राष्ट्रपति एर्दोगानले टर्कीले साउदी अरबका आलोचक पत्रकार खसोग्गीको हत्या पूर्वनियोजित भएको तथ्य पत्ता लगाएको बताएका हुन् । उनले इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासभित्रै पत्रकार खसोग्गीको हत्या भएको विषयको सच्चाइ पूरा संसारका अघि ल्याएरै छाड्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

 

जमाल साउदी नागरिक भए पनि उनी अमेरिकामा बस्दै आएका थिए । उनी गत २ अक्टोबरमा साउदी अरबको वाणिज्य दूतावासमा केही दस्ताबेजका लागि गएका थिए । तर, उनी त्यहाँबाट फर्किएनन् ।

टर्कीले साउदी अरबको वाणिज्य दूतावासभित्रै उनको हत्या भएको आफूसँग प्रमाण रहेको बताउँदै आएको छ । साउदीले भने दूतावासभित्र अधिकारीहरूसँगको बाझाबाझका क्रममा उनको मृत्यु भएको बताएको छ ।

साउदीले यसअघि दूतावासमा उनको हत्या भएको मान्न अस्वीकार गर्दै आएको थियो । साउदी अरबका विदेशमन्त्री अदेल जुबैरले यो घटनालाई ठूलो भुल भएको बताएका थिए । तर, उनले साउदी अरबका युवराज मोहम्मद बिन सलमानको यो हत्यामा कुनै भूमिका नभएको दाबी गरेका छन् । उनले यो घटना गराउनका लागि साउदीका ‘अराजक एजेन्ट’ हरू जिम्मेवार रहेको उल्लेख गरेका छन् ।

खसोग्गीको घटनामा आफ्नो शंकास्पद भूमिकाका कारण साउदी अरब विवादको घेरामा परेको छ । साउदीमा हुन लागेको लगानी सम्मेलनलाई यही घटनाका कारण संसारका ठूला हस्तीहरूले बहिष्कार गर्ने भएका छन् ।

खसोग्गी घटनालाई लिएर साउदी र अमेरिकाबीचको सम्बन्धलाई लिएर पनि संसारभर आलोचना भइरहेको छ । रियादको अन्तर्राष्ट्रिय लगानी सम्मेलन पनि खसोग्गी हत्यापछि उत्पन्न संकटको चपेटामा परेको छ । यो सम्मेलनमा १४० वटा व्यापारिक फर्मका १५० जना उच्चस्तरीय अधिकारीहरू सहभागी हुने कार्यक्रम थियो । तर धेरैजसोले अब सम्मेलनमा सहभागी नहुने घोषणा गरिसकेका छन् ।

रियादस्थित बीबीसीका मध्यपूर्व संवाददाताले सेवास्टिउन असर भन्छन्, ‘लगानी सम्मेलनमा सामेल हुने वरिष्ठ व्यक्तित्वहरूले अलग हुने घोषणा गरिसकेका छन् । केही सहभागी भएका पनि छन् । केही विषयमा कम्पनीका प्रमुख अधिकारीहरू सामेल हुने बताइएको छ ।’