सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

निर्मला हत्याको सय दिन, अनुसन्धान परिणाम शून्य

महेश्वर गौतम
2 weeks ago
02/11/2018

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको आज एक सय दिन पूरा भएको छ । गत १० साउनमा साथीको घर जाने भन्दै हिँडेकी उनको भोलिपल्ट घर नजिकैको उखुबारीमा शव भेटिएको थियो ।  प्रहरी अनुसन्धानमा उनको बलात्कारपछि हत्या भएको खुले पनि हत्याको सय दिन पूरा हुँदा समेत प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन ।
निर्मलाको परिवार भने सय दिन बित्दासमेत हत्यारा पत्ता लाग्न नसकेको भन्दै अनशन बस्ने तयारीमा पुगेको छ ।
निर्मलाका बाबु यज्ञराज पन्तले सरकारले आफ्नी छोरीको हत्यामा संलग्नलाई पक्राउ गर्न सय दिन बित्दासमेत नसकेको भन्दै अनशन बस्ने तयारी गरिएको बताए ।

‘निर्मलाको बलात्कारपछि हत्या भएको सय दिन पुग्यो तर सरकारले दोषी पत्ता लगाउन सकेन । अब म जिल्ला प्रशासन कार्यालयअगाडि अनशन बस्छु,’ निर्मलाका बाबु यज्ञराजले राजधानीसँग भने ।
उनले सरकारले न्याय दिन नसक्ने भनेर भनेका बखत भने आफू चुप बस्नेसमेत जानकारी दिए ।
‘सरकारले हत्यारा पत्ता लगाउन सकिएन । अब सक्दैनांै भनोस् । हामी चुपचाप बस्छौं । हामीलाई अहिले पनि न्यायको आस मरेको छैन,’ उनले थपे ।

उनले सरकारले हत्यामा संलग्न पत्ता लगाउनुको साटो उल्टै पैसाको प्रलोभन देखाएको समेत जनाए ।
निर्मलाका बाबु यज्ञराज पन्तले सरकारले आफ्नी छोरीको बलात्कार तथा हत्यामा संलग्नलाई पक्राउ गर्न नसक्नु दुखद् भएको भन्दै दोषी पत्ता लगाउनुको साटो सरकारका तर्फबाट पैसाको प्रलोभन आएको बताए ।
उनले कञ्चनपुरका सहायक सीडीओ शंकर विष्टले आफूलाई दसैंअगावै सरकारबाट मृतकका लागि निर्णय भएको पैसा प्राप्त भएकाले लिन बोलाइएको बताए ।

‘सहायक सीडिओ सरले दसैंअघि नै मलाई फोन गरेर पैसा लिन बोलाउनुभयो । मैले पैसा चाहिन्नँ, छोरीको हत्यामा संलग्न व्यक्ति चाहिएको हो भनेर लिन गइनँ,’ निर्मलाका बाबु विष्टले राजधानीसँग भने ।
सोही विषयमा सहायक प्रमुख जिल्ला अधिकारी विष्टले आफूले पैसाको प्रलोभन देखाएर निर्मला परिवारमा फोन नगरेको तर सरकारबाट निर्णय भएको रकम जिल्लामा प्राप्त भयो भनेर जानकारी दिएको जनाए ।
‘मैले पैसा लिन आइहाल्नोस्, लगिहाल्नोस् भनेर फोन गरेको छैन । सरकारले मृतकका नाममा घोषणा गरेको क्षतिपूर्ति रकम जिल्लामा प्राप्त भयो भनेर फोनमार्फत जानकारी दिएको मात्र हुँ,’ सहायक प्रमुख जिल्ला अधिकारी विष्टले भने ।
सरकारले निर्मला हत्याका विषयमा अनुसन्धान गर्न केन्द्रीय तहबाटै छानबिन समिति बनाएर विभिन्न चरणमा छानबिनसमेत गरिसकेको छ । सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय समिति बनाएर छानबिन गरेको थियो ।

 

न्याय माग्न अनशनको तयारी
बाबु भन्छन्– सरकारले प्रलोभन देखायो
सहायक सीडीओ भन्छन्– क्षतिपूर्ति दिन खोजेको हो

सहायक सीडीओ सरले दसैंअघि नै मलाई फोन गरेर पैसा लिन बोलाउनुभयो । मैले पैसा चाहिन्नँ, छोरीको हत्यामा संलग्न व्यक्ति चाहिएको हो भनेर लिन गइनँ
यज्ञराज पन्त -निर्मलाका बुबा

मैले पैसा लिन आइहाल्नोस्, लगिहाल्नोस् भनेर फोन गरेको छैन । सरकारले मृतकका नाममा घोषणा गरेको क्षतिपूर्ति रकम जिल्लामा प्राप्त भयो भनेर फोनमार्फत जानकारी दिएको मात्र हुँ
शंकर विष्ट – सहायक प्रमुख जिल्ला अधिकारी, कञ्चनपुर

 

 

यस्तै, प्रहरी प्रधान कार्यालयले समेत हत्या अनुसन्धानका लागि भन्दै विभिन्न समिति बनाएर अनुसन्धान गरिरहेको छ ।
तर ती अनुसन्धान समितिले पटक पटकको स्थलगत अनुगमन तथा स्थानीयसँगको छलफलका क्रममा प्रहरीबाटै अनुसन्धानमा लापरबाही भएको र प्रमाण मेटाइएको निष्कर्ष निकालेका छन् ।
सोही निष्कर्षका आधारमा गृह मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापासमक्ष अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।
सो प्रतिवेदनमा कञ्चनपुरको तत्कालीन प्रहरी नेतृत्वले निर्मला हत्यापछिको सुरुकै अनुसन्धानका चरणहरुमा लापर्बाही गरेको भनिएको छ । यस्तै, प्रहरी प्रधान कार्यालयले समेत कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुखले घटनामा लापर्बाही गरेको भन्दै तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टलाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सुझाव दिएको थियो ।
प्रहरी प्रधान कार्यालयकै सिफारिसमा गृह मन्त्रालयले २९ असोजमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट बर्खास्त गरिसकेको छ । यस्तै, अनुसन्धानमा गल्ती गर्ने केही प्रहरी अधिकारी निलम्बनमा छन् ।

अनुसन्धानकै क्रममा प्रहरीले हालसम्म ९ जनाको डीएनए परीक्षणसमेत गरिसकेको छ । तर, परीक्षणका लागि नमुना लिइएकाहरु कसैको पनि नमुना म्याच भएको छैन । प्रहरीले बुधबार मात्रै थप चार जनाको डीएनए परीक्षणका नमुना लिएर केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको छ । तर, पछिल्लोपटक ककसको नमुना लिइयो भन्नेबारे प्रहरीले खुलाएको छैन ।
कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले नमुना काठमाडौं पठाइएको बताउँदै राजधानीसँग भने, ‘हामी अनुसन्धानमा गम्भीर छौं । सबै पाटोबाट थप अनुसन्धानसमेत भइरहेको छ । लिइएका डीएनए नमुना काठमाडौं पठाएका छौं ।’
यसअघि प्रहरीले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुश विष्ट, भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलिप विष्ट र भीमदत्त नगरपालिका–१८ निम्बुखेडाका चक्रदेव बडूको समेत डीएनए परीक्षण गरेको थियो । रगत परीक्षण गर्ने क्रममा निर्मलाको शरीरमा भेटिएको भेजिनल स्वाबसँग कसैको पनि नमुना हालसम्म मिलेको छैन ।

हामीलाई सुरक्षा खतरा छ- यज्ञराज पन्त निर्मलाका बाबु

छोरीको बलात्कार पछि हत्या भएको सय दिन पुग्यो । बलात्कार तथा हत्यामा संलग्नहरु अझै पत्ता लाग्न सकेको छैन । दुःख लाग्छ । सरकारले आफ्नो नागरिकको सुरक्षा त गर्न सकेन । हत्या भएको यतिका दिनसम्म पनि हत्यारा पत्ता लगाउन सकेन । हामीलाई अझै पनि आस छ । हामी न्यायको भीख मागिरहेका छौं ।
प्रहरीले दोषी देखाउने नाममा निर्दोष नागरिकलाई समातेर दोषी देखाउन खोज्यो । अझै पनि प्रहरीले सिभिलमा मान्छे पठाएर हामीलाई अनेक गरेर फकाउने प्रयास गरिरहेको छ । कहिले मिठाइ लिएर नचिनेका मान्छे हाम्रो घरमा आउँछन् । कहिले फलफूल लिएर आउँछन् । विभिन्न थरीका कुरा गर्छन् । अब जे भो भो भन्छन् । तर, हामीलाई कुनै पनि कुरा चाहिएको छैन । न्याय चाहिएको छ ।

 

 

अहिले त मलाई एक्लै हिँड्न पनि खतरा हुन थालेको छ । नचिनेका मान्छेले पिछा गर्छन् । हिजो (बुधबार) राति एक जना नचिनेका मान्छेले पिछा गरेर लछारपछार गर्न खोजे । मैले प्रहरीमा खबर गरें । तर, त्यो मान्छे भेटिएन । राति तीन बजेसम्म त्यसलाई मैले खोजेको छु । सरकारले न्याय दिन सक्दिन भनेर भन्यो भने चित्त बुझाउन सकिएला तर हामी अझै पनि न्यायको आसमा छौं ।

मलाई लाग्छ अझै पनि प्रहरीले निर्दोषलाई समातेर दोषी देखाउन खोजिरहेको छ । घटनास्थलमा पटक पटक सिभिल प्रहरी आएको देख्छु । फेरि चार जनाको डीएनए परीक्षण गर्न पठाएको भन्ने पनि सुनेको छु । तिनीहरु कहाँका मान्छे हुन् भन्ने थाहा छैन । तर, हामीले प्रहरी र सरकारसँग पटक पटक भनेका छौं कि हाम्री छोरी जुन घरमा गएकी थिई, त्यहीँबाट अनुसन्धान गर्नुपर्छ । हाम्रो कुरा कसैले सुनेन । जहाँ गएकी हो र जहाँबाट हराएकी हो, त्यहीँबाट अनुसन्धान भएको छैन । दुःख लाग्छ ।
अहिले त मलाई एक्लै हिँड्न पनि सुरक्षा खतरा हुन थालेको छ । नचिनेका मान्छेले पिछा गर्छन् । हिजो (बुधबार) राति एक जना नचिनेका मान्छेले पिछा गरेर लछारपछार गर्न खोजे । मैले प्रहरीमा खबर गरें । तर, त्यो मान्छे भेटिएन । राति तीन बजेसम्म त्यसलाई मैले खोजेको छु ।

पहिले साइकिलमा एक्लै हिँड्ने गरेको थिएँ । अहिले अटो रिक्सामा बजारतिर जाने गरेको छु । चिया पसलतिर जान पनि सोच्नुपर्छ । हामीलाई सुरक्षा पनि चाहिएको छ ।
अर्को कुरा कसैलाई पनि हामीलाई दुःख दिनु छैन । कसैसँग हाम्रो दुस्मनी पनि छैन । कसैको जागिर खोस्न हामीले बोलेका छैनौं । हामीलाई हाम्री छोरीको बलात्कार र हत्यामा संलग्न पत्ता लगाएर त्यसलाई सजाय दिए पुग्छ ।
मलाई दसैंअघि सहायक सिडियो सरले फोन गरेर पैसा लिन बोलाउनुभयो । मैले नआउने जवाफ दिएँ । उहाँले सरकारले पैसा पठाएको र दसैं बिदामा लिन अप्ठ्यारो पर्छ, आउनू भन्नुभएको थियो । तर, म गइनँ । मलाई पैसा चाहिएको छैन । सरकारले न्याय दिन सक्दिन भनेर भन्यो भने चित्त बुझाउन सकिएला तर, हामी अझै पनि न्यायको आसमा छौं ।
(राजधानीकर्मी महेश्वर गौतमले गरेको टेलिफोन कुराकानीमा आधारित)