सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

रुसमा नामकरण भएको ‘ब्लडी सन्डे’

एजेन्सी
2 weeks ago
03/11/2018

 

‘ब्लडी सन्डे’ को घटना रुसका अन्तिम जार शासक निकोलास द्वितीयको पालामा भएको थियो । उनी बढी निरंकुश र मनोगत थिए । उनका बाजे अलेक्जेन्डर द्वितीय जस्तो उनी जनमुखी तथा उदार थिएनन् । रसियाको अवस्था दिनानुदिन निकै कमजोर हुँदै गएको थियो । विदेशीहरूले रसियामाथि बारम्बार आक्रमण गर्दथे । ती आक्रमणमा प्रायः रुसको लज्जाजनक हार हुने गथ्र्याे । जापानले गरेको आक्रमणमा रुस घिनलाग्दो गरी पराजित भएको थियो । रुसी जनता रुसको निरन्तर अधोगति र नोक्सानीलाई लिएर जारशाहीदेखि निकै रिसाएर जारशाहीको कट्टर आलोचक बनिसकेका थिए ।

२२ जनवरी १९०५ को आइतबारको दिन थियो । फादर गोर्जी ग्यापोनको नेतृत्वमा प्रदर्शनकारीहरू निकोलासको दरबारतिर अघि बढिरहेका थिए । जार राजा निकोलास द्वितीय आफ्नो हिउँदकालीन दरबारमा आरामका दिनहरू बिताइरहेका थिए ।

प्रदर्शनकारीहरूको उद्देश्य भनेको मजदुरहरूले भोग्दै आएका ज्याला, श्रमघण्टा र कामको अवस्थाबारे राजालाई जानकारी गराउनु मात्र थियो । तर, साम्राज्यवादी राजाका गार्डहरूले प्रदर्शनकारीहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरे । प्रदर्शनमा उपस्थित हजारौं मजदुरमध्ये बयानब्बे मजदुरहरूको ज्यान गयो । सयौं घाइते भए । तर, हजारौं मजदूर मारिएको र घाइते पारिएको प्रचार भयो । यसलाई ‘ब्लडी सन्डे’ भनिन्छ ।