सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

इन्टरपोल पोस्ट ब्लास्ट ट्रेनिङ स्किनारियो सम्पन्न

राजधानी समाचारदाता
2 weeks ago
03/11/2018

काठमाडौं। इन्टरपोलको आयोजना तथा नेपाल प्रहरीको सह आयोजनामा सञ्चालित इन्टरपोल पोस्ट ब्लास्ट ट्रेनिङ स्किनारियो सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा सोही प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले कार्यक्रम समापन गरेका हुन् ।

इन्टरपोलअन्तर्गतको परियोजना स्कोरपियसद्वारा दक्षिण तथा दक्षिणपूर्व एशियामा कानुनी प्रवद्र्धन क्षमता बढाउनका लागि आतंकवाद नियन्त्रण र कानुन कार्यान्वयनको क्षमता अभिवृद्धिमा सहयोग बढाउने उद्देश्यअन्तर्गत सो प्रशिक्षणको आयोजना गरिएको हो ।

 

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक बस्न्यातले सहभागी १६ देशका ४४ प्रहरी अधिकृतहरु तथा प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण तथा नेपाल प्रहरीकोतर्फबाट मायाको चिनो प्रदान गरे ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक बस्न्यातले दक्षिण एशिया र दक्षिण पूर्वी एशिया क्षेत्रमा हुने आतंकवादका घटना नियन्त्रण र कानुन कार्यान्वयनमा तालिम समयसापेक्ष र सान्दर्भिक रहेको चर्चा गर्दै आगामी दिनमा यस क्षेत्रका राष्ट्रहरुबीचमा आपसी सम्बन्ध र सहयोगका क्षेत्रहरु बढ्ने विश्वास व्यक्त गरे ।

मित्रराष्ट्रहरुसँगको सहकार्यको लागि नेपाल प्रहरी सँधै तयार रहने र आतंकवाद नियन्त्रण तथा अन्तरदेशीय अपराध नियन्त्रणका लागि प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

इन्टरपोल तथा नेपाल प्रहरीबीच रहेका सहकार्य, साझेदारी, समन्वय तथा सहयोगको निरन्तरता तथा प्रगाढताको लागि संस्थालाई धन्यवाद ज्ञापन गर्दै सहभागी प्रहरी अधिकृतहरुलाई प्रशिक्षण पश्चात प्राप्त हुने ज्ञान तथा सीपको समयानुकूल प्रयोगको लागि शुभकामना समेत उनले व्यक्त गरे ।

तालिमले नेपाल, इन्टरपोल र सहभागी राष्ट्रबीचको सम्बन्ध थप प्रगाढ हुने सहभागी प्रशिक्षार्थीहरुले बताएका थिए ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा केन्द्रीय प्रहरी विशेष कार्यदल, कपनमा १२ कात्तिकदेखि सुरू भएको सो प्रशिक्षण कार्यक्रममा अमेरिका, अष्ट्रेलिया, मेक्सिको, फिलिपिन्स, इन्डोनेसिया, क्यानडा, माल्दिभ्स, बेलायत, बंगलादेश, मलेसिया, पाकिस्तान, श्रीलंका, नेदरल्यान्ड, इष्ट टिमोर, इजिप्ट र नेपाल गरी कूल १६ देशका ४४ जना प्रहरी अधिकृतहरु तथा प्रशिक्षक वर्गको सहभागिता रहेको थियो ।