सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

सामाजिकीकरणकी सारथि

वेद राना मगर
2 weeks ago
03/11/2018

सामाजिकीकरणकी सारथि

वेद राना मगर

 

धरानकी ४९ वर्षीया सर्जु थापा देवानले अपांगता भएका बालबालिकासँग आफ्नो दिनचर्या बिताउन थालेको करिब तीन दशक भइसक्यो । समाजमा फरक दृष्टिले हेरिने बौद्धिक अपांगता भएका बालबालिकालाई विशेष शिक्षाका माध्यमले त्यही समाजमा समायोजन गराउन सकिने दह्रो आत्मविश्वासका साथ उनी अझै पनि लागिपरेकी छन् । त्यसैले उनले बौद्धिक अपांगता भएका बालबालिकालाई सामान्य विद्यार्थीसँगै शिक्षा हासिल गर्न सक्ने बनाउन भन्दै २०६८ सालमा धरान उपमहानगरपालिका–१० स्थित चाँदनीचोकमा ‘स्पेसल एजुकेसन सेन्टर’ सञ्चालनमा ल्याएकी छन्, जहाँ अहिले४७ बालबालिका अध्ययनरत छन् ।

विशेष शिक्षा पढ्ने विद्यार्थीलाई सामान्य विद्यालयमा समावेश गराउन उनले जुन अभियान चालेकी छन्, त्यसलाई विशेष मान्न सकिन्छ ।

२०४५÷४६ सालतिर एसएलसीपछि कलेज पढ्दै गर्दा उनी रेयुकाई नेपालमा आबद्ध भइन् । रेयुकाईको पहलमा एक नर्वेजियन संस्थाले धरानमा सुस्त मनस्थिति भएका बालबालिकाको शैक्षिक तथा सामाजिक विकास गराउने उद्देश्यसहित एउटा स्कुल स्थापना ग¥यो, जुन स्कुल अहिले विशेष शिक्षा परिषद्लाई हस्तान्तरण गरिएको छ, सोही स्कुलमा उनले प्रवेश पाइन् स्वयंसेवकका रूपमा । त्यसलाई नै उनी अपांगता भएका बालबालिकाको क्षेत्रमा आफ्नो जीवन समर्पणको पहिलो पाइला ठान्छिन् ।

‘१९ वर्ष हुँदा त्यहाँ गएकी थिएँ तर त्यसभन्दा अघि पनि मलाई सामान्यभन्दा फरक खालका बालबालिकालाई स्याहार्न र पढाउन मन पथ्र्यो, त्यसैले त्यहाँ रहँदा मलाई बेग्लै आनन्द आउँथ्यो,’ उनी सुनाउँछिन्, ‘कामप्रतिको मेरो लगाव देखेरै हुनुपर्छ, नर्वेजियन संस्थाका टिम लिडरले मार्क गर्नुभएको रहेछ, उहाँकै रोजाइमा म शिक्षकका रूपमा छानिएँ ।’ त्यसको केही समयमा नै उनलाई प्रिन्सिपलको जिम्मेवारी दिइयो । १८ वर्षसम्म कुशलतापूर्वक सो जिम्मेवारी निर्वाह गर्ने क्रममा बौद्धिक अपांगता भएका बालबालिकासम्बन्धी बृहत् अध्ययनबाट अनेकन् तथ्य पत्ता लगाएको उनी जनाउँछिन् । ‘त्यतिबेला प्राप्त ज्ञान, सीप र अनुभवलाई अहिले बौद्धिक अपांगता भएका बालबालिकाको शिक्षा र सामाजिकीकरणमा उपयोग गरिरहेकी छु,’ आफ्नो कामबाट सन्तुष्ट देखिएकी उनी खुसी हुँदै भन्छिन् । निरन्तरको लगनशीलताले उनलाई शिक्षकलाई तालिम दिन सक्ने व्यक्तित्वका रूपमा समेत उभ्याइदियो । ‘तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयबाट नेपालको पूर्वी भेगका कैयौं भूभागमा शिक्षक प्रशिक्षक भएर खटिएकी छु,’ उनी विगत सम्झिन्छिन् ।

उमेरगत हिसाबले दुईदेखि १० वर्षसम्मका बालबालिकालाई यो स्कुलले भर्ना लिने गर्छ । फाउन्डर प्रिन्सिपल थापा देवानका अनुसार स्कुलले ‘ए’, ‘बी’ ‘सी’ र ‘डी’ लेभल निर्धारण गरी आफ्नै खाले पाठ्यक्रम तयार पारेको छ

 

 

बौद्धिक अपांगता भएका बालबालिकालाई उनीहरूका बीचमा मात्र सीमित राख्दा सहज सामाजिकीकरण हुन नसक्ने उनको बुझाइ छ । तदनुरूप नै उनले थालेकी हुन्, विशेष बालबालिकालाई सामान्य बालबालिकासँग पढ्ने वातावरण दिलाउने अभियान । तर, उनलाई सुरुमा सोचेजस्तो सहजता प्राप्त भएन, किनकि

‘नर्मल स्कुल’ले त्यस्ता विद्यार्थीलाई भर्ना लिनै मान्दैनथे । त्यसैले, उनले धरान–१० मै रहेको ब्लसम मन्टेसरीमा सेयर हालिन् र ‘सेयर पार्टनर’हरूलाई आफ्नो योजनाबारे

‘कन्भिन्स्ड’ गरिन् । त्यसपछि उनले बौद्धिक अपांगता भएका बालबालिकालाई आफ्नै ‘रिस्क’मा पढाउन थालिन् । नभन्दै विद्यार्थीमा राम्रो प्रगति देखिन थाल्यो । ‘उनीहरूमा देखिएको सफलताबाटै नयाँ स्कुल खोल्ने उत्साह जाग्यो,’ उनले स्पेसल एजुकेसन सेन्टर स्थापना हुनुको खास कारण खोतलिन् ।

उमेरगत हिसाबले दुईदेखि १० वर्षसम्मका बालबालिकालाई सो स्कुलले भर्ना लिने गर्छ । फाउन्डर प्रिन्सिपल थापा देवानका अनुसार उनको स्कुलले‘ए’, ‘बी’ ‘सी’ र ‘डी’ लेभल निर्धारण गरी आफ्नै खाले पाठ्यक्रम तयार पारेको छ ।

‘कुन खालको बौद्धिक अपांगता हो भनी जाँचबुझ गर्न एक साता विद्यालयमा राखिन्छ,’ उनी भन्छिन्, ‘त्यसपछि भर्ना भएका विद्यार्थीलाई तालिम प्राप्त शिक्षकहरूबाट अनेकन् विधि तथा विविध शैक्षिक सामग्रीका माध्यमले सिकाउने गरिन्छ र व्यक्तिगत प्रोफाइल बनाएर उनीहरूमा आएको सुधारलाई रेकर्ड राख्दै लगिन्छ ।’

उनका अनुसार ती व्यक्तिगत प्रोफाइल र उनीहरूबाट प्रदर्शित व्यवहारको गहिरो अध्ययन–विश्लेषण गरेर एकपछि अर्को लेभल पार गराउँँदै यूकेजीसम्मको शिक्षा दिइन्छ र माथिल्लो कक्षाका लागि नर्मल स्कुलमा भर्ना गराइन्छ । अरूले भर्ना लिन नमान्ने भएपछि आफू पनि सेयर हेल्डर बनेर धरानमै अवस्थित जेनिथ स्कुलमा कक्षा १ देखि उनीहरूलाई पढाउने व्यवस्था मिलाएको उनी बताउँछिन् ।

‘नर्मल स्कुलमा अरूसँग पढ्न गाह्रो नहोस् भनेर दुई जना शिक्षक पनि खटाउने गरिएको छ,’ प्रिन्सिपल देवान भन्छिन्,

‘अहिले ११ जना विद्यार्थी त्यहाँ पढ्दै छन्, उनीहरूको सिकाइमा कठिनाइ नहोस् भनेर बिहानबेलुका भने डेबोडर्समा राखेर सहजीकरण पनि गराइन्छ ।’

तीन÷तीन महिनामा अभिभावकको अनिवार्य उपस्थितिमा बैठक राखेर विद्यार्थीको प्रगति विवरण पेस गर्नु सो स्कुलको विशेषता हो । बिहान १० देखि दिउँसो ३ बजेको समयमा सिकाउन गाह्रो भइरहेकालाई डेबोडर्सको समेत व्यवस्था गरिएको उनले प्रस्ट्याइन् । उनको अभिव्यक्तिलाई आधार मानेर भन्ने हो भने पिकनिक लाने, स्विमिङ गराउने, फेसन सो, सार्वजनिक ¥यालीजस्ता गतिविधिमार्फत समाजसँग उनीहरूलाई जोड्ने मात्र होइन, होली आउँदा रङहरूसँग रमाउने, दसैंमा टीकाजमरा परिचित गराउनेजस्ता अवसर दिएर संस्कृतिसँग ‘कनेक्ट’ गराउने कार्यमा पनि सो स्कुलको भूमिका महŒवपूर्ण लाग्दछ ।

स्कुलको प्रचारप्रसार गर्न त्यति रुचि नराख्ने उनी अभिभावकहरूको सन्देश नै आफ्ना लागि काफी भएको धारणा राख्छिन् । अभिभावकहरूबाट खासै असन्तुष्टिका स्वर सुन्नुनपरेकाले उनी आफ्नो कर्मले सार्थकता पाइरहेको अनुभव गर्छिन् । त्यसबाट ठूलो आत्मसन्तुष्टि मिलेको उनी बताउँछिन् । राज्य अनि राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाबाट कुनै सहायता नपाइएकाले विद्यालय सञ्चालनका लागि अभिभावकहरूसँग निश्चित शुल्क लिने गरेको उनको भनाइ छ ।

शिक्षा जगत्मा सबैका लागि शिक्षा भन्ने अवधारणाले व्यापक मान्यता पाइरहेको सन्दर्भमा बौद्धिक अपांगता भएका विद्यार्थीकी आमाजस्तै बनेर समुचित शिक्षा दिई सामाजिक जीवनयापनका निम्ति सक्षम बनाउनमा आफ्नो जीवनको महŒवपूर्ण समय लगानी गर्नुलाई उनको ठूलो देनका रूपमा लिन सकिन्छ ।