सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

पर्यटनमन्त्री अधिकारीको भिसा च्यातिएको अवस्थामा भेटियो

मधुजंग पाण्डे
9 months ago
04/11/2018

काठमाडौ । बेलायत जाने तयारीमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको बेलायती भिसा च्यातिएको अवस्थामा भेटिएको छ ।

आगामी सोमबारदेखि बुधबारसम्म बेलायतको लण्डनमा आयोजना हुने ‘विश्व पर्यटन मेला’ मा नेपालको तर्फवाट सहभागी हुन वेलायत जान लागेका मन्त्री अधिकारीको भिसा लागेको राहदानीको पाना सहित च्यातिएको अवस्थामा भेट्टिएको हो ।

जसका कारण अब उनको पूर्व निर्धारित समयमा लण्डन पुग्ने कार्यक्रम नै अन्योलनमा परेको छ । भिसा लागिसकेको उनको राहदानीको पाना समेत च्यातिएको अवस्थामा भेट्टिनुमा अहिलेसम्म बेलायती दुतावास र काठमाडौको राहदानी संकलन केन्द्र भिएचएफ मध्ये कसको लापर्वाहीका कारण भिसा रद्द भएको हो भन्नेबारे आधिकारीक जानकारी बाहिर आएको छैन ।

शुक्रबार दिउँसो मन्त्री अधिकारीको राहदानी संकलन गर्न काठमाडौंस्थित भिएचएफ कार्यालय पुगेका मन्त्रालयका कर्मचारीलाई सो केन्द्रले च्यातिएको र रातोमसीले क्रस गरेर भिसा थमाएपछि उनको बेलायत भ्रमण नै प्रभावित हुन पुगेको हो ।

बहालवाला मन्त्रीकै भिसा लागेको राहदानी च्यातिएको अवस्थामा भेटेपछि सो बिषयमा यथार्थ बुझ्न पर्यटन मन्त्रालयका कर्मचारीले ललितपुर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले काठमाडौँ स्थित भिसा वितरक केन्द्र भीएचएफ गोलोवलको कार्यालय पुगेर मुचुल्का उतारेको थियो ।

मन्त्रालय स्रोतका अनुसार पर्यटनमन्त्री अधिकारी बाहेक अन्य कर्मचारीले सो कार्यक्रममा जानकालागि गत बिहिबार नै भिसा हात पारेका थिए ।

मन्त्रीको भिसा नआएपछि मन्त्रालयका कर्मचारी शुक्रबार बिहानैदेखि भीएचएफको कार्यालयमा भिसा कुरेर बसेका थिए । गत बिहीबार नै जारि गरिएको मन्त्री अधिकारीको भिसा किन रातोमसीले क्रस गरिएको हो भन्ने अझै प्रष्ट हुन सकेको छैन ।

मन्त्री अधिकारीको निजी सचिवालयले पनि भिसा च्यातीएको र रातो मसीले क्रस गरेको अवस्थामा पाइएको बताएको छ । शनिबार साँझसम्म उनको अर्को भिसा प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका एक अधिकारीले अब यस विषयमा सरकारले छानविन गर्ने बताए । मन्त्री अधिकारी सहभागी हुने सो मेलामा नेपालका तर्फबाट ३१ पर्यटन व्यवसायी समेतले उपस्थिति जनाउने बताईएको छ ।

(Visited 17 times, 1 visits today)
Loading comments...