सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

कमाउने छोरो बाकसमा आएपछि….

ईश्वर तामाङ
2 weeks ago
05/11/2018

उदयपुर। सानो, त्यो पनि बाँसको टाटीले बेरेर माटोको लिउनले भित्र बाहिर नदेखिने गरी मुस्किलले घामपानी र जाडो छल्ने गरी बनाएको दुई कोठे एउटा झुप्रो घर त्रियुगा नगरपालिका–५ श्रीपुरको जंगल नजिक देखिन्छ । त्यही घरभित्रबाट ‘मेरो बाबा आउँछ’ भन्ने तोते आवाज सुनिन्छ, बाहिर दलानमा कहिले नाबालककी आमा त कहिले हजुर आमा मुर्छा पर्दै बिउँझन्छन् ।
कमाउन गएको छोरो १० महिनामा बाकसमा आउँदा कसको मनले थेग्ला । सबैका आशाका केन्द्रबिन्दु ढलेपछि यतिबेला श्रीपुरका सार्कीबहादुर मगरको परिवार शोकमा मात्र छैन, यसपछि गुजारा कसरी चलाउने भन्ने चिन्तामा छ ।
२६ वर्षको लक्का जवान जसले सात समुद्रपारिको भूमिमा प्रचण्ड घामको बेवास्ता गर्दै दुःख गरेर घरमा पैसा पठाउला र बाँडीचुँडी खाउला, अलिक हेर्न हुने भए पनि घर बनाउला, स्वास्थ्य उपचार गरांैला र भाइबहिनी र छोराको शिक्षामा लगानी गरौंला भन्ने सोच बनाएका मगर परिवारको त्यो कल्पना अब सपनामा मात्रै सीमित बनेको छ ।

१० महिनाअघि काठमाडौंको एक म्यानपावरबाट हेल्पर काम गर्न मलेसिया पुगेका रतन मगरको दसंैको टीकाको दिन मृत्युको खबर आएपछि परिवार यतिबेला विक्षिप्त छ । दसैंको टीकाको दिन विदेशमा बसेको छोराले फोन गर्ला भन्ने परिवारले आशा गरिरहेका थिए, त्यो स्वाभाविक पनि थियो । स्वदेशमै हुँदा त चाडबाडको बेला घरमा आउन नसक्दा फोनबाट दुःखसुखका कुरा हुन्छ । झन् विदेशमा रहेकाको नहुने कुरै भएन ।
कति बेला बुढाको फोन आउला र खुसी साटासाट गर्दै सबै कुरा गरौंला भन्ने सोचमा रतनकी २३ वर्षीया श्रीमती मीना थिइन् । त्यसो त उनी मात्र होइन, उनकी ५५ वर्षीया सासू मंगलीमाया मगरको पनि त्यही सोच थियो । टीकाको दिन छोरासँग कुरा गरौंला भन्ने उनको चाहना थियो । उनीसँगै परिवारका अन्य सदस्यको चाहना पनि उही थियो । तर, त्यो चाहना पूरा हुन सकेन ।

 

टीकाको समय सुरु हुँदै गर्दा मीनाको मोबाइलमा टिनिनिनी बजेको घण्टी उनीहरुका लागि बलेको दियो एक्कासि निभे जस्तो भयो । रतनको एक्कासि मृत्युको खबर आउँदा सुरुमा त पत्यार लागेन उनीहरूलाई । तर, नलाग्दा नलाग्दै पनि घरमा कोलाहल मच्चियो, जब पुष्टि भयो, त्यतिबेलासम्म आमा र श्रीमती मुर्छा परिसकेका थिए । ‘तलब लिई नसकेकाले दसंैलगत्तै केही पैसा पठाउँला, अहिले जसोतसो ऋण खोजेर भए पनि टार्दै गर्नू । चाडबाडमा मीठोमसिनो नै खानू, परिवारलाई एकसरो कपडा फेर्दिनू आमा भनेर बिदा मागेको छोरा एक साता बित्न नपाउँदै यस्तो खबर सुन्नुप¥यो,’ गहँभरि आँसु पार्दै आमा मगंलीले भनिन्, ‘कमाउने छोराको यो हालत भयो, अब हामी कसको सहारामा बाँच्नु ।’

त्यसो त मीनाको व्यथा पनि उस्तै छ । आधाभन्दा बढी जीवन व्यतीत गर्न बाँकी रहेकी मीना तीन वर्षीय छोरो काखमा लिँदै भन्छिन्, ‘राम्रोसँग बुबा पनि भन्न नपाई टुहुरो हुनुप¥यो । के गर्नु, यसको भाग्यमा नै बुबा भन्ने नाता यति नै रहेछ । अब यसको पालनपोषण र शिक्षादीक्षा कसले गर्देला र ?’
उनी थप्छिन्, ‘म त जसोतसो बाँचुँला, कहिले खाउँला, कहिले भोकै रात बिताउँला तर यो बच्चालाई कसरी जिउने बनाऊँ ।’
साक्षर मात्र रहेकी मीनासँग न कुनै सिप छ, न शैक्षिक योग्यता । केवल मजदुरी गर्ने बाहेक उनीमा अरू केही उपाय छैन । साहुको ऋण काटेर सबै गरी १ लाख ७० हजार रुपैयाँ खर्च गरेर बिदेसिएको छोरो ऋण तिर्न नपाई ज्यान गुमाएपछि मगर परिवार यतिबेला संकटमा छ ।

बुबा सार्कीबहादुर मगर गालामा हात राख्दै भन्छन्, ‘न छोरो जिउँदो रह्यो, न ऋण नै तिर्न सक्यो । के गरी यतिका ऋण तिर्नु ? छोरो बाचेको भए त बिस्तारै तिथ्र्यो । अब त बोटै मासिएपछि के गरी ऋण तिर्नु ।’
निकै उदासीन मुद्रा देखिएका मगर भन्छन्, ‘सम्पत्तिको नाममा जंगल छेउमा यहीँ झुप्रो रहेको एक कठ्ठा जति ऐलानी बारी छ, त्यो पनि साहुले उठाइदियो भने सुकुम्बासी बन्छौं ।’ आमा मंगलीमाया भन्छिन्, ‘१० महिनामा १ लाख जति पठायो होला, त्यो घर व्यवहार, उपचार, छोराछोरीको पढाइ लेखाइमै सकियो । ऋण त डल्लै छ, कसरी तिर्ने ।’ बुढेसकाल लाग्यो, बुबा आमा केही गर्न सक्नुहुन्न, घरको हेरचाह गर्नू, म कमाएर पठाउँछु, त्यसैले जीवन चलाउला भन्थ्यो । छोराको त्यो भनाइ सम्झँदै रुने गरेकी मंगलीमाया भन्छिन्, ‘बुढेसकालमा दुःख दिन्न भन्थ्यो, आफंै नै ढल्यो, यस्तै रहेछ दुखियालाई ।’
वैदेशिक रोजगारसम्बन्धी केही जानकारी नभएको बताउने मगर परिवार यति बेला सहयोगको अपेक्षा गरिरहेका छन् । बिमा भए नभएको केही जानकारी नभएका मगर परिवार, आशाको केन्द्र त ढले पनि कहीँ कतैबाट सहयोग पाए साना नानीले पढ्न पाउने आशामा छन् ।