सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

देउसी भैलो गीत चलेपछि कलाकारलाई भ्याइनभ्याइ

डब्बु क्षत्री
2 weeks ago
05/11/2018

काठमाडौं। तीज र दसैंजस्तै तिहारका लागि पनि विभिन्न कलाकारले तिहार गीत धमाधम बजारमा ल्याएका छन् । यस्ता पर्व गीतले संस्कृतिलाई जोगाउनुका साथै आम्दानी पनि राम्रो हुने भएकाले कलाकारले चाडपर्वलाई लक्षित गरेर तिहार गीत बजारमा ल्याएका हुन् । यस्ता गीत हिट भएपछि यतिबेला कलाकारलाई तिहार कन्सर्टको भ्याइनभ्याइ छ ।

यस वर्ष सबैभन्दा बढी तिहार गीत बजारमा ल्याउनेमा गायक खुमन अधिकारी पर्छन् । उनले तिहारकै लागि ६ वटा गीत बजारमा ल्याएका छन् । दसैंअघि देखि नै तिहारको गीत रेकर्डमा लागेका खुमनले दसैं लगत्तै पनि तिहारकै गीत रेकर्डिङ र म्युजिक भिडियोमा समय दिनुप¥यो ।

 

‘गीतहरू रिलिज गर्न नभ्याउँदै तिहारको कन्सर्टले छोपी सक्यो, १९ देखि २५ कात्तिकसम्म दिनमा तीन वटासम्म तिहारको कन्सर्ट छ,’ कालिगण्डकी गाउँपालिकामा बाल्यकालमा नाइके बनेर खुबै देउसी खेलेको स्मरण सुनाउँदै खुमनले भने, ‘मेरो गीत तिहारमा बढी हेरिने र सुनिने भएकाले पनि मलाई देउसी भैलोका गीतको बढी प्रस्ताव आउँछ ।’ यसपटक पनि एक दर्जनभन्दा बढी देउसी भैलो गीतको प्रस्ताव आएकोमा ६ वटा मात्र गीत गाउन भ्याएको खुमनले बताए ।

‘फेरी आयो तिहारको रन्को

नाच्ने रहर पुग्ने भो यो मनको…’

यस वर्ष रिलिज भएकामध्ये सबैभन्दा बढी युट्युबमा हेरिएको गीत पनि यही हो । खुमन अधिकारी, सीता थापा, अमृता लुंगेली मगर, मञ्जु गौतम, सविता भुजेललगायतको स्वर र अभिनय रहेको यो गीतलाई रिलिज भएको दुई साता नपुग्दै युट्युबमा आइतबारसम्म ९ लाख १० हजारपटक हेरिइसकेको छ । खुमनकै शब्द, संगीत र स्वर रहेको यो गीतलाई आशिष म्युजिकले ल्याएको हो ।

खुमनकै स्वरमा यो दुई साताभित्र मिली आयौं केटा केटी…, खुमन र लक्ष्मी परियारको स्वरमा बजा भाई बजा मादलै बजा…, खुमन र चन्द्रकला बीसीको स्वरमा आयो हजुर तिहारै गाउन, टीका पुन र खुमनकै स्वरमा अहिलेको साल…जस्ता देउसी भैलो गीत युट्युबमार्फत सार्वजनिक भइसकेका छन् । सबै गीतले राम्रो बजार पाएका छन् । खुमनजस्तै तिहार गीत चर्चामा रहेकै कारण यसपटक पनि गायिकाहरू पूर्णकला बीसी, अमृता लुंगेली मगर, सीता थापालगायतलाई पनि तिहारको कन्सर्टले अहिले भ्याइनभ्याइ छ ।

गायक पशुपति शर्माले पनि तीज र दसैंपछि यो वर्षको तिहारलाई पनि लक्षित गरेर देउसी भैलो गीत ल्याएका छन् । देवी घर्तीसँग उनले यस वर्षको तिहार गीत ल्याएका हुन् । विगतका तिहारमा पनि देउसी भैलो गीत ल्याएका गायक शर्माले यसपटक पनि त्यसैलाई निरन्तरता दिन यो गीत ल्याएका हुन् ।

 

‘तिहारमा देउसी र भैलो

यही त होनी चाडबाडको रमाइलो…’

यो गीत रिलिज भएको एक साता नबित्दै यो गीतलाई पनि युट्युबमा करिब ३ लाखपटक दर्शकले हेरिसकेका छन् । पुतलीबजार स्याङ्जाका गायक शर्माले स्कुले जीवनदेखि नै क्लब गठन गरेर तिहारमा गीत गाउँदै देउसी खेलेको अनुभव सुनाउँदै त्यसलाई निरन्तरता दिन हरेक वर्ष तिहार गीत निकाल्दै आएको बताए ।

‘दर्शकहरूले नै चाडपर्वमा मेरा नयाँनयाँ गीत खोज्ने गर्नुभएकाले पनि हरेक वर्षझैं यलपालि पनि देउसी भैलो गीत ल्याएको हुँ । विगतमा पनि तिहार गीत थुप्रै चर्चामा रहेका र यसपालि नयाँ गीत पनि दर्शकले रुचाइरहेका कारण अहिले तिहार कन्सर्टको भ्याइनभ्याइ छ ।’

चार दिन अघिबाटै तिहार कन्सर्टमा सहभागी भइसकेका पशुपतिले शनिबार गैंडाकोटको तिहार कन्सर्ट र आइतबार चितवनको तिहार कन्सर्टमा देउसी भैलो गीत सुनाए । अब २० र २१ गते काठमाडौं र भक्तपुरमा कन्सर्ट रहेकाले भाइटीकाको अघिल्लो रात मात्र घर (स्याङ्जा) पुग्ने बताए । चाड पर्वका गीतले संस्कृतिको महŒवलाई पनि जोगाउने, दर्शक श्रोतासँग सम्बन्ध अझ प्रगाढ हुने र कन्सर्ट तथा युट्युबबाट आम्दानी पनि राम्रो हुने भएकाले तीज र दसैंपछि तिहारमा पनि नियमित देउसी भैलो गीत ल्याउने गरेको गायक शर्माले प्रस्ट्याए । आफैंले फरकफरक तीज गीत ल्याएका गायक प्रकाश सपुत र गायिका सुनिता दुलालले यो तिहारलाई लक्षित गरेर संयुक्त रूपमा तिहार गीत ल्याएका छन् ।

 

 

‘तिहारै आयो उज्यालो छायो नेपालीको मनमा

देउसिरे खेल्दै आएका हामी हजुरकै आँगनमा…’

सुनिता र प्रकाशको यो गीत रिलिज भएको एक साता नबित्दै युट्युबमा करिब २ लाखपटक दर्शकले हेरिसकेका छन् । तिहार साह्रै मन पर्ने पर्व भए पनि आठ वर्षपछि मात्र तिहार गीत ल्याएकी सुनिताले भनिन्, ‘विगतमा तीजसँगै तिहारसम्म देश विदेशमा हुने कन्सर्टका कारण तिहार गीत ल्याउन सकेकी थिइन्, यसपटक तिहार गीत निकाल्न भनेर दसैंदेखि यताका सबै कन्सर्ट छाडेर यो गीत ल्याएकी हुँ ।’

आफ्नो युट्युब च्यानलबाट यो गीत रिलिज गरेकी सुनिताले तिहार गीत ल्याउँदा आफ्नो चाडपर्वको संरक्षणमा पनि मद्दत पुग्ने, दर्शक श्रोतालाई कोसेली पनि हुने र युट्युबलगायत कन्सर्टमार्फत नयाँ गीतबाट राम्रै आम्दानी हुने बताइन् । लक्ष्मीपूजामा म्याग्दीको बेनीमा तिहारको कन्सर्टमा सहभागी हुने तयारीमा रहेकी सुनिताले अहिले आफ्नो तिहार गीत चर्चामा रहेका कारण यसपटक थुप्रै ठाउँबाट तिहार कन्सर्टको प्रस्ताव आएको बताइन् ।

यो गीत चर्चामा हुँदा सुनितालाई जस्तै प्रकाश सपुतलाई पनि तिहार कन्सर्ट कार्यक्रमको भ्याइनभ्याइ छ । लोक क्षेत्रका यी प्रतिनिधि केही गायक–गायिका मात्र होइन, लोकसँगै आधुनिक र पप विधाका थुप्रै गायक–गायिकाले विगतझैं यसपटकको तिहारलाई पनि लक्षित गरेर देउसी भैलो गीत युट्युबमार्फत दर्शकमाझ ल्याएका छन् । यस्ता गीतले पर्वको रौनक पनि बढ्ने र आम्दानी पनि हुने भएकाले गायक–गायिकाले तिहारमा देउसी भैलो गीत ल्याएका हुन् ।