सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

नेकपा एकता अलमलमा,सांगठनिक र वैचारिक गतिविधि भद्रगोल

सुभाष साह
2 weeks ago
06/11/2018

काठमाडौं।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया अलमलमा पर्दा पार्टीको सांगठनिक तथा वैचारिक गतिविधि थप भद्रगोल बन्दै गएको छ । एकताको जिम्मेवारी पाएका नेताले समयमै काम गर्न नसक्दा एकता प्रक्रिया नै अलमलमा पर्दै गएको छ ।
नेताहरू एकपछि अर्को गरी विदेश भ्रमणमा व्यस्त रहन थालेपछि पार्टी एकता कार्य ओझेलमा पर्दै गएको थियो । पछिल्लो समय नेताहरू जिल्ला तथा गाउँमा दसंै, दीपावली, छठपर्वलगायतका पर्वका अवसरमा आयोजना हुने शुभकामना कार्यक्रममा व्यस्त भएपछि त्यसको असर एकता प्रक्रियामा परेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच ३ जेठमा एकता भएपछि नेकपा गठन भएको हो । पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै शीर्ष नेताले तीन महिनाभित्र सम्पूर्ण कमिटीको एकता टुंगो लगाउने उद्घोष गरेका थिए । तर, साढे पाँच महिना बितिसक्दा पनि एकता प्रक्रिया निक्र्योलमा पुग्न सकेको छैन ।
पार्टी एकताले गति लिन नसक्दा सांगठनिक तथा वैचारिक गतिविधि नै भद्रगोल भएको नेकपाका एक स्थायी कमिटीका सदस्यले बताए । पार्टी एकताका लागि जिम्मेवारी पाएका शीर्ष नेताहरू विदेश भ्रमणका साथै शुभकामना कार्यक्रममा व्यस्त हुँदा एकता प्रक्रिया नै अलमलमा परेको ती नेताको विश्लेषण रहेको छ ।

पछिल्लो समय पार्टी सचिवालयले सातवटै प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको छ । प्रदेश कमिटीको पदाधिकारी चयनसँगै उत्पन्न विवादका कारण पार्टी एकताका कार्य जहाँको त्यहीँ अड्केको ती नेताले बताए ।
हालसम्म सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी मात्रै घोषणा भएको छ । पोलिटब्युरो, प्रदेश कमिटी, जिल्ला कमिटी, क्षेत्रीयसहित स्थानीय तहसम्मका कमिटीका साथै जनवर्गीय संगठनको एकता अझै टुंगो लाग्न सकेको छैन ।
नेकपाले नौ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी कमिटी गठन गरे पनि पोलिटब्युरो गठन गरेको छैन । पार्टीको विधानअनुसार केन्द्रीय कमिटीको एक तिहाइ सदस्य पोलिटब्युरो हुनेछन् । ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेकाले १४७ सदस्यसम्मको पोलिटब्युरो गठन हुनेछ ।

टुंगो लागेका कमिटीमा रहेका नेताले कुनै किसिमको जिम्मेवारी पाएका छैनन् । प्रदेशतर्फ संसदीय दलको नेता, उपनेता, सचेतकलगायतका पदाधिकारीसमेत चयन हुन सकेको छैन ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भई अहिले आराम गर्दै छन् । अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल शुभकामना अदानप्रदान कार्यक्रममा व्यस्त छन् ।
दुई सदस्यीय कार्यदलका सदस्य एवं पार्टी महासचिव विष्णु पौडेलसमेत शुभकामना आदानप्रदान कार्यक्रममै व्यस्त छन् । अर्का सदस्य एवं गृहमन्त्री रामबहादुर थापालाई मन्त्रालयको कामबाट फुर्सद छैन । वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत शुभकामना आदानप्रदान कार्यक्रममै व्यस्त रहँदै आएका छन् ।

अध्यक्ष दाहाल पछिल्लो समय शुभकामना कार्यक्रमका लागि जनकपुर, चितवन, बुटवल हँुदै विराटनगरको कार्यक्रममा व्यस्त छन् । अध्यक्ष दाहालसँगै महासचिव पौडेलसमेत शुभकामना कार्यक्रममै व्यस्त छन् । वरिष्ठ नेता नेपाल बाराको विश्रामपुरमा आयोजित शुभकामना कार्यक्रममा सहभागी भए । गृहजिल्ला रौतहटका कार्यक्रममा सहभागी हुँदै उनी पुनः बाराको कोल्हवीमा आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रममै सहभागी हुने एक नेताले बताए ।
शीर्ष नेतासँगै सचिवालय र स्थायी कमिटीका नेतासमेत यस्तै कार्यक्रममा व्यस्त भएका छन् । पार्टीका एक स्थायी कमिटी सदस्यका अनुसार कोही विदेश भ्रमणमा त कोही शुभकामना कार्यक्रममा व्यस्त भइरहेका कारण पार्टी एकता टुंगो लाग्न अझै महिनौं लाग्न सक्छ ।

नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको सचिवालय तथा स्थायी कमिटी बैठक नबसेसम्म पार्टी एकताको टुंगो लाग्न नसक्ने बताए । ‘पहिला जुन अवस्थामा एकता कार्य थियो, अहिले पनि सोही अवस्थामा रहेको छ,’ खनालले भने । पार्टीका अध्यक्षद्वय ओली र दाहालले पार्टी एकता टुंगो लगाउन चासो नदिएका कारण समयमै काम हुन नसकेको उनले बताए ।
‘पार्टीको सचिवालय तथा स्थायी कमिटी बैठक नभएसम्म एकता कार्य टुंगो लाग्न सक्दैन,’ खनालले भने, ‘अध्यक्षद्वयले समयमै ध्यान दिनुभएन भने दुर्घटना हुन सक्छ, छिट्टै नै सचिवालय र स्थायी कमिटीको बैठक गरेर टुंगो लगाऔं ।’
पार्टीको सचिवालय बैठक बसेर स्थायी कमिटीका लागि एजेन्डा तय गरी बैठकबाट छलफल एवं निर्णय गरेपछि मात्रै एकता टुंगो लागाउन सकिने खनालको भनाइ छ । तर, अध्यक्षद्वय व्यस्त भएकाले बैठकहरू हुन नसकेको भन्दै उनले तत्काल बैठक बोलाउनसमेत माग गरे ।
पछिल्लो समय पार्टी सचिवालयले प्रदेश कमिटीका सदस्य चयन र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँटका लागि दुई सदस्यीय कार्यदल गठन गरेको छ । तर, सो कार्यदल गृहकार्यमै व्यस्त छ ।

 

पार्टी सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको सो कार्यदलले काम गरिरहेको जनाएको छ । तर, कहिलेसम्म आफ्नो जिम्मेवारी पूरा गर्ने भन्ने विषयमा कार्यदल सदस्यभित्रै अन्योल छ ।
कार्यदललाई प्रदेश सदस्यका लागि नयाँ विधि र मापदण्ड तय गर्नसमेत जिम्मेवारी दिइएको छ । योग्यता, क्षमता, अनुभव एवं वरिष्ठताका आधारमा केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँटसमेत गर्न कार्यदललाई भनिएको छ ।
महासचिव पौडेलले दुई सदस्यीय कार्यदलले प्रदेश कमिटीका सदस्य र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट छिट्टै नै गर्नेगरी प्रतिवेदन सचिवालयमा बुझाउने बताए । नयाँ विधि एवं मापदण्डका आधारमा कार्यदलले सदस्य चयन र जिम्मेवारी बाँडफाँट गरेपछि त्यसको अन्तिम टुंगो लगाउने काम पार्टी सचिवालयले गर्ने उनले बताए ।
पार्टी सचिवालयले विधि, प्रक्रिया र पद्धति मिचेर प्रदेश पदाधिकारी चयन गरेको भन्दै वरिष्ठ नेता नेपाल र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले असहमति जनाउँदै आएका छन् ।