सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

विदेश जान निरुत्साहित गर

सम्पादकीय
2 weeks ago
06/11/2018

 

कर्मचारीले वैदेशिक भ्रमणलाई महŒव दिँदा स्वार्थी अवसरवादी जस्ता आरोप लाग्ने गरेको छ । जनताको काम समयमा सम्पन्न नगरेको अभियोग त छ नै पछिल्लो समय बिनासित्तिका वैदेशिक भ्रमणले पनि आमकर्मचारीको साख गिराउन भूमिका खेलेको छ । यस किसिमका जनगुनासो बढे पनि विदेश भ्रमण मोहबाट भने कर्मचारी मुक्त हुन सकेका छैनन् ।

पछिल्ला दुई महिनामा मात्रै ८ सयभन्दा बढी कर्मचारी विदेश भ्रमणमा गएको तथ्य सार्वजनिक भएको छ । गत वर्ष मात्रै ५ हजार बढी कर्मचारी विदेश गएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पछिल्लो दुई महिनामा गरेको अध्ययनले ८ सय कर्मचारीले ६० दिनमा विदेशमा झन्डै १७ सय ३ दिनबराबरको समय बिताएको देखाएको छ । कर्मचारीले त्यत्रो समय विदेशमा बिताउँदा यहाँ पक्कै पनि सेवाप्रवाहमा पनि समस्या परेको हुनुपर्छ । तर, हाम्रा कर्मचारीलाई जनतालाई दिने सेवा प्रवाहको बारेमा खासै मतलव नभएको उनीहरूकै व्यवहारले पुष्टि गरेको छ । विदेश जानुु आफंैमा नराम्रो होइन तर सरकारी कामलाई थाती राखेर अनावश्यक काममा विदेश भ्रमणमा जाँदा भने मारमा सर्वसाधारण नै पर्ने गरेका छन् । नियम त कर्मचारीलाई विदेश भ्रमण गराउनुको उद्देश्य हो केही नयाँ कुरा सिक्ने अवसर सिर्जना गर्नु र विदेशमा सिकेको कुरालाई आफ्नो देशमा लागू गर्नु । कर्मचारी विदेश भ्रमण गएर फर्केपछि उनीहरूको भ्रमणको उपलब्धि के भयो र नेपालले के फाइदा लिन सक्यो ? यसको जवाफ भ्रमण गरेर फर्कने समूहसँग नै छैन ।

कर्मचारीको विदेश भ्रमणको उपलब्धि नदेखेरै हुन सक्छ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पछिल्ला दिनमा विदेश भ्रमणमा केही कडाइसमेत गर्न थालेको छ । कार्यालयले विदेश भ्रमण व्यवस्थापनसम्बन्धी निर्देशिकासमेत जारी गरेको छ तर कर्मचारीले सो निर्देशिकाको उल्लंघन गर्दै विदेश जान छोडेका छैनन् । कतिपय कर्मचारी त बिदामा बसेर गैरसकारी संस्था तथा ठेकेदारको पैसामा विदेशसमेत उड्ने गरेको तीतो यथार्थ हामीसँग छ । कार्यालयले कडाइ गर्न भन्दै जारी गरेको निर्देशिकालाई कर्मचारीले कागजी खोस्टो बनाइदिएका छन् । अब प्रधानमन्त्री कार्यालय यस विषयमा गम्भीर बन्नैपर्छ त्यसरी निर्देशिकालाई उल्लंघन गर्दै विदेश गएर फर्केका कर्मचारीको खोजतलास गरी कारबाही प्रक्रिया थाल्नुपर्छ ।

प्रधानमन्त्री कार्यालयले विदेश गएका कर्मचारीको अध्ययन गरी रेकर्ड राख्ने काम गरे पनि उनीहरूको भ्रमणको औचित्य र उपलब्धि पनि माग्न सक्नुपर्छ । औचित्य र उपलब्धिबिना नै विदेश जान खोज्नेहरूलाई अब पूर्ण रूपमा निरुत्साहन गर्नुपर्छ । कर्मचारीले पनि अब आफ्नो हित र स्वार्थलाई मात्रै नहेरी मुलुक र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर आफ्नो कार्यशैलीमा सुधार गर्दै अघि बढ्नुपर्छ ।