सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

सार्वजनिक बिदा बहस

हरिबहादुर थापा
2 weeks ago
06/11/2018

सार्वजनिक बिदा बहस

हरिबहादुर थापा

 

नेपाललाई बढी सार्वजनिक बिदा हुने देशका रूपमा आलोचना हुने गरेको थियो । विशेष गरिकन २०६२÷०६३ सालको राजनीतिक परिवर्तनले मुलुकलाई हिन्दू अधिराज्यवाट धर्मनिरपेक्ष राज्यका रूपमा परिवर्तन गरिएको एवं समावेशी शासन प्रणालीलाई आत्मसात् गर्ने अवधारणाअनुसार विभिन्न क्षेत्र, धर्म तथा सम्प्रदायले मनाउँदै आएका विभिन्न चाडपर्व तथा धार्मिक परम्पराअनुसारका दिनहरू पनि सार्वजनिक बिदा दिने प्रचलन सुरु भएको थियो । त्यसभन्दा अघिका सार्वजनिक बिदामा हिन्दू धर्म संस्कृतिको बढी प्रभाव परेको अनुभव गरिएको थियो ।

सार्वजनिक बिदालाई साप्ताहिक शनिबार बिदा, चाडपर्व बिदा, जात्रा बिदा, उत्सव बिदा तथा विभिन्न जयन्तीका रूपमा वर्गीकरण गरिएको हुन्छ । यसका अलावा सार्वजनिक जीवनलाई प्रभाव पार्ने तथा राष्ट्रिय महŒवका विशेष अवसरमा समेत सार्वजनिक बिदा दिने गरिएको छ । सरकारबाट घोषित सार्वजनिक बिदाले सार्वजनिक निकाय, सरकारी कार्यालय तथा शिक्षण संस्थाहरूका लागि लागू हुन भए पनि अन्य धेरै गैरसरकारी तथा संगठित संस्थाहरूले समेत यसैलाई मार्गदर्शनका रूपमा लिने भएकाले सार्वजनिक बिदाको प्रभाव र असर व्यापक रहेको हुन्छ । नेपालमा साप्ताहिक सार्वजनिक बिदाको रूपमा हरेक हप्ताको शनिबार बिदा दिने गरिएको छ । शुक्रबार सरकारी कार्यालय अन्य दिनभन्दा २ घण्टा तथा जाडो अवधि कार्तिक १६ गतेदेखि माघ १५ सम्म १ घण्टा चाँडै बिदा हुने गरेको छ ।

२०५६÷५७ साल ताका केही महिना परीक्षणका रूपमा काठमाडौं उपत्यकाभित्रका सरकारी कार्यालय साप्ताहिक २ दिन अर्थात् सोमबारदेखि शुक्रबारसम्म १० बजे देखि ५ बजेसम्म तथा जाडो अवधिमा १ घण्टा पहिला बिदा हुने व्यवस्था गरिएको थियो । हप्ताको कुल ४० कार्यघण्टा हुने गरी कार्यालय समय तय गरिएकोमा यसको अपेक्षा गरेअनुसार प्रभावकारी हुन नसकेको भनी यसलाई निरन्तरता तथा व्यापकता गरिएन । अझै पनि केही गैरसरकारी संस्था तथा विदेशी कूटनीतिक निकाय तथा अन्य संस्थाले नेपालमै पनि साप्ताहिक ४० घण्टा कार्य समय हुनेगरी साप्ताहिक रूपमा शनिबार र आइतबार दुई दिन बिदा दिने गरेका छन् । यसबाहेकका अन्य सार्वजनिक बिदाहरूको हकमा भने सार्वजनिक निकाय र निजी प्रतिष्ठानबीच खास तादम्यता देखिँदैन ।

सरकारी एवं सार्वजनिक संस्थाका अलावा कुनै पनि संगठित संस्थाले सार्वजनिक बिदा किटानी गर्नका लागि आआफ्नै मापदण्डहरू तय गरेको हुन सक्दछ । यसमा विश्वव्यापी आममान्यता, अन्तर्राष्ट्रिय श्रम संगठनजस्ता निकायले बाध्यकारी बनाएका मापदण्ड, स्थानीय सांस्कृतिक परम्परा, सामाजिक अवस्था, कामदार तथा कर्मचारीको हित एवं उत्पादकत्वजस्ता आधारमा सार्वजनिक बिदाहरू किटान गर्न सकिन्छ । विगतमा हिउँदको जाडोमा उपत्यकामा मिन पचासका नाममा विद्यालय बिदा हुने, कृषिमा आधारित जीविकोपार्जन भएका पहाडी क्षेत्रहरूमा खेतीपातीको सिजन असार साउनमा विद्यालय बन्द हुने, हिमाली क्षेत्रहरूमा जाडो महिनामा विद्यालय बिदा हुने तथा तल्लो क्षेत्रमा सारेर पढाइ हुने प्रचलन अध्यावधि कायमै छ । शैक्षिक पात्रोका आधारमा शैक्षिक संस्था चल्ने भएकाले अन्य निकायहरू र शैक्षिक संस्थाबीचको सार्वजनिक बिदामा एकरूपता पाउन सकिँदैन । परिवारको स्वरूप र आकारमा बदलिँदै गएको र दुवै अभिभावक रोजगारीमा रहने संस्कृति बढ्दै गएको अहिलेको अवस्थामा शैक्षिक संस्थाले दिने बिदा र अन्य निकायले दिने बिदामा समानता ल्याउनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जिना हुँदै गएको महसुस भएको छ । बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक समाज रहे पनि आपसी समन्वय, सद्भाव र सहिष्णुता हाम्रा अमूल्य सम्पदाको रूपमा रहेका छन् ।

 

 

हाम्रो अभ्यास र अनुभवका आधारमा समेत दसैं तिहारलगायतका पर्वहरूमा हुने बिदामा मानिसहरूले केवल सांस्कृतिक अवसरका रूपमा मात्र नलिई यसलाई पारिवारिक भेटघाट, घुमफिर, किनमेल तथा आराम गर्ने अवसरका रूपमा समेत लिने संस्कृतिमा वृद्धि हु“दै आएको छ

 

 

 

धार्मिक हिसाबले अधिकांश जनताको प्रमुख चाडबाडका रूपमा दसैं र तिहारलाई आमरूपमा मनाइँदै आएको हो । तराई क्षेत्रमा मनाइने छठ, ईदजस्ता पर्वहरू अब केवल क्षेत्रीय रूपमा तराइका मात्र पर्व रहेनन् । जनसंख्याको वितरण र बसाइँसराइ अनि दैनिक जीवनयापनका कारणले पनि यस्ता पर्वहरू मुलुकका अन्य भागमा अनि उपत्यकामा पनि रौनक थप्न थालेका छन् । डिसेम्बर अन्तिम सातामा मनाइने क्रिसमसले घरघरमा चर्चा पाउन थालेको छ । बुद्धपूर्णिमा केवल बौद्ध धर्मालम्बीको चासोको विषय होइन । आमनेपालीले यसलाई राष्ट्रिय गौरवका रूपमा मनाउँदै र आत्मसात् गर्दै आएका छन् ।

उपत्यकामा नेवार समुदायबाट मनाइने जात्रा तथा पर्वहरूमा राष्ट्रप्रमुखकै सहभागिता हुने तथा आम उपत्यकावासीले पर्वका रूपमा यसलाई साथ दिने परम्परा बढ्दै गएको छ । यसर्थ, चाडबाड र रीतिरिवाजलाई हामीले आमरूपमा स्वीकार, सम्मान र निरन्तरता दिँदै आएका छौं । यस्ता चाडबाड र पर्वसँग जोडिएर आउने सार्वजनिक बिदालाई कुनै एक धर्म, संस्कृति वा सम्प्रदायमा सिमित गर्न कठिन हुँदै गएको छ । भावनात्मक रूपमा नेपालभित्र मनाइने सबै पर्व, जात्रा, चाडबाडलाई आमनेपालीका साझा उत्सवका रूपमा लिने अभिप्रायका साथ नै विगतमा सबैखाले यस्ता अवसरमा सार्वजनिक बिदा दिँदै आएको भए पनि यस वर्षबाट धेरै यस्ता सार्वजनिक बिदा कटौतीमा परेको तथा सम्बन्धित समुदायमा सीमित गरिएको थियो । यसले सार्वजनिक कार्यालय खुल्ने दिनहरू केही बढेको छ ।

 

साप्ताहिक ४० घण्टा कार्य समय हुने गरी साप्ताहिक दुई दिन बिदा दिने कि भन्ने विषयमा बारम्बार बहस चलिरहेकै छ । साप्ताहिक एक दिन बिदा थप गर्दा वार्षिक ५२ दिन बिदा थप हुन जान्छ । यसको विकल्पमा बहुआयामिक लाभ विश्लेषण गरी एकैपटक वार्षिक पा“च साता बिदा दिएर दैनिक कार्यालय समय केही बढाउनु उपयुक्त हुन्छ

 

 

तर, दसैंतिहार जस्ता चाडबाडमा दिने बिदा कटौतीसम्बन्धमा केही विषय पुनरावलोकन तथा पुनर्संरचना गरिनु सान्दर्भिक देखिन आएको छ । दसैं तिहारलाई केवल हिन्दू धर्मालम्बीहरूको सांस्कृतिक पर्वका रूपमा मात्र नलिई यसलाई सामाजिक, आर्थिक तथा व्यावहारिक हिसाबले आमनेपालीले उपयोग गर्दै आएको यथार्थलाई हामीले मनन गरिनुपर्दछ । सांस्कृतिक हिसाबले पनि दसैंतिहार मुलुकको ठूलो हिस्सामा रहेका जनसमुदायले स्वयं संलग्न रही लामो अवधिसम्म मनाउने परम्परा रहेकाले सार्वजनिक बिदा नहुँदा पनि सम्बन्धित मानिसले व्यक्तिगत रूपमा यस्ता चाडबाडमा बिदा लिएर जाने एवं ठूलो समूहका सेवाग्राही जनतासमेत चाडबाड मनाउने मनस्थितिमा रहेकाले सार्वजनिक निकायमा सेवाग्राहीको चाप स्वतः रूपमा घटने स्वभाविक हो । दसैंको घटस्थापनादेखि फूलपातीसम्म अनि दसैं बिदा र छठ तथा तिहार बिदाको बीचमा कार्यालय खुल्ने दिनमा पनि सार्वजनिक निकायमा कर्मचारीको उपस्थिति एकदम कम रहने, सेवाग्राहीहरू न्यून आउने तथा प्रभावकारी रूपमा सेवाप्रवाह नहुनेजस्ता अनुभव हामी सबैले बेहोरेका छौं । कामदार तथा कर्मचारीलाई धेरै बिदा दिँदैमा काम तथा सेवाप्रवाहमा प्रतिकूल प्रभाव पर्ने तथा कार्यालय खुल्ने दिनको संख्या बढाउँदैमा सेवाप्रवाह प्रभावकारी हुन्छ नै भन्ने मान्यतालाई अनुसन्धानबाट स्थापित गर्न सकिएको अवस्था छैन ।

तसर्थ, वर्षभरिमा कार्यालय खुलेका दिन र प्रभावकारी सेवाप्रवाह भएको दिन अनि सार्वजनिक स्रोतसाधनको अधिकतम सदुपयोग भई आमनागरिकले पाएको सेवाको गुणस्तर मापन गरिनु पनि सान्दर्भिक हुन्छ । हाम्रो अभ्यास र अनुभवका आधारमा समेत दसैंतिहारलगायतका पर्वहरूमा हुने बिदामा मानिसहरूले केवल सांस्कृतिक अवसरका रूपमा मात्र नलिई यसलाई पारिवारिक भेटघाट, घुमफिर, किनमेल तथा आराम गर्ने अवसरका रूपमा समेत लिने संस्कृतिमा वृद्धि हुँदै आएकाले यसले मुलुकको आर्थिक क्रियाकलाप, पर्यटन प्रर्वद्धन तथा सामाजिक सद्भाव विकासमा सकारात्मक प्रभाव पार्ने र व्यक्तिगत क्षमता विकास तथा उत्पादकत्वसमेत विकास गर्ने काममा लगानी गरेको देखिन्छ ।

हरेक वर्ष देखिँदै आएको र भोग्दै आएको यथार्तलाई मनन् गर्दा घटस्थापना पछिदेखि छठसम्म नै सार्वजनिक निकाय तथा शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने प्रचलनको बारेमा बहस हु्नु सान्दर्भिक देखिन्छ । विद्युत्, खानेपानी, स्वास्थ्यसेवाजस्ता अत्यावश्यक क्षेत्रमा वैकल्पिक व्यवस्था गरी यस्ता कार्यमा संलग्न कर्मचारीलाई थप प्रोत्साहन प्रदान गर्न सकिन्छ । झट्ट हेर्दा वर्षमा यति लामो लगातार सार्वजनिक बिदा दिइनु नराम्रो र अनुपयुक्तजस्तो लागे पनि यसका बहुआयामिक र दीर्घकालीन फाइदा छन । अहिले दसैं, तिहार र छठ गरि अलगअलग बिदा दिँदा पनि कार्यालय खुल्ने दिनमा सार्वजनिक निकायमा कर्मचारीको प्रभावकारी उपस्थिति प्रत्याभुत गर्न कठिन रहेको, चाडबाडको रौनकमा रमाएका हुनाले सेवाग्राहीको चाप पनि नहुने अनि कार्यालय खुल्दा पनि सार्वजनिक स्रोतसाधनको चाहीँ खपत भइरहने हुनाले आर्थिक रूपमा पनि यो अवधि उपलब्धिमूलक हुन सकेको छैन । असोज कार्तिक महिनामा एकैपटक महिना दिन बिदा दिन सकियो भने चाडपर्वका रूपमा मात्र होइन कि पारिवारिक रूपमा आन्तरिक पर्यटन प्रर्वद्धन गर्नसमेत सघाउ पुग्ने देखिन्छ ।

कृषि बाली भिœयाउने तथा तरकारी रोप्ने यो मौसममा लामो बिदा पाइने निश्चित हो भने कृषिप्रधान हाम्रो मुलुकमा जनशक्तिको अभावमा बाँझो रहन गएका ग्रामीण क्षेत्रका खेतबारीमासमेत खेती प्रणाली प्रर्वद्धन गर्न सघाउ पुग्ने देखिन्छ । सहरका विद्यालयमा अध्ययन गरेर ग्रामीण प्रणालीसँग विच्छेद हुन पुगेका नयाँ पुस्तालाई समेत लामो बिदामा ग्रामीण परिवेश, जनजीवन तथा परम्परागत प्रणालीसँग सिधै परिचित गराउन सकिन्छ । यसले गर्दा नयाँ पुस्तालाई मातृभूमि प्रेम, उत्पादन प्रणाली तथा पुरानो पुस्ताको महŒव दिलाउन सकिन्छ । प्रतिष्ठित संस्था तथा विदेशी मुलुकमा समेत कर्मचारीलाई स्फूर्ति बनाई ऊर्जावान बनाउन, उनीहरूलाई प्रोत्साहित गरी उत्पादकत्व वृद्धि गर्न वार्षिक रूपमा लामो बिदा दिने प्रचलन रहेको पाइन्छ । कति दिन कार्यालय खुल्छ भनेर गणना गरिनुभन्दा कार्यालय खुलेका दिनमा कति प्रभावकारी रूपमा कार्यसम्पादन, सेवाप्रवाह तथा स्रोतसाधनको अधिकतम उपयोग हुन्छ भन्ने विषय महŒवपूर्ण हो । साप्ताहिक ४० घण्टा कार्य समय हुने गरी साप्ताहिक दुई दिन बिदा दिने कि भन्ने विषयमा बारम्बार बहस चलिरहेकै छ । साप्ताहिक एक दिन बिदा थप गर्दा वार्षिक ५२ दिन बिदा थप हुन जान्छ । यसको विकल्पमा बहुआयामिक लाभ विश्लेषण गरी एकैपटक वार्षिक पाँच हप्ता बिदा दिएर दैनिक कार्यालय समय केही बढाउनु उपयुक्त हुन्छ ।