बुधवार ९ माघ, २०७५ (Wednesday, 23rd January 2019)
९ माघ, २०७५ (23 January 2019)

गायक दुलालको काग सम्मेलनमा तीन सय काग भेला

डब्बु क्षत्री
3 months ago
06/11/2018

काठमाडौं। काग तिहारको दिन सोमबार बिहान ६ बजे नै गायक रमेश दुलाल रत्नपार्क पुगेका थिए । उनी त्यहाँ पुग्दा आसपासमा एउटा काग पनि थिएन । त्यहाँ भेला भएका सञ्चारकर्मी र दर्शकलाई शान्त रहन अनुरोध गर्दै उनले कागले बिलौना गरेको आवाज निकाल्दै गए । केही क्षणमा आकाशमा काग मडारिन थाले ।

 


कागले जस्तोजस्तो आवाज निकाल्यो । उनले पनि त्यस्तै थरीको आवाज निकाल्दै गए । केही क्षणमा रत्नपार्कमा ३ सयभन्दा बढी काग आए । त्यहाँ कागको कोलाहल नै मच्चियो । केही काग उनको छेउछाउसम्म आए ।
धेरै काग देखेर मानिसहरू होहल्लासहित ताली बजाउन पछि परेनन् । तर, काग रिसाउँछन् र भाग्छन् भन्दै उनले त्यसो नगर्न अनुरोध गरे । आसपासका रूख र भुइँमा रहेका कागसँग रमेशले केही क्षण कागकै भाषा निकालेर दोहोरी खेले । काग जसरी कराउँथ्यो, उनी पनि त्यसरी नै कराए । अन्त्यमा उनले कागको केही फरक र नियमित कागले कराउने आवाज निकालेपछि त्यहाँबाट विस्तारै सबै काग बिदा भए ।

अरू दिन लोक तथा आधुनिक गीत गाउने रमेशले काग तिहारका दिन बिहान कागसँग उनीहरूकै भाषामा जुवारी खेल्दाको दृश्य धेरैलाई अनौठो लगेको थियो ।
गायक रमेश दुलालको यो १५औं काग सम्मेलनको दृश्य हो । उनले पछिल्लो एक दशक यताबाट तिहारमा काग सम्मेलन गर्दै आएका छन् । यसपटक पन्छीप्रेमी, सञ्चारकर्मी र केही अतिथिलाई बोलाएर उनले काग तिहारको अवसरमा रत्नपार्कमा काग सम्मेलन गरेका हुन् ।

 


कागको आवाज निकालेर कराउँदा केही क्षणमै यति धेरै काग कसरी आए भन्ने जिज्ञासामा गायक रमेशले सञ्चारकर्मीसँग भने, ‘कागहरूको खुसी साट्ने, दुःख साट्ने, आपत्बिपद् पर्दा बोलाउने जस्ता विभिन्न प्रकारका आवाज हुन्छन् । आपत् पर्दा एउटा कागले अरू कागलाई बोलाउने आवाज निकालेर मैले कराएपछि एकाएक यति धेरै काग यहाँ आएका हुन् ।’ आफूले लामो समयदेखि कागको अनुसन्धान गरेर उनीहरूले विभिन्न समयमा निकाल्ने आवाज निकाल्न जानेपछि काग सम्मेलन गर्न थालेको दुलालले प्रस्ट्याए ।

सिंहदरबारदेखि काठमाडौंका विदेशी राजदूतावाससमेत घेर्नेगरी कागलाई बोलाएर सम्मेलन गरेका गायक दुलालले काग तिहारको अवसरमा एक दशक यताबाट नियमति काग सम्मेलन गर्दै आएको बताए । यसरी उनले एकसाथ करिब ३ सय काग बोलाएर यसपटकको काग तिहार तथा काग सम्मेलन सम्पन्न गरे ।
कार्यक्रममा बोल्दै गायक दुलालले कागको महŒवबारे जानकारी गराए । सन्देश ल्याउने पन्छीका रूपमा काग निकै चलाख सँगै धूर्त हुने गरेको पनि
दुलालले प्रस्ट्याए । नेपाल संगीतकर्मी संघका अध्यक्ष राजेन्द्रकुमार कार्की, सामाजिक सरसफाइ अभियन्ता ग्रिनसिटी अस्पतालका निर्देशक एलबी टन्डनले पनि दुलालको यो कलाको प्रशंसा गर्दै काग फोहोर सफा गर्ने महŒवपूर्ण पन्छी
भएको बताए ।

(Visited 6 times, 1 visits today)