सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

युथ एथलिट्स कोचिङ क्याम्प सम्पन्न

राजधानी समाचारदाता
2 weeks ago
06/11/2018

 

काठमाडौं। जुनियर खेलाडीमा रहेको प्रतिभालाई स्तरवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)द्वारा सञ्चालित युथ एथलिट्स कोचिङ क्याम्प सोमबार सम्पन्न भएको छ । क्याम्पमा २०७२, २०७३ र २०७४ सालमा राखेपले आयोजना गरेको केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको व्यक्तिगत स्पर्धामा पहिलो भएका ७२ खेलाडी सहभागी थिए । तेक्वान्दो, कराते, उसु र एथलेटिक्सको आआफ्नो स्पर्धामा पहिलो भएका खेलाडीलाई सम्बन्धित खेलका प्रशिक्षकले १० दिनसम्म उपत्यकामा प्रशिक्षण दिएका थिए ।

कराते खेलाडीलाई गंगाराम महर्जन र कुशल श्रेष्ठ, तेक्वान्दोलाई नवीनकुमार श्रेष्ठ र हीरा थापा, एथलेटिक्सलाई चन्द्र गुरुङ, धनिराम चौधरी, राकेश बज्राचार्य र पद्मा चौधरी तथा उसुलाई गोपाल श्रेष्ठ र प्रकाश महर्जनले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा सहभागी चारै खेलका एकएक पुरुष÷महिला उत्कृष्ट खेलाडी छनोट गरी समापनकै अवसरमा नगदबाट पुरस्कृत गरिएको थियो । करातेको पुरुषमा अनिश लामा र महिलामा विमला नेपाली तथा उसुको पुरुषमा प्रवीण लामा र महिलामा अस्मिता श्रेष्ठ उत्कृष्ट चुनिए । त्यस्तै, तेक्वान्दोको पुरुषमा शैलेश गिरी र महिलामा आयशा लामा तथा एथलेटिक्सको पुरुषमा विकास खाँड ठकुरी र महिलामा जयरानी थारु उत्कृष्ट घोषित भए । उत्कृष्ट सबैले जनही ३ हजार नगद पुरस्कार प्राप्त गरे । सहभागीलाई राखेपका कोषाध्यक्ष शैलेश कर्माचार्य, सानका निर्देशक नवीन उप्रेती, राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकलगायतले एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरे ।