सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

उपाधिका लागि पोखरा र चितवन भिड्दै

दिल तामाङ/विजय नेपाल
2 weeks ago
06/11/2018

 

पोखरा । घरेलु क्रिकेटमा सर्वाधिक धनराशिको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल मंगलबार हुँदै छ ।

पर्यटकीय नगरी पोखरामा गत ९ कात्तिकबाट सुरु भएको प्रतियोगिताको उपाधिका लागि मंगलबार घरेलु टोली पोखरा पल्टनले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजसँग प्रतिस्पर्धा गर्दै छ । खेल पोखरा क्रिकेट मैदानमा बिहान ११ बजेपछि हुनेछ । पोखरा लिगको शीर्ष स्थानमा रहँदै प्रतियोगितामा सिधै फाइनल प्रवेश गर्दा चितवनले इलिमेटरमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले पोखरा सराङकोटमा प्री–म्याच पत्रकार सम्मेलनको आयोजना गरेको थियो । चितवन राइनोजका कप्तान पारस खड्काले राम्रा दुई टोली फाइनलमा पुगेकाले राम्रो क्रिकेट खेल्दै उपाधि चितवनले जित्ने दाबी गरे । ‘दुई राम्रो टोली फाइनल प्रवेश गरेको छ । फाइनलका लागि खुसी र उत्साहित छु । खेलरोमाञ्चक हुनेछ,’ प्री–म्याच पत्रकार सम्मेलनमा कप्तान पारसले भने, ‘सुरुवाती दुई खेल गुमाए पनि टिम गेम खेल्दै हामीले पछिल्लो चार खेलमा जित हात पारेका छौं । खेलाडी र टिमको मनोवल उच्च रहेको छ ।’

उनले शरदसँगै पछिल्ला दुई ठूला फ्रेन्चाइज क्रिकेट प्रतियोगिता डीपीएल र ईपीएलमा फाइनल खेल्नु संयोग मात्रै रहेको बताए । कप्तान खड्काले फुटबल र भलिबलको क्रेज रहेको पोखरामा क्रिकेट छिरेको बताए । ‘पीपीएलको पहिलो संस्करणले जुन खालको सकारात्मक प्रतिक्रिया पाएको छ । यो नेपाली क्रिकेटका लागि खुसीको कुरा हो । पीपीएलले पहिलो संस्करणबाटै नयाँ ठाउँ पोखरामा क्रिकेटको माध्यमबाट छुट्टै खालको पहिचान बनाउन सफल भइसकेको छ,’ कप्तान खड्काले भने, ‘तीन महिनाको दौरानमा यति राम्रो पिच बनेको छ । यसलाई संरक्षण गर्न चुनौती छ ।’

पोखरा पल्टनका कप्तान शरद भेषवाकरले फाइनलका लागि तयार रहेको बताए । ‘हामी फाइनलका लागि तयार छौं । उपाधि जित्नका लागि नै आएका हौं । अब एक जित मात्रै टाढा छ,’ कप्तान शरदले भने, ‘टिम लक्की छ । घरेलु दर्शकको साथमा घरेलु टोलीबाट खेल्न पाएका छौं । यसले हामीलाई थप ऊर्जा प्रदान गरेको छ । उपाधि घरमै राख्न चाहन्छौं ।’

उनले खेलमा केही भन्न नसकिने बताउँदै अहिल्यै नतिजाको बारेमा सोच्नुभन्दा पनि खेललाई आफ्नो नियन्त्रणमा लिन सके सकारात्मक नतिजा अपेक्षा गर्न सकिने बताए ।

कप्तान शरदले भने, ‘टिम वातारण राम्रो रहेको छ । यही कारणले पनि छोटो समयमा पनि टिमले राम्रो क्रिकेट खेलिरहेको छ ।’ ९ असोजबाट सुरु भएको प्रतियोगितामा विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टिमले पीपीएलमा राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गरेका थिए । अन्य फ्रेन्चाइजमा भन्दा यसपटक केही फरक गरिएको थियो । लिगको शीर्षस्थानमा रहने टिमले सिधै फाइनलमा स्थान बनाउँदा दोस्रो र तेस्रो हुने टिमले फाइनल प्रवेशका लागि इलिमेटर खेल खेलेका थिए ।

प्रतियोगितमा पोखरा पल्टन, चितवन राइनोज, हुलास काठमाडौं रोयल्स्, बुटवल ब्लास्टर्स, एक्सपर्ट धनगढी ब्लुज र विराटनगर टाइटन्सले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताका विजेताले २७ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले भीजी अटोमोबाइलको सुजुकी जिक्सर मोटरसाइकल प्राप्त गर्नेछ ।