सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

दिल्लीको वातावरण मापदण्डभन्दा बढी प्रदुषित

एजेन्सी
2 weeks ago
06/11/2018

नयाँ दिल्ली । भारतको नयाँदिल्लीमा विश्व स्वास्थ्य सङ्गठनले तोकेभन्दा प्रदूषणको स्तर २० गुणा बढेपछि अधिकारीहरूले स्थानीयवासीलाई सकेसम्म केही दिन घरभित्रै रहन र प्रदूषणका स्रोत मानिने गतिविधिलाई कम गर्न सहयोगी भूमिका खेल्न आग्रह गरेका छन् ।

दीपावलीअघि नै सहरमा बाक्लो तुवाँलोले ढाकिएपछि त्यहाँका बासिन्दामा त्रास फैलिएको छ । दीपावली मनाउँदा पटाका पड्काइने भएकाले वायुको गुणस्तर झनै खस्किने ठानिएको भन्दै विज्ञहरूले पूर्वचेतावनी दिएका छन् । प्रदूषण कम गर्न शहरभित्र भइरहेका निमार्ण कार्यलाई नियन्त्रण गरिएको छ । सबै विद्यालयमा तीन दिन बिदा दिइएको छ ।

भारतको सर्वोच्च अदालतले दुई घण्टा मात्र पटाका पड्काउन आदेश दिएको छ । तर धार्मिक आस्थाका कारण हुने गतिविधिमा त्यस प्रतिबन्ध लागू गर्न निकै कठिन हुने उनीहरूको विश्वास छ । भारतीयहरूले दीपावलीलाई ‘असत्यमाथि सत्यको विजय’ हुने सङ्केतका रूपमा मनाउने गर्छन् ।

विश्व स्वास्थ्य सङ्गठनले १४ भारतीय शहरलाई अतिप्रदूषित सूचीमा राखेको छ । दिल्ली विश्वकै अतिप्रदूषित स्थानमध्ये छैटौँ स्थानमा पर्छ । भारतीय शहरहरूमा पछिल्ला केही वर्ष यता वायु प्रदूषणको मात्रा निकै बढेको बताइने गरेको छ ।

भारतीय राजधानी दिल्लीमा छिमेकी राज्यहरू पञ्जाब तथा हरियाणाका किसानहरूले जमिनको उर्बराशक्ति बढ्ने विश्वासका साथ खेत सफा गर्ने क्रममा हरेक वर्ष नोभेम्बर तथा डिसेम्बरमा वायुको गुणस्तर खस्कने गरेको भारतीय अधिकारीहरूको बुझाई छ ।

राजधानी दिल्लीमा बढेको प्रदूषणमा कमी गर्न भारत सरकारले पटक पटक नियन्त्रणका योजना सार्वजनिक गरे पनि सवारी साधनको अत्याधिक चाप र अव्यवस्थित शहरीकरणका साथै औद्योगिकीकरणले यस कार्यमा चुनौती दिने गरेको छ ।

प्रदूषण कमी गर्न र प्रदूषणमुक्त समाज निर्माणका लागि सरकार, स्थानीय संघसंस्था, नागरिकहरूले जनचेतना सिर्जना गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् ।