सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

शुभ रहोस् तिहार

सम्पादकीय
2 weeks ago
07/11/2018

 

नेपालीहरूको दोस्रो ठूलो चाड सुरु भएको छ । तिहारलाई विशेष त दिदीभाइको पर्वका रूपमा व्याख्या गरिन्छ । तिहारमा लक्ष्मीको पूजा गर्नुका साथै घर, अफिस चिटिक्क बनाएर सिँगार्ने परम्परा छ । मखमली, सयपत्री, गोदावरीलगायत विभिन्न फूलका माला उनेर लगाइदिने परम्परा छ । यही तिहारमा काग, कुकुर, गाई र गोरुको पनि पूजा गर्ने परम्परा भएकाले पर्वकै बहानामा भए पनि मानव र पशुपन्छीबीच पनि सम्बन्ध सुमधुर हुन्छ । तिहारमै गाउँदेखि सहरसम्म देउसी–भैलोजस्ता परम्परागत शैलीका नाचगान गर्ने परम्परा पनि छ । पछिल्लो समय प्रविधिको उपयोग गर्दै आफ्ना गीत, संगीत र नृत्य युट्युबमार्फत सार्वजनिक गर्ने गरेका छन् ।

यो यामको कारण पनि हुन सक्छ, तिहारको मौसम विशेष लोभलाग्दो हुन्छ । घरवरिपरि फुलेका फूल मात्रै होइन यो मौसमी वातावरण पनि उत्तिकै घमाइलो अनि रमाइलो हुन्छ । यसको अर्थ अन्य मौसम रमाइलो हुन्न भन्ने होइन । प्रकृतिका हरेक उपहार उत्तिकै महŒवपूर्ण हुन्छन् । त्यति हुँदाहुँदै पनि तिहार विशेष लाग्छ किनकि यही पर्व हो जसले लामो समयसम्म परिवारबाट टाढा रहेकालाई पनि जोड्न भूमिका खेल्छ । विभिन्न कामको सिलसिलामा घरभन्दा टाढा रहेका स्वदेश एवं विदेशमा बस्नेहरू यही चाडबाडको मौकामा घरमा पुग्ने गर्छन् । अर्को कुरा तिहार आफैंमा मौलिक परम्परा हो । यसरी हार्दिक रूपमा एकै ठाउँमा बसेर दिदीभाइबीच टीका लगाउने परम्परा अन्य समुदायमा पाइँदैन । त्यसकारण पनि यो परम्परा मौलिक हो । तिहारकै अवसरमा खेलिने देउसी–भैलो पनि मौलिक परम्पराका रूपमा चिनिन्छ । देउसी र भैलो पनि नेपाली समुदायबाहेक अरूले मनाउदैनन् । तिहारको रमझममा रमाउनेक्रममा मनोरञ्जनका रूपमा जुवा, तासमा पनि रमाउने परम्परा छ ।

गाउँदेखि सहरसम्मै जुवा एक खालको संस्कार बन्न थालेको छ । जुवाकै कारण कतिपय व्यक्ति घरबारविहीनसमेत भएका छन् । त्यसकारण पनि जुवा, तासबाट परै रहनु श्रेयस्कर मानिन्छ । तिहारको अवसरमा विभिन्न मिठाईको उपभोग अत्यधिक हुने गरेको छ । मिठाई खानु आफैंमा नराम्रो होइन । तर, मिठाई खानुअघि आफ्नो स्वास्थ्यको ख्याल भने गर्नैपर्छ । मिठाई खाएकै कारण कोही नागरिक बिरामी परेको सुन्नुनपरोस् । कुनै पनि परम्परा केवल परम्परा धान्नमा मात्रै सीमित हुनुहुँदैन । तिहार पर्वले उपलब्ध गराउने हार्दिकता हाम्रो कर्मचारीतन्त्र र शीर्ष नेतृत्वमा पनि पर्ने हो भने मुलुकले पनि केही हदसम्म राहत पाउने थियो । आशा गरौं तिहारपछि सरकारको काम गर्ने शैलीमा पनि केही सकारात्मक संकेत देखा पर्नेछन् ।