सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

दीपावली र सांस्कृतिक विचलन

रत्न प्रजापति
2 weeks ago
07/11/2018

दीपावली र सांस्कृतिक विचलन


रत्न प्रजापति

संविधानले नै देशलाई धर्मनिरपेक्ष घोषणा गरिसकेको अवस्थामा नेपालका विभिन्न जातजाति तथा सम्प्रदायले आआफ्नो धर्म र संस्कृतिलाई निरन्तरता दिइरहेका छन् । धर्म र संस्कृति आफ्नो पहिचान पनि हो । पहिचानको रक्षामा तल्लिन हुनु आवश्यक छ । यद्यपि, आफ्नो पहिचानको रक्षाका लागि अर्काको धर्म र संस्कृतिमाथि धावा बोल्नु भने उचित होइन । यस अर्थमा नेपालको धार्मिक तथा सांस्कृतिक सहिष्णुता विगतदेखि नै उदाहरणीय र अनुसरणीय रहिआएको छ । धार्मिक सहिष्णुताले जातीय संस्कृतिको जगेर्नामा पनि मद्दत गरेको महसुस गरिँदै छ । तर, समयको परिवर्तनसँगसँगै संस्कृतिमा आउन थालेको परिवर्तनले भने संस्कृति नै लोप हुने हो कि भन्ने आशंका बढाएको छ । त्यसैले, संस्कृति संरक्षणमा लागि पर्नुपर्ने आवश्यकता पनि देखिएको छ ।

परिवर्तित सन्दर्भमा संस्कृति मात्रै यथास्थितिमा रहन सक्दैन र रहनु पनि हुँदैन । तर, समय परिवर्तनशील छ भन्दैमा संस्कृतिमा परिवर्तनको अपेक्षा गर्न सकिन्न । परिवर्तित सन्दर्भमा संस्कृतिमा परिवर्तन अहिलेको माग होइन । बरु संस्कृतिमा परिष्कार र परिमार्जन चाहिँ अहिलेको माग हुन सक्छ । समय र सभ्यतामा परिवर्तन भएको अवस्थामा संस्कृति मात्रै यथास्थितिमा रहन सक्दैन । संस्कृतिको पालन गर्ने मानिस अध्ययन, रोजगारी, व्यापार व्यवसाय आदिको सिलसिलामा संसार घुम्ने हुँदा उसले सबै प्रकारको सभ्यता र संस्कृतिसँग साक्षात्कार गरेको हुन्छ । त्यही साक्षात्कारबाट उसले धेरैथरि संस्कृतिको प्रत्यक्ष अवलोकन गर्ने अवसर पाएको हुन्छ । यस्तो साक्षात्कार र अवलोकनबाट उसले संसारभरिको सांस्कृतिक प्रभाव बोकेर आएको हुन्छ ।

त्यो प्रभावको असर उसको आफ्नै संस्कृतिमा पनि पर्न खोज्छ । हो, यस्तै अवस्थामा सांस्कृतिक परिमार्जनको खाँचो पर्दछ । त्यसैले समय र सभ्यताअनुसार संस्कृतिमा केही परिमार्जन हुनु जायज छ । संस्कृतिमा हुने जायज परिमार्जनलाई समाजले स्विकार्नुपर्छ । सांस्कृतिक परिमार्जनलाई समाज स्वीकार्य बनाउन सांस्कृतिक मूल्य र मान्यताको जगेर्ना भने गर्नैपर्ने हुन्छ । संस्कृतिमा परिमार्जनको अर्थ आफ्नो संस्कृतिलाई आधुनिक र परिष्कृत बनाउनु हो, अर्काको संस्कृतिलाई ठाडै नक्कल गर्नु होइन । हामीले वर्षभरि मनाउने अनेक चाडपर्व नै हाम्रो सांस्कृतिक विशेषता हो । हप्ता वा महिनैपिच्छे विभिन्न बार र तिथिमा हामीले मनाउने चाडपर्वले हामीलाई सांस्कृतिक रूपमा धनी बनाएको छ । त्यसैले, संसारले हाम्रो देशलाई संस्कृतिको धनी देशको रूपमा चिन्दछन् ।

 

परिवर्तित सन्दर्भमा संस्कृति मात्रै यथास्थितिमा रहन सक्दैन र रहनु पनि हु“दैन । तर, समय परिवर्तनशील छ भन्दैमा संस्कृतिमा परिवर्तनको अपेक्षा गर्न सकिन्न । परिवर्तित सन्दर्भमा संस्कृतिमा परिवर्तन अहिलेको माग होइन । बरु संस्कृतिमा परिष्कार र परिमार्जन चाहि“ अहिलेको माग हुन सक्छ । समय र सभ्यतामा परिवर्तन भएको अवस्थामा संस्कृति मात्रै यथास्थितिमा रहन सक्दैन

 

संस्कृतिभित्र चाडपर्व पर्दछन् भने चाडपर्वभित्र खानपान र रहनसहन पनि जोडिएको हुन्छ । तर, आफ्नो संस्कृतिमाथि नै आघात पुग्नेगरी हामीले हाम्रो चाडपर्वमा हुने खानपान र रहनसहनलाई परिवर्तन गर्दै आएका छौं । हाम्रो आयआर्जनमा भएको वृद्धिसँगसँगै हाम्रो आर्थिक क्षमता बढेको अवश्य हो । तर, आर्थिक क्षमता बढ्नुको नकारात्मक असर हाम्रो संस्कृतिमाथि पर्नु पक्कै चिन्ताको विषय हो । आर्थिक सक्षमताले गर्दा हामी क्रमशः आफ्नो संस्कृतिबाट टाढा हुँदै छौं र आयातीत संस्कृतिलाई अँगाल्दै छौं । आयातीत संस्कृतिलाई अँगालेर हामी सभ्य र आधुनिक भएको भ्रम हामीले पालिरहेका छौं । आफ्नो संस्कृति हराउनु भनेको आफ्नो पहिचान हराउनु हो । पहिचानबिनाको मानवको संसारमा कुनै अस्तित्व हुँदैन । यही अस्तित्वका लागि अहिले पहिचानको लडाइँसमेत भइरहेको पाइन्छ । पहिचानका लागि सांस्कृतिक जागरणको अपेक्षा गरिएको बेलामा संस्कृतिमा विचलन आउनु विडम्बनापूर्ण छ ।

हो, निसन्देह हामी संस्कृतिमा धनी छौं । हाम्रो विविधतायुक्त संस्कृतिले नै हामीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिएको छ । तर, सूचना र सञ्चारले ल्याएको परिवर्तनसँगसँगै विश्वभरिको सभ्यता र संस्कृतिले एकले अर्कोलाई प्रभावित पार्नेक्रम पनि बढेको छ । यही क्रमसँगसँगै नेपाली संस्कृतिमा पनि विशेषगरी पश्चिमी संस्कृतिको प्रभाव निकै गहिरोसँग पर्न थालेको छ । जसले गर्दा नेपाली संस्कृतिमा विचलन आएको महसुस गरिँदै छ । यही विचलनले गर्दा हाम्रा चाडपर्व अचेल ‘जाँडपर्व’मा परिणत भएका छन् । जाँड खानु नै चाडपर्वको पर्यायजस्तो हुन थालेको छ । जाँड नखाए चाड मानेजस्तो नहुने अवधारणा व्यापक बन्दै छ । हिजो आफ्नो संस्कृतिमा जाँडलाई सगुनको रूपमा लिने जाति र समुदायले आफ्नो संस्कृतिलाई निरन्तरता दिने र यसलाई जीवन्त बनाउने क्रममा जाँडलाई सगुनकै रूपमा स्वीकार गरेका छन् । तर, जसको संस्कृतिमा जाँड वर्जित छ, उनैले आज जाँडलाई संस्कृतिको पर्याय बनाएका छन् ।

यो स्थितिले हाम्रो संस्कृति विकृत बन्दै छ र विचलित बन्दै छ ।
संस्कृतिमा आएको विचलनले आर्थिक क्षतिलाई पनि बढाएको छ । आफ्नो संस्कृतिअनुसार चाडपर्व मनाउँदा कम खर्चले पुग्ने भए पनि अहिले चाडपर्वलाई जाँडपर्वको रूपमा मनाउने प्रवृत्तिले खर्चको आकार पनि बढेको छ । यो अवस्थाले हुनेखानेलाई केही फरक नपारे पनि हुँदाखानेलाई अप्ठ्यारोमा पार्ने गरेको छ । चाडपर्व मनाऊँ, आर्थिक समस्या छ । नमनाऊँ, सामाजिक हैसियतको सवाल छ । यस्तो अवस्थामा ऋण काढेर पनि चाडपर्वलाई जाँडपर्वकै रूपमा मनाउनुपर्ने बाध्यताले कतिपय निम्नवर्गका मानिसलाई समस्यामा पार्ने गरेको छ । यस्तो समस्याले सामाजिक अपराध वृद्धिमा समेत सघाएको विश्लेषण मनोसामाजिक विश्लेषकहरूले गर्दै आएका छन् ।

समाज, संस्कृति र सामाजिक गतिविधि एकअर्कासँग जोडिएर रहेका हुन्छन् । यिनीहरूको बीचमा अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । समाजले संस्कृतिलाई डो¥याएको हुन्छ भने संस्कृतिले समाजलाई डो¥याएको हुन्छ । समाज र संस्कृतिका बीचमा हुने गतिविधि नै सामाजिक गतिविधि हुन् । सामाजिक गतिविधिमा समाजमा रहेका पशुपन्छीहरूको समेत उत्तिकै महŒवपूर्ण भूमिका रहेको हुन्छ । हाम्रो संस्कृतिले मानिस र पशुपन्छीबीचको सहयोगात्मक सम्बन्धलाई पनि उजागर गर्दै आएको छ । यही सहयोगात्मक सम्बन्धका कारण तिहारमा हाम्रो समाज अथवा हाम्रो घरपरिवारसँग नजिक रहने काग, कुकुर, गाई र गोरुलाई पनि पुज्ने चलन रहिआएको छ ।

हाम्रो दैनिक सामाजिक तथा आर्थिक क्रियाकलापमा यी पशुपन्छीको कुनै न कुनै रूपमा उपस्थिति, सहभागिता र योगदान रहँदै आएको पाइन्छ । यही सहयोग, सहभागिता र योगदानलाई कदर गर्दै कमसेकम वर्षमा एक दिन तिहारको अवसरमा पूजा गर्ने र मीठोमसिनो खुवाउने चलन हाम्रो संस्कृतिभित्र रहँदै आएको छ ।
मानिस र पशुपन्छीबीचको सम्बन्धले वातावरणीय सम्बन्ध र सन्तुलनलाई समेत जोगाएको पाइन्छ । विशेषगरी नेपालजस्तो कृषिमा आधारित अर्थतन्त्र भएको मुलुकमा मानिस र पशुपन्छीबीचको सम्बन्धले ठूलो भूमिका खेलेको पाइन्छ । यही भूमिकाले गर्दा हाम्रो संस्कृतिले पशुपन्छीलाई पनि उत्तिकै महत्व दिएको पाइन्छ । तर, अचेल भने पशुपन्छीको आर्थिक भूमिकालाई केबल व्यावसायिक दृष्टिले मात्रै हेर्ने गरिन्छ । गाईभैंसीलाई दूध र मासुका लागि पाल्ने र कुकुरलाई सोखको रूपमा सामाजिक हैसियतको परिचायकको रूपमा पाल्ने परिपाटी बसेकाले यिनीहरूले देशको कृषिमा पु¥याउने योगदान कम हुँदै गएको छ ।

 

देउसी–भैलो खेल्नेहरूले पनि अर्थ संकलनका लागि नभई अलिअलि रमाइलोका लागि र बढी चाहि“ आफ्नो संस्कृति र परम्पराको जगेर्नाका लागि देउसी–भैलो खेल्ने हो भनेर बुझ्नु आवश्यक भइसकेको छ

 

 

तिहारको अवसरमा देउसी–भैलो खेल्नु हाम्रो सांस्कृतिक परम्परा नै हो । केही रमाइलोका लागि, केही सांस्कृतिक निरन्तरताका लागि र केही सामाजिक उद्देश्यका लागि देउसी–भैलो खेल्ने गरिन्छ । तर, अहिले देउसी–भैलोको उद्देश्य अर्थसँग मात्रै जोडिन पुगेको छ । एकातिर देउसी–भैलो खेल्नेहरूको आर्थिक अभीष्ट र अर्कोतिर भेटी दिने घरबेटीको सामाजिक हैसियतको अभीष्ट । धेरै भेटी दिएर उच्च सामाजिक हैसियत देखाउने प्रलोभनले एकातिर आर्थिक दुरुपयोग बढाएको छ भने यसले सामाजिक विकृतिलाई थप बढावा दिने गरेको छ । त्यसैले, देउसी–भैलोमा आर्थिक लेनदेन नै हाम्रो संस्कृतिको एउटा मुख्य विकृतिको पाटोका रूपमा विकसित भइरहेको छ । यसले न हाम्रो संस्कृति जगेर्नामा कुनै मद्दत गर्छ न त देशको अर्थतन्त्रका लागि नै कुनै योगदान गर्छ ।

विशुद्ध सामाजिक कार्यका लागि अर्थ संकलन गर्ने उद्देश्यले विभिन्न संघसंस्थाले खेल्ने देउसी–भैलोलाई अपवादका रूपमा लिन सकिन्छ । यद्यपि, यसमा पनि विकृतिका पक्षहरू क्रमशः देखिन थालेका छन् । देउसी–भैलोबाट संकलित रकम उद्देश्यविपरीतको कार्यमा प्रयोग गर्ने परिपाटीले संस्कृतिको गलत उपयोग हुने गरेको छ ।
सही उपयोग हुन सकेमा संस्कृतिको पालना र यसको जगेर्नामा सञ्चारमाध्यमको उल्लेखनीय भूमिका रहन्छ । तर, गलत उपयोग गर्नेक्रम बढेकाले अहिलेको सन्दर्भमा सञ्चारमाध्यमले नै संस्कृतिको विनाश र संस्कृतिभित्र विकृति फैलाउने काममा अग्रणी भूमिका निर्वाह गरिरहेका छन् । आफ्नो मौलिक संस्कृतिलाई जगेर्ना गर्ने काममा भन्दा विदेशी सभ्यता र संस्कृतिको प्रचारमा सञ्चारमाध्यमको बढी समय खर्च हुने गरेको छ । आधुनिकतामा रमाउन चाहने युवालाई लक्षित गरी विशेषगरी अचेलका एफएम रेडियो र टेलिभिजन च्यानलहरूले नेपाली संस्कृतिलाई आघात पु¥याउने काम गर्दै आएका छन् ।

संस्कृतिको प्रसारमा टेलिभिजनजस्तो सशक्त सञ्चारमाध्यमको अत्यन्तै ठूलो भूमिका हुन्छ । टेलिभिजनको सकारात्मक तथा नकारात्मक प्रभाव एकैपटक धेरै जनतामा पर्ने हुँदा जसरी सकारात्मक सन्देशले जनतामा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ, उसैगरी नकारात्मक सन्देशले नकारात्मक परिवर्तन ल्याउन पनि उत्तिकै मद्दत गर्ने हुँदा यस्तो मामिलामा टेलिभिजन च्यानलहरू निकै चनाखो हुनु आवश्यक छ । तिहारमा खेलिने देउसी–भैलोलाई अर्थमुखी नभई समाजमुखी र संस्कृतिमुखी बनाउन टेलिभिजन च्यानलहरूले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्नुपर्छ । सञ्चारमाध्यम सूचनाका संवाहक भएका हुँदा यस्तो सकारात्मक भूमिका निर्वाह गर्न र मुलुकको संस्कृति जोगाउन तथा यसको सम्बद्र्धन गर्न टेलिभिजन च्यानलहरू सदा तत्पर रहनुपर्दछ । देउसी–भैलो खेल्नेहरूले पनि अर्थ संकलनका लागि नभई अलिअलि रमाइलोका लागि र बढी चाहिँ आफ्नो संस्कृति र परम्पराको जगेर्नाका लागि देउसी–भैलो खेल्ने हो भनेर बुझ्नु आवश्यक भइसकेको छ ।