सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

पोम्पेओले उत्तर कोरियाली सैनिक अधिकारी भेट्ने

एजेन्सी
2 weeks ago
07/11/2018

वासिङ्टन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनका एक जना उच्चस्तरीय सैनिक अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

अमेरिकी विदेश मन्त्रालयले दिएको जानकारीअनुसार उनले आगामी बिहीबार ती अधिकारीसँग भेटवार्ता गर्न लागेका हुन् ।
गत जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको द्विपक्षीय उच्चस्तरीय भेटवार्तापछि विकसित यी दुई देशबीचको यो भेटलाई महŒवका साथ हेरिएको छ । सो सम्मेलनपछि यी दुई देशबीचको सम्बन्धमा सुधार आएको भए पनि पछिल्लो समयमा भने निःशस्त्रीकरणका विषयमा फरक विषय आइरहेका छन् ।

अमेरिकी विदेशमन्त्री पोम्पेओसँग भेटवार्ता हुनलागेका उत्तर कोरियाली सैनिक अधिकारी कर्णेल किम योङ चोल हुन् । उनी उत्तर कोरियाली नेता उनका विश्वासपात्र मानिन्छन् ।
कोरियाली प्रायःद्वीपमा निःशस्त्रीकरणका लागि काम गर्ने सहमति अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीच गत जुन १२ मा सिंगापुरमा सहमति भएको थियो । सो सहमतिपछि उत्तर कोरियाले परमाणु अस्त्रको उत्पादन नगरेको बताएको छ ।

केही अमेरिकी अनुसन्धानले भने उत्तर कोरियाले लुकिछिपी परमाणु अस्त्र उत्पादन गर्ने गरेको बताएका छन् । सो कुरा उत्तर कोरियाले स्वीकार गरेको छैन । केही समयअघि मात्र उत्तरकोरियाको विदेश मन्त्रालयले नै यदि अमेरिकाले आफूमाथि लगाएका नाकाबन्दी नहटाउने हो भने आफू परमाणु अस्त्र उत्पादन गर्न बाध्य हुने बताएको थियो ।