मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

सेयरको अनलाइन प्रणाली सुरु

राजधानी समाचारदाता
9 months ago
07/11/2018

काठमाडौं। सेयरको अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएको छ नेपाल स्टक एक्सचेन्जले मंगलबारदेखि औपचारिक रूपमा अनलाइन कारोबार प्रणाली सुरु गरेको हो ।

चालू आर्थिक वर्षको पहिलो सुरुदेखि नै यो प्रणाली सञ्चालनमा ल्याउने भनिएको भए पनि त्यसको झन्डै चार महिनापछि यो प्रणाली सञ्चालनमा आउन सकेको छैन । यसअघि चालू आर्थिक वर्षको सुरुवातदेखि सेयर ब्रोकरहरूले सो प्रणालीलाई परीक्षणका रूपमा सञ्चालन गर्दै आएका थिए ।

स्वचालित अनलाइन कारोबार प्रणालीको  अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरे । अनलाइन प्रणालीको सुरुवातपश्चात सेयर बजारका लगानीकर्तालाई कारोबार गर्न सहज हुने र यसले सेयर बजारको दायरासमेत बढाउने अपेक्षा उनले व्यक्त गरे । त्यसक्रममा डेपुटी गभर्नर शिवराज श्रेष्ठले नेपाल राष्ट्र बैंकको स्वामित्वमा रहेको नेप्सेको सेयर बिक्री गरिने बताए ।

 

यो प्रणाली सुरु भएसँगै अब दोस्रो बजारमा सेयर कारोबारका लागि धितोपत्र दलाल व्यवसायी (ब्रोकर) अफिस धाउनुपर्ने बाध्यता हटेको छ । सेयर खरिदबिक्री कार्य घरमै बसी अनलाइनमार्पmत नै कारोबार सम्भव हुने भएपछि विदेशमा बस्ने नेपालीले समेत दिनदिनै सेयर कारोबारमा सहभागी हुन सक्ने छन् । आजदेखि आमलगानीकर्ताले इन्टरनेटको पहुँच भएको कुनै पनि स्थानमा रहेर आफैंले कारोबार गर्न सक्नेछन् । यद्यपि रकम भुक्तानीका लागि भने ब्रोकर कार्यालय जानुपर्नेछ ।

नेप्सेले गत १ साउनदेखि यो स्वचालित अनलाइन प्रणालीमा सबै ब्रोकरलाई जोडेर परीक्षण गरिरहेको थियो । ब्रोकरहरू पनि आवश्यक भौतिक तयारी पूरा गरी स्वचालित प्रणालीका लागि तयार भएका छन् । पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा आएसँगै सेयर बजारमा सर्वसाधारणको पहुँच बढ्नेछ । यद्यपि, कारोबार सञ्चालन भएकै दिन अनलाइन प्रणालीमा भने समस्या आयो । मूलतः राजधानी केन्द्रित सेयर बजारले अब  मुलुकभरि व्यापकता पाउनेछ । यसअघि धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनलाइन प्रणाली कार्यान्वयन गर्न नेप्सेलाई पटकपटक निर्देशन दिँदै आएको थियो । अब सेयर करोबारलाई पूर्ण स्वचालित प्रणालीबाट सञ्चालन गर्ने आधा दशकअगाडि देखिको प्रयास सार्थक बनेको छ । सेयर कारोबार अनलाइन प्रणालीबाट सुरु भएपछि वर्षौंदेखिको यो प्रयासले सफलता पाएको हो ।

धितोपत्र बजारको नियामक निकायका रूपमा रहेको नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेन्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको हो । यो प्रणाली कार्यान्वयनमा आएपश्चात् कुनै पनि व्यक्तिले आफ्नो आवश्यकता र चाहनाअनुरूप आफैंले सेयर खरिदबिक्री आदेश जारी गर्न सक्छ । सेयर बजारको नियमनकारी निकायका रूपमा रहेको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले अब सेयर कारोबार पूर्ण स्वचालित प्रणालीबाट सञ्चालन हुने जानकारी दिए । अनलाइनमार्फत सेयर कारोबार गर्न चाहने लगानीकर्ताले (ब्रोकर) कहाँ गएर कारोबारसम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोल्नुपर्छ ।  र ब्रोकरमार्फत ‘युजरनेम’ र ‘पासवर्ड’ लिनुपर्ने हुन्छ व्यक्तिगत विवरणमा सी–आस्बासहितको बैंक खाता, हितग्राही (डी–म्याट) खाता, इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य गरिएको छ ।

स्टकले गत १ साउनदेखि नै परिक्षण गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणाली सुरु गरेको थियो । त्यसमा विद्यमान सम्पूर्ण धितोपत्र दलाल व्यवसायी आबद्ध थिए ।  उनीहरूले आवश्यक भौतिक तयारीसमेत सबै गरिसकेका छन् । स्वचालित प्रणालीबाट कारोबार गर्दा पनि कुनै एक दलाल कम्पनीसँग भने लगानीकर्ता आबद्ध हुनुपर्नेछ । नयाँ प्रणालीको सेयर कारोबारलाई अटोमेसनमा लैजान गरिएको पहललाई सहयोग पुग्ने गरी सेयर ब्रोकरलाई गरिने भुक्तानी नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत सिधै भुक्तानी हुने व्यवस्था मिलाइएको छ । पूर्ण स्वचालित अनलाइन प्रणालीको कार्यान्वयनसँगै सेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रूपमा बढ्दै जाने र सो प्रणाली नेपालको पुँजी बजारको कोसेढुंगा साबित हुने विश्वास लिइएको छ ।

लगानीकर्ताले सेयर खरिद गरेबापतको ब्रोकरलाई गर्नुपर्ने भुक्तानी कनेक्ट आईपीएसको वेवसाइटमा गएर आवश्यक विवरण भरी आफ्नो बैंक खाताबाट सोझै सम्बन्धित ब्रोकरको बैंक खातामा रकमान्तर गर्न सक्नेछन् । स्टकका अनुसार हालसम्ममा यस प्रणालीमा ब्रोकर नम्बर १०, ११, १३, १६, १७, २०, २१, २२, २५, ३८, ४९, ५९ गरी १२ वटा ब्रोकर कम्पनीहरू आबद्ध भइसकेका छन् । अन्य ब्रोकरलाई पनि यस प्रणालीमा आबद्ध गराउने क्रम जारी रहेको स्टक एक्स्चेन्जले जनाएको छ ।

 

(Visited 19 times, 1 visits today)
Loading comments...