सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

अधिकांश मिठाई पसलमा मापदण्डविपरीत रङ प्रयोग

मधुजंग पाण्डे
2 weeks ago
07/11/2018

काठमाडौं । तिहारका लागि बजारमा राखिएका अधिकांश मिठाई पसलमा मापदण्डविपरीत रङको प्रयोग भएको पाइएको छ । बजार अनुगमनका क्रममा राजधानीका अधिकांश मिठाई पसलमा बिक्रीका लागि राखिएका मिठाईमा मापदण्डविपरीत रङको प्रयोग भएको पाइएको हो ।  तिहारमा मिठाईको बढी प्रयोग हुने हुनाले अनुगमनलाई निरन्तर दिइएको खाद्य तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

विभागका महानिर्देशक सञ्जिव कर्णले तिहारका लागि गरिएको बजार अनुगमनको क्रममा राजधानीका अधिकांश मिठाई पसलमा बिक्रीका लागि राखिएका मिठाईहरूमा मापदण्डविपरीत रङको प्रयोग भएको बताए । विशेषगरी, फूलमाला, झिलिमिलीसँगै मिठाईको पर्व तिहार भएकाले तिहारमा टीका फूलमाला लगाई आफ्ना दाजुुभाइलाई मिठाई खुवाउने प्रचलनअनुरूप वर्षकै सबैभन्दा धेरै मिठाई तिहारमा बिक्री हुने भएकाले सरकारले हरेक वर्ष चार्डपर्वका बेला बजार अनुगमन गर्दै आएको बताए । अहिले तिहारमा पकाइने सेल, अनरसा धेरैका भान्सामा पाक्न छाडिसकेकाले बजारमा पाइने आकर्षक मिठाईले तिहारमा धेरैको ध्यान तान्ने गरेको विभागले जनाएको छ । बजार अनुगमनका बेला केही मिठाई पसलेहरूले लापर्बाही गर्ने गरेकोसमेत उनले जानकारी दिए ।

पर्वका बेला उपभोक्ता नठगिऊन् भनेर हरेक वर्ष सरकारले चाडपर्वको बेला बजार अनुगमनलाई तीव्रता दिने गरेको विभागले जनाएको छ । तिहारमा मिठाईको बढी प्रयोग हुने भएकाले अनुगमनलाई निरन्तरता दिइएको कर्णले जानकारी दिए । उनले अहिलेसम्म गरिएको बजार अनुगमनको क्रममा अधिकांश मिठाई पसलले अखाद्य तथा अत्यधिक मात्रामा मिठाईमा रङको प्रयोग गरेको भेट्टिएको बताए । महानिर्देशक कर्णले यस्तो रङले मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले उपभोक्ताले मिठाई किन्दा ध्यान दिनुपर्ने बताए ।

यसैगरी, खाद्य तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत शिवप्रसाद भण्डारीले पनि तिहारका बेला राजधानीका धेरै मिठाई पसलले मापदण्डविपरीत रङको प्रयोग गरेको पाइएको बताए । यसैगरी, बनेपाका अधिकांश मिठाई पसलमा बढी मात्रामा रङको प्रयोग विभागले गत १५ र १६ असोजमा गरेको अनुगमनमा भेट्टिएको जनाएको छ ।  काभ्रेको बनेपामा रहेका केही मिठाई पसलमा अनुगमन गर्दा मापदण्डविपरीत खाद्य रङको प्रयोग गरिएको पाइएको खाद्य अनुसन्धान अधिकृत भण्डारीले जानकारी दिए ।

 

 

खाद्य तथा गुण नियन्त्रण विभागले मिठाईमा ५ केजीबराबर १ ग्राम खाद्य रङ मात्र प्रयोग गर्न पाउने गरी मापदण्ड तोकेको र सोभन्दा बढी पाइए मापदण्डविपरीत हुनेछ ।

उनले तीन मिठाई पसलमा अनुगमन गरेकोमा दुईवटा पसलमा खाद्य रङको बढी प्रयोग गरिएको पाइएकाले ती पसललाई कारबाही गरिएको बताए ।  काभ्रे स्वीट्स एन्ड चाट र कामधेनु फास्टफुड एन्ड भोजनालयको लड्डु तथा मिठाईमा निरीक्षण गर्दा मापदण्डभन्दा बढी मात्रामा रङको प्रयोग भएको पाइएको थियो । यसैगरी, अनुगमन अधिकृत भण्डारीले बजार अनुगमन गर्दा अधिकांश पसलमा खानेकुरा खुला रहेको, भान्सेले टोपी नलगाएको, फोहोर फाल्ने भाडा खुला रहेको, प्यान र व्यवसाय दर्ता नभएकोसमेत पाइएको बताए ।

यस्तो भेट्टिएपछि खाने कुरा छोपेर राख्न, भान्सामा काम गर्दा टोपी लगाउन, मिठाईमा २ सय पीपीएमभन्दा बढी खाद्य रङको प्रयोग नगर्न पसललाई निर्देशन दिएको पनि उनले जानकारी दिए । खाद्य तथा गुण नियन्त्रण विभागले मिठाईमा ५ केजीबराबर एक ग्राम खाद्य रङ प्रयोग गर्न पाउनेगरी मापदण्ड तोकेको जनाएको छ ।

सोही बजार अनुगमन टोलीले विगत केही दिनअघि न्युरोडका केही मिठाई पसलमा अनुगमन गर्दा पनि त्यस्तै, भेट्टिएको विभागले जनाएको छ । बजार अनुगमन गर्दा मिठाई पसलमा भान्सा सफा नभएको, कुहिएका र म्याद सकिएका मिठाईसमेत पाइएको विभागले बताएको छ ।  सो अनुगमन टोलीले न्युरोडको टिपटप स्वीट्स, गुलाब स्वीट्स तथा लयाकु रेस्टुरेन्टमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा गुलाव स्वीट्सले हाई पोलारीको तेल प्रयोग गरेको पाइएपछि ५ लिटर तेल नष्ट गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार अनुगमनको क्रममा त्रिपुरेश्वर तथा नारायण गोपालचोकमा निरीक्षण गर्दा शालिमार हस्पिटायलिटी, गुलाव तथा तृष्ण मिठाई पसलमा सरसफाइ नगरिएको तथा भान्सा फोहोर भएको पाइएको, भक्तपुरका मिठाई पसलमा निरीक्षण गर्दा अधिकांश पसलका मिठाईमा अत्यधिक मात्रामा रङको प्रयोग गरिएको भेटिएको छ ।