सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

घरजग्गा क्षेत्रमा लगानी बढ्यो

राजधानी समाचारदाता
2 weeks ago
07/11/2018

काठमाडौं । गत वर्षको तुलनामा बैंक तथा वित्तिय संस्थाले घरजग्गाको क्षेत्रमा लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो (भदौ) महिनाको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमध्ये ६३ दशमलव १ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४ दशमलव ३ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको छ । राष्ट्र बैंकले घरजग्गा क्षेत्रलाई अनुत्पादक क्षेत्र भन्दै त्यस क्षेत्रतर्फको लगानीलाई कडाइ गरेको छ । तापनि बैंकहरूको लगानी त्यसतर्फ कमी आएको छैन ।

गत वर्षको सोही समयको तुलनमा चालू आर्थिक वर्षको भदौ मसान्तसम्म २ दशमलव २ प्रतिशतले घरजग्गाको धितोमा कर्जा बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत वर्षको भदौ मसान्तमा घरजग्गाको धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६० दशमलव ९ प्रतिशत तथा चालू सम्पत्तिको धितोमा १४ दशमलव २ प्रतिशत कर्जा लगानी थियो । भदौसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा ५ दशमलव शून्य प्रतिशतले, ओभरड्राफ्ट कर्जा शून्य दशमलव ५ प्रतिशतले, ट्रस्ट रिसिप्ट (आयात) कर्जा ६ दशमलव २ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा ५ दशमलव ५ प्रतिशतले, रियल स्टेट कर्जा २ दशमलव २ प्रतिशतले तथा हायर पर्चेज कर्जा २ दशमलव १ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा शून्य दशमलव ९ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

त्यस्तै, यस अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ दशमलव शून्य प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ दशमलव १ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये यस अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह २ दशमलव शून्य प्रतिशतले, विकास बैंकहरूको २ दशमलव ७ प्रतिशतले र वित्त कम्पनीहरूको शून्य दशमलव ५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २२ दशमलव ४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, भदौसम्म वाणिज्य बैंकहरूले ७७ अर्ब २१ करोड ९६ लाख २० हजार रुपैयाँ ऊर्जा क्षेत्रमा लगानी गरेका छन् । चालू आर्थिक वर्षको पहिलो महिनामा ७४ अर्ब ३८ करोड ४९ लाख ७० हजार रुपैयाँ लगानी छ । चालू आर्थिक वर्षको पहिलो महिनाको तुलनामा दोस्रो अर्थात् भदौ महिनामा २ अर्ब ८३ करोड ४६ लाख रुपैयाँले उर्जा क्षेत्रको लगानी बढेको राष्ट्र बैंकले जनाएको छ ।