सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

त्रिशूललाई फुटबल उपाधि

राजधानी समाचारदाता
2 weeks ago
07/11/2018

काठमाडौं। गोदावरी नगरपालिका–१३ वडाव्यापी खेलकुद महोत्सव सम्पन्न भएको छ । महोत्सवको अन्तिम दिन भएको फुटबल स्पर्धामा सहआयोजक त्रिशूल युथ क्लबले आरुबोट ब्वाइज क्लबलाई ३–२ ले हराउँदै उपाधि जित्न सफल भयो ।

प्रतियोगितामा रुद्राक्ष क्लब तेस्रो भयो । उपाधि विजेता टोलीले २५ हजार, उपविजयीले १५ तथा तेस्रो हुने टोलीले १० हजार रुपैयाँ पुरस्कार पाए । उपाधि विजेता त्रिशूलका नितेस खड्का उत्कृष्ट खेलाडी, आयुशजंग थापा उत्कृष्ट गोलरक्षक तथा सौरभ मल्ल शीर्ष गोलकर्ता भए ।

यसअघि सम्पन्न चेस प्रतियोगितामा मनीष घिमिरे पहिलो, प्रवीण घिमिरे दोस्रो र कल्याण घिमिरे तेस्रो भए । विजेताले ७ हजार, उपविजेताले ५ हजार तथा तेस्रो हुने खेलाडीले ३ हजार रुपैयाँ पुरस्कार पाए ।

पुरुषतर्फको खुला दौडतर्फ पारस देसार पहिलो, गणेश लोहार दोस्रो तथा समिर देसार तेस्रो भए । महिलातर्फ शुभश्री खड्का पहिलो, आयुष्मा केसी दोस्रो र रिदिमा केसी तेस्रो भए । विजेताले ७, उपविजेताले ५ तथा तेस्रो हुनेले ३ हजार रुपैयाँ पुरस्कार पाए । त्यसैगरी, टेबल टेनिस स्पर्धामा सुशील केसी पहिलो र सञ्जित केसी दोस्रो भए । विजेताले ५ तथा उपविजेताले ३ हजार रुपैयाँ पुरस्कार पाएको मूल आयोजक कमिटी संयोजक कृष्ण खड्काले जानकारी दिए ।

युवा जागरण क्लब, युवा सूचना केन्द्र, त्रिशूल युथ क्लब र राष्ट्रिय पोसाक संरक्षण महाअभियान ललितपुरको संयुक्त आयोजनामा भएको महोत्सवको समापन समारोहमा प्रमुख अतिथि प्रदेशसभा सदस्य लालकुमारी पुनले पुरस्कार प्रदान गरिन् । वडाध्यक्ष भाष्कर थापाको सभापतित्वमा भएको पुरस्कार वितरण समारोहमा गोदावरी नगपालिकाका प्रमुख गजेन्द्र महर्जन विशिष्ट अतिथि थिए । कार्यक्रममा आईडब्लू एएफएनका कराते खेलाडीले प्रदर्शनी गरेका थिए ।