सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

पोखरा च्याम्पियन

दिल तामाङ/विजय नेपाल
2 weeks ago
07/11/2018

 

पोखरा। घरेलु टोली पोखरा पल्टन पहिलो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

पोखरा क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली पोखरा पीपीएल च्याम्पियन बनेको हो । यससँगै शरदले यसअघिका दुई ठूला फ्रेन्चाइजी लिग डीपीएल–१ र ईपीएलको फाइनलमा बेहोरेको हारको बदला लिएको छ । पोखरालाई जितका लागि १२ बलमा ६ रन चाहिएको अवस्थामा चितवनका पारस खड्काले २ रन खर्चंदै २ विकेट पतन गराएपछि खेल निकै रोमाञ्चक मोडमा पुगेको थियो । पोखरालाई जितका लागि अन्तिम ओभरमा ४ रन चाहिएको थियो । क्रिजमा विनोद भण्डारी र बलिङमा भुवन कार्की थिए । अन्तिम ओभरको पहिलो बलमा विनोद भण्डारीले रन लिन सकेनन् । तर, दोस्रो बलमा चौका प्रहार गर्दै टिमलाई जित दिलाए ।

 

चितवनले दिएको १६१ रनको लक्ष्य घरेलु टोली पोखराले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा ग¥यो । पोखरालाई च्याम्पियन बनाउन रविन्दर सिंहले ९० रनको अर्धशतकीय इनिङ्स खेले । ५८ बलमा रविले १३ चौका र ३ छक्का प्रहार गरे । कप्तान शरद भेषावकर २२ रनमा आउट भए । आरिफ शेख १२ तथा ओपनर कुशल भुर्तेल ४ रनमा पेभिलियन फर्किए ।

पहिलो ओभरको दोस्रो बलमै कुशल भुर्तेल आउट भएपछि रविन्दर र आरिफले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डो¥याएका थिए । दोस्रो विकेटका रूपमा आरिफ शेख १२ रनमा आउट हुँदा टिमले ६५ रन जोडेको थियो । मोहम्मद नाभिद २५ रनमा आउट भए । चितवनका भुवन कार्कीले २ विकेट लिए । सन्नी पटेल, करण केसी र पारस खड्काले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलेपहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६० रनको योगफल तयार पारेको थियो । पोखराका लागि कप्तान पारस खड्काले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । ३७ बलमा पारसले ९ चौका प्रहार गरे । चितवनले पहिलो विकेटका रूपमा हरिशंकर साहलाई ८ रनमा गुमाएको थियो ।

त्यसपछि क्रिजमा रहेका कप्तान पारस र अनिलले दोस्रो विकेटका लागि रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । चितवनको दोस्रो विकेट पतन हुँदा ८५–२ को अवस्था रहेको थियो । त्यसपछि अनिल र सन्नीले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरे । ओपनर अनिलकुमार साह ३७ रनमा आउट भए । ३८ बलमा अनिलले ३ चौका र १ छक्का प्रहार गरे । आक्रामक इनिङ्स खेलेका सन्नीले ४३ रनको योगदान दिए । सन्नीले २१ बलमा ४ छक्का र ३ चौका हिर्काए । आरिफ शेख १४ नटआउट रहे । करण केसी शून्यमा आउट भए ।

करण केसी नटआउट रहे । सन्नीले १५ ओभर २ बलमा जीवनदान पाएका थिए । विक्रम भुसालको बलमा १९ रन जोडेको अवस्थामा रोहितकुमार पौडेलले सन्नीको क्याच ड्रप गरेका थिए । पोखराका कृष्ण कार्कीले २ तथा मोहम्मद नाभिद र ललितनारायण राजवंशीले समान १ विकेट लिए । पोखराका रविन्दर सिंह खेलको म्यान अफ दी म्याच घोषित भए । च्याम्पियन बनेपछि पोखराका कप्तान शरद भेषावकरले रविले उत्कृष्ट इनिङ खेल्दा जित हात पार्न सकिएको बताए । उनले फाइनल निकै रोमाञ्चक भएको समेत बताए ।

हारपछि चितवनका कप्तान पारस खड्काले १०÷१५ रन कम हुँदा र रविले उत्कृष्ट खेल खेल्दा पराजित हुनुपरेको बताए । उनले जुन दिन जसले राम्रो क्रिकेट खेल्छ, उसैले जित्ने बताए ।

 

च्याम्पियन बनेसँगै पोखराले नगद २७ लाख रुपैयाँ प्राप्त ग¥यो । उपविजेतामा चित्त बुझाएको चितवनले १० लाख रुपैयाँ प्राप्त ग¥यो । चितवनका सन्नी पटेल प्रतियोगिताको म्यान अफ दी सिरिज घोषित भए । काठमाडौंका गौरव तमोर उत्कृष्ट ब्याट्सम्यान र चितवनका करण केसी खेलको उत्कृष्ट बलर घोषित भए । उनीहरू सबैले एक थान सुजुकी जिक्सर बाइक प्राप्त गरे । पोखराका ललितनारायण राजवंशी मोस्ट भ्यालुएबल खेलाडी घोषित भए । उनले १ लाख १ सय रुपैयाँ प्राप्त गरे । पोखराकै रसिद खान खेलको उदीयमान खेलाडी घोषित हुँदै ५१ हजार रुपैयाँ प्राप्त गरे ।

विजयी टिम तथा खेलाडीलाई पूर्वप्रधाननमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, खगराज अधिकारी, भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेणु दाहाल, लेखनाथ पोखरा महानगरपालिकाका नगरप्रमुख मानबहादुर जीसी र गण्डकी प्रदेशका सभासद राजीव पहारीलगायतले पुरस्कृत गरे । पुरस्कार वितरण कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष प्रचण्डले पीपीएल आयोजक सबैलाई धन्यवाद ज्ञापन गरे । उनले फुटबलको क्रेज रहने पोखरामा क्रिकेटको क्रेज पनि देखिएको बताउँदै पोखरा क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकार र पार्टी लागिपर्ने बताए । ९ कात्तिकबाट सुरु भएको प्रतियोगितामा विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टिमले राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । अन्य फ्रेन्चाइजमा भन्दा यसपटक केही फरक गरिएको थियो ।

लिगको शीर्ष स्थानमा रहने टिमले सिधै फाइनलमा स्थान बनाउँदा दोस्रो र तेस्रो हुने टिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल खेलेका थिए । प्रतियोगितामा पोखरा पल्टन, चितवन राइनोज, हुलास काठमाडौं रोयल्स, बुटवल ब्लास्टर्स, एक्सपर्ट धनगढी ब्लुज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गरेका थिए ।