सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

सधैं गुन्जिरहने चलचित्रका तिहार गीत

नवीन लुइँटेल
2 weeks ago
07/11/2018

ललितपुर। नजिकिँदै गरेको तिहारमा भैलोसम्बन्धी गीत प्राया चलचित्रकै गाउने गरिएको छ । यस्तै, हरेकजसो टेलिभिजन च्यानलमा यतिबेला चलचित्रसम्बन्धी तिहारका गीत बज्न सुरु गरिसकेका छन् ।

नेपाली चलचित्रमा तिहार गीत समेटिएपछि यी गीतले तिहारको रौनक नै बढाउँदै आएका छन् । यमपञ्चकका पाँच दिनका विभिन्न महŒव झल्किएका गीतहरूदेखि देउसी र भैलोका गीतले चलचित्रप्रेमी मात्र होइन, संगित र चाडबाडका प्रेमी पनि रमाउने गर्छन् ।

‘तिहारै आयो, लौ झिलिमिली

सुन हजुर भैलिनी आइन् आँगन…’

लक्ष्मीपूजाको दिन भैलिनीहरूले सबैभन्दा बढी गाउने यो गीत शम्भु प्रधान निर्देशित चलचित्र स्वर्गको हो । स्वर्गमा अभिनेत्री गौरी मल्लले यो गीत गाउँदै नाचेको दृश्यलाई अहिलेसम्म पनि भैलिनीहरूले अनुसरण गर्दै भैलो खेल्ने गरेका छन् । शम्भुजीत बासकोटाको संगीत रहेको स्वर्गको यो गीत लोचन भट्टराईको स्वरमा रहेको छ ।

‘दीयो बाली साँझको ,

फूल सजाई पूजाको…’

भैलो खेल्दा नगाइए पनि रेडियो टेलिभिजनबाट अढाइ दशकदेखि बज्ने गरेको यो अर्को तिहार गीत हो । लक्ष्मीपूजाको दिन लक्ष्मीको स्तुती गर्न यो गीत गाइन्छ । यो गीत पनि त्यतिकै चर्चित छ । तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र चिनोको गीत हो यो । चिनोबाट राते काइलाको पात्रले जति चर्चा पायो, त्यति नै यो गीतले पनि चर्चा पायो । तुलसी घिमिरेकै शब्द र रञ्जीत गजमेरको संगीत रहेको यो गीतमा भारतीय गायिक आशा भोसलेले स्वर दिएकी छन् ।

‘निधारमा लगाएर सप्तरंगी टीका,

हिँडिरहू सधैं तिमी शिखरको बाटो…’

यो पनि अर्को कालजयी तिहार गीत हो । तिहारभन्दा पनि भाइटीकाको महŒव दर्शाउने यो गीत चलचित्र विजय पराजयको हो । यो गीतलाई पनि तिहारमा त्यत्तिकै स्मरण गरिन्छ ।

 

शम्भुजीत बासकोटाको संगीत र हेमलताको स्वर रहेको यो गीतलाई दिनेश अधिकारीले लेखेका हुन् । गीतमा दुई दाजु र एक बहिनीबीचको भाइटीकाको प्रसंगलाई उजागर गरिएको छ । यो चलचित्रको निर्देशन राजेन्द्र शलभले गरेका हुन् ।

यस्तै, तिहारमा सञ्चारमाध्यममा बज्ने अर्को गीत चलचित्र अन्यायको अधरमा आज…पनि हो । मनिला सोताङले गाएको यो गीत अहिले पनि विद्युतीय माध्यममा बज्ने गरेको छ ।

यो चलचित्रका निर्देशक पनि घिमिरे नै हुन् । चलचित्र फिटकीरीमा पनि देउसी–भैलोको गीत छ । बासुदेव पोखरेलको चलचित्र पल्टनमा पनि तिहारको देउसी–भैलोसम्बन्धी गीत छ ।

हाम्रो पनि आँगनीमा देउसी खेल्न आइसके…

यो बोलको गीतले पनि तिहारलाई जीवन्त रूपमा उजागर गरेको छ । गीतकार लोकराज अधिकारीको शब्द रचना, अशोक राईको संगीत रहेको गीतमा सञ्जय तुम्रुक, आवा मुकारुङ, रूपक चौधरीलगायतको स्वर छ ।

बाबुराम ढकालको निर्देशन रहेको पर्खिराख है भन्ने चलचित्रमा भैलोसम्बन्धी गीत र अनुप बरालको निर्देशनमा रहेको चलचित्र फिटकीरीमा पनि तिहारको गीत समावेश छ । पुरानो चलचित्र बदलिँदो आकाशमा पनि तिहारसम्बन्धी

गीत छ ।

श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको नृत्य रहेको श्रीकृष्णको अन्तिम चलचित्र कोहिनुरको देउसी भैलो…गीत पनि त्यत्तिकै लोकप्रिय छ । आकाश अधिकारीले निर्देशन गरेको यो चलचित्रको गीतले पनि सञ्चार माध्यममा तिहारमा स्थान पाउने गरेको छ ।