सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

असहायको सहारा बन्दै अमोर

राजधानी समाचारदाता
2 weeks ago
07/11/2018

 

स्याङ्जा । स्याङ्जा फेदीखोला गाउँपालिका–१ मा रहेको अमोर सेवा समाजले सञ्चालन गरेको बालगृहले तीन वर्षदेखि सडक, असहाय र सहाराविहीन बालबालिकाको संरक्षण गर्दैआएको छ ।

बुबाआमा गुमाएका, घर छाडेर सडक छाप हुन पुगेका बालबालिकालाई समाजले संरक्षण गरेको हो । अविवाहित स्थानीय कमला पराजुलीको पहलमा बेसहारा बनेका बालबालिकालाई संरक्षणसँगै अभिभावकीय भूमिका खेलेर उदाहरणीय बनेकी छन् । पाँच बालिका र १३ बालक गरी १८ जना बालबालिका अहिले बालगृहमा रहेका छन् ।

सडकमा बेसहारा बनेर हिँडेका बालबालिका देख्दा मन कटक्क खाएको भन्दै पराजुलीले २०६८ सालमा संस्था दर्ता गरी रुकुम र रोल्पाका द्वन्द्वपीडित बालबालिकाको संरक्षण गर्दै आएकी थिइन् । उनले तीन वर्षदेखि बालगृह सञ्चालन गरेर ती बालबालिकाको लालनपालन र पढाइमा समेत साथ दिँदै आएकी छन् ।

समाजले शान्ति मन्त्रालयमार्फत २५ लाख र साबिकको जिल्ला विकास समितिमार्फत ५ लाख गरी ३० लाखको लागतमा चार आना जग्गामा भवन निर्माण भएपछि छोरीले गरेको काम महान् भएको भन्दै उनका बुबा डण्डप्रसाद पराजुलीले संस्थाको नाममा चार आना जग्गासमेत निःशुल्क दिएका छन् । बाबुआमाविहीन बालबालिकालाई संरक्षण गर्ने दायित्व सरकारको भए पनि छोरीले यो महान् कार्य गरेको जग्गादाता पराजुलीले बताए ।

बुबाको अत्तोपत्तो नभएको र आमाको सहारामा बचेकी अमृता (गुरुङ) पराजुलीले बालगृहमा सहारा पाउँदा निकै खुसी लागेको बताइन् । आमाले आपूmहरूलाई सहयोग जुटाएर खाने बस्ने र पढाउने काम गरेको भावनाउनले बताइन् ।

सो बालगृहमा तीन वर्षदेखि १४ वर्ष उमेरका बालबालिका रहेका छन् । २५ जना बालबालिका रहनेक्षमता रहेको बालगृहमा मासिक ५० हजार खर्च हुने गरेको छ । सो बालगृहमा खाद्यान्नको व्यवस्था भने रूपन्देही, कपिलवस्तु र पाल्पा उद्योग वाणिज्य संघले जुटाइदिने गरेको छ । रुकुम, बर्दिया, मुगु र स्याङ्जा जिल्लाका बालबालिकाले सो बालगृहमा आश्रय लिएको संस्थाले जनाएको छ ।