बुधवार ११ बैशाख, २०७६ (Wednesday, 24th April 2019)
११ बैशाख, २०७६ (24 April 2019)

सन्ठी नहुँदा हुकेहुक्का लोप हुँदै

ईश्वर तामाङ
6 months ago
07/11/2018

उदयपुुर। जिल्लामा सनपाटको खेती हुन छाडेपछि सनपाटको सन्ठी नहुँदा थारू समुदायमा लक्ष्मीपूजाको दिन खेलिने हुकेहुक्का खेल लोप हुने अवस्थामा पुगेको छ । सनपाटबाट बन्ने हुकेहुक्का थारू समुदायले केही वर्ष अघिसम्म खेल्ने गरेता पनि पछिल्लो समयमा युवा पुस्ताले यसको संरक्षण नगर्दा लोप हुँदै गएको हो ।

पछिल्लो समयमा सनपाटको खेती हुन छाडेपछि हुक्का खेल लोप हुन लागेको हो । लक्ष्मीपूजाका दिन खेलिने हुक्का खेल अहिले थारूहरूले खेल्न छाडेका छन् । किसानहरूले सनपाटले बजार भाउ नपाउँदा सनपाट लगाउन छोडेपछि सन्ठीको अभावमा यो खेल लोप भएको थारू पण्डित बासुदेव चौधरीले गुनासो गरे ।

 

 

देउता घरको दलिनमा राखेको दीयोमा हुकेहुक्का बाली थारू शब्दमा ‘अनधन लक्ष्मी घर ढुक दरिदर बहार हो’ अर्थात् अन्न धनसहित लक्ष्मी घर पसून् र दरिद्रता बाहिर हुन् भन्दै तीन पल्टसम्म मन्त्र पढेर हुकेहुक्का सल्काउने गरिन्छ

 

सनपाट खेतीबाट उत्पादन भएका सनपाटलाई गाड्ने तालतलैया र व्यवस्थित पोखरीको अभावमा पनि यसको खेती गर्न छोडिएको त्रियुगा नगरपालिका–३, मोतीगडाका किसान शंकरलाल चौधरीले जानकारी दिए ।

सन्ठी नहुँदा यस वर्ष कसरी हुकेहुक्का खेल्ने स्थानीयवासीको चिन्ता रहेको छ । गत वर्ष हुकेहुक्का खेल्नका लागि अन्यत्र जिल्लाबाट सन्ठी ल्याएर हुकेहुका खेलेको त्रियुगा नगरपालिका–३ का बस चालक सरोजकुमार चौधरीले बताए । उनले भने, ‘गत साल सुनसरीको इनरुवाबाट एक भारी सन्ठी किनेर ल्याएको थिएँ तर यस वर्ष सम्भव छैन ।’

पौराणिक किंवदन्तीअनुसार परापूर्वकालदेखि खेल्दै आएको हुकेहुक्का एक मुठा सन्ठीमा दुई–चारवटा कुचोको सिन्कालाई बाबियोले बाँधेर यो खेल खेलिन्थ्यो ।

‘घरको देउता कोठाको दलिनमा धान, चामलमाथि दीयो राखी विधिवत पूजाआजा गरी खेल्ने चलन थियो,’ पण्डित चौधरीले भने, ‘तर सन्ठीको अभावले यो खेल लोप भयो ।’

देउता घरको दलिनमा राखेको दीयोमा हुकेहुक्का बाली थारू शब्दमा ‘अनधन लक्ष्मी घर ढुक दरिदर बहार हो’ अर्थात् अन्न धनसहित लक्ष्मी घर पसून् र दरिद्रता बाहिर हुन् भन्दै तीन पल्टसम्म मन्त्र पढेर हुकेहुक्का सल्काउने गरिन्छ । यसरी सल्किसकेको हुकेहुक्कालाई तीन फेरासम्म देउता घरको चारैतिर घुमाएर दोबाटो वा खाली चौरमा लगि खेल्ने चलन छ ।

आगोको राप तापले दरिद्रता भाग्ने किंवदन्तीअनुरूप हुकेहुक्काको प्रचलन रहेको र दीयो अर्थात् हुका बाली लक्ष्मीलाई स्वागत गर्ने मान्यताअनुरूप यो खेल खेल्ने गरिन्छ ।यस खेलले किसानहरूले आफूले लगाएको नयाँ अन्नबाली भिœयाउने दिन आयो भनेर संकेत गर्ने गर्दछ ।

नयाँ अन्नबाली राम्ररी सप्रियोस् भनी हुकेहुक्काको बल्न बाँकी एक भाग जम्मा पारी दोबाटोमा जलाउने र बलेको आगोमा तीन पटक सम्म नाघेर आ–आफ्नो घर जाने चलन रहेको बताउँछन् ।

एउटा एउटा जलेको हुकेहुक्का खेत वा बारीमा लगाएको अन्नबालीमा गाड्ने चलनसमेत रहेको छ । तिनै बलेको एउटा हुकेहुक्काको ठुटाले दरिद्रता वा कुनै किसिमको छोइछूत नलागोस् भन्दै घरमा ल्याई राख्ने प्रचलन रहेको पण्डित चौधरीले बताए ।

 

 

 

 

(Visited 18 times, 1 visits today)
Loading comments...