बुधवार ९ माघ, २०७५ (Wednesday, 23rd January 2019)
९ माघ, २०७५ (23 January 2019)

मधेसमा दीपावलीसँगै छठपर्वको तयारी

राजधानी समाचारदाता
3 months ago
07/11/2018

 

धनुषा। जनकपुरसहित सम्पूर्ण तराई मधेसमा दीपावलीसँगै छठ पर्वको तयारी तथा रौनक पनि सुरु भइसकेको छ । असोज महिनाको कृष्ण पक्षको औंसी तिथिका दिन लक्ष्मी पूजा अर्थात् दीपावली मनाइन्छ । लक्ष्मी पूजाको ठीक चार दिनपछि नै अर्थात् कात्तिक महिनाको शुक्ल पक्षको चौथी तिथिका दिनदेखि छठ पर्व विधिवत रूपमा रूपमा सुरु हुन्छ । छठ पूजा तराई मधेसमा बस्ने मैथिलीभाषी मधेसी हिन्दू समुदायको मुख्य पर्व हो । दीपावली अर्थात् लक्ष्मी पूजालाई यहाँ दोस्रो ठूलो चाडको रूपमा लिइन्छ ।

तराई मधेसका बजारमा अहिले दीपावलीका लागि किनमेल गर्नेले छठ पूजाका लागि पनि बन्दोबस्ती गरिसकेका छन् । दीपावली सकिएलगत्तै चार दिनपछि नै छठ सुरु हुने हुँदा बजारमा छठ पूजामा प्रयोग हुने पुजन सामग्री बाँसको चोयाबाट बनाइएका टोकरी, नाङ्लो र सुपली, माटोको कलश, ढकनी, कोशी र दियो, कपडा, फलफूल, तेल, मसलाजस्ता खाद्यान्न किनमेल गर्न पसलमा ग्राहकको घुइँचो छ ।

क्षीरेश्वरनाथ नगरपालिकामा लाग्ने साप्ताहिक हाट सखुवा र नयाँबजारको सडकमा पसलेले छठलाई लक्षित गर्दै बाँसको चोयाबाट बनाइएका सामग्री र माटाका सामग्रीका करिब २ सयको संख्यामा पसल सञ्चालन गरिसकेका छन् ।

दीपावली र छठको सरसामान एकैपटक किन्दा सजिलो र सस्तो पनि पर्ने भन्दै स्थानीय दुवै चाडका सामग्री किनमेलका लागि बजार धाउँदै छन् । सोमबार महेन्द्रनगर नयाँ बजारमा छठका लागि बाँसको चोयाबाट बनाइएको टोकरी किन्दै गरेका महेन्द्रनगर कुचाइ टोल बस्ने गीता देवीले भनिन्, ‘अहिले दीपावलीमै किन्यो भने छठका बेला फेरि बजार धाउनुपर्दैन ।’

छठका बेला बजारमा दीपावलीको भन्दा अझ बढी भीडभाड हुने भएकाले दीपावलीकै किनमेलका बेला छठका लागि सामान किनेको पनि उनले बताइन् ।

नयाँ बजारमा बाँसको टोकरी र नाङ्लोको पसल थापेका हरिहरपुरका सुरेन्द्र सिंहले पनि छठपूजा गर्नेले दीपावलीकै बेलादेखि छठका सामानको किनमेल सुरु गरिसकेको बताए ।

‘छठ पूजामा छठीमातालाई अर्घ दिन बाँसको छैटा (टोकरी) र सुपली अनिवार्य चाहिन्छ, उनले भने’, तीन दिनदेखि नै हरेक दिन ४० देखि ५० वटा छैटा र सुपली बेचिरहेको उनले बताए ।

 

 

(Visited 6 times, 1 visits today)