सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

अमेरिकी संसदीय चुनाव : सिनेट रिपब्लिकन, प्रतिनिधिसभा डेमोक्रेटको कब्जामा

एजेन्सी
2 weeks ago
07/11/2018

वासिंगटन । अमेरिकामा सम्पन्न संसदीय चुनावबाट डेमोक्रेटिक पार्टीले तल्लो सदनमा जित कायम गरेको छ । पछिल्लो आठ वर्षमा पहिलो पटक तल्लो सदनमा नियन्त्रण कायम गर्दै डेमोक्रेटिक पार्टीले राष्ट्रपतिका मुद्दालाई रोक्न सक्ने अवस्था सिर्जना गरेको छ ।

चुनाबको यो परिणामलाई राष्ट्रपति डोनल्ड ट्रम्पका लागि एउटा झट्काको रूपमा हेरिएको छ । मंगलबार भएको संसदीय चुनावलाई ट्रम्प शासनमाथिको जनमत संग्रहका रुपमा हेरिएको छ ।

डेमोक्रेटले ट्रम्पविरुद्ध उदारवादी नीतिको उपयोग गर्दै चुनावी फाइदा लिएको बताइएको छ । सीबीएस नेटवर्कको प्रक्षेपण अनुसार प्रतिनिधिसभामाथि नियन्त्रण गर्नका लागि आवश्यक २३ स्थानमा डेमोक्रेटिक पार्टीले जित हात पार्ने देखिएको छ ।

यो सँगै डेमोक्रेटले अब ट्रम्पका योजनालाई अझ प्रभावकारी ढङ्गले रोक्न सक्नेछ । मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने उनको योजनालाई पनि उनीहरूले तुहाउन सक्छन् ।

डेमोक्रेटिक पार्टीका तर्फबाट पहिलो पटक दुईजना मुस्लिम महिला कंग्रेसमा प्रतिनिधित्व गर्ने भएका छन् । प्रतिनिधिसभाका सबै ४३५ स्थान, सिनेटका १०० मध्ये ३५ स्थान र ३६ वटा राज्यमा गभर्नर पदका लागि लागि मतदान भएको हो ।

यसअघि प्रतिनिधिसभा विपक्षीहरूको नियन्त्रणमा गए तपाई कसरी अगाडि बढ्नुहुन्छ भन्ने जिज्ञासामा राष्ट्रपति ट्रम्पले त्यो जोखिमपूर्ण हुने बताएका थिए ।
यद्यपि रिपब्लिकन पार्टी सिनेटमा भने आफ्नो नियन्त्रण कायम राख्न सफल भएको छ ।