सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

अमेरिकाको दक्षिणी सीमाबाट प्रवेश गर्नेलार्इ शरण नदिइने

एजेन्सी
1 week ago
09/11/2018

वासिङटन । अमेरिकाले विभिन्न मुलुकबाट आएका आप्रवासीलाई देशभित्र बस्न कडाई गरेको छ । नयाँ नीतिअनुसार अमेरिकाको दक्षिणी सीमाबाट देशभित्र पस्ने गैरकानुनी आप्रवासीहरू नयाँ नियम अनुसार शरणार्थी बन्न अयोग्य हुनेछन् ।

अमेरिकी होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले घोषणा गरेको नियम बमोजिम प्रवेशमा राष्ट्रपतीय निर्देशानुसार लगाइएको निषेध उल्लंघन गर्नेलाई शरण मिल्ने छैन ।

हालै बनेको संसदीय निर्वाचनमा पनि ट्रम्पको मुख्य एजेन्डा आप्रवासन बनेको थियो । राष्ट्रपतिको आदेशअनुसार जारी गरिएको एक वक्तव्यमा राष्ट्रिय स्वार्थमा आप्रवासन रोक्न सक्ने भनिएको छ ।

मेक्सिको हुँदै मध्यअमेरिकी देशहरूबाट अमेरिका आउन लागेका आप्रवासीहरूको लस्करलाई लक्षित गर्दै राष्ट्रपति ट्रम्पले सीमामा उनीहरुलाई रोक्न ठूलो संख्यामा सेना खटाएका थिए ।

बिहीवार कार्यवाहक महान्यायाधिवक्ता म्याथ्यु ह्वीटेकर तथा होमल्याण्ड सेक्युरिटी प्रमुख कर्स्टन नेल्सनले अन्तरिम फाइनल रुल नामक सो नियमको घोषणा गरेका हुन् ।

सो नियम पुराना केसमा भने लागू हुनेछैन । तर सो नियमविरुद्ध अदालतमा मुद्दा चल्न सक्ने बताइएको छ ।

अमेरिकी नागरिक अधिकार समूह सीभिल लिबर्टिज युनियनले सो नियमलाई अवैधानिक भएको टिप्पणी गरेको छ ।