सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

विद्युतको लाइन काटेर प्राधिकरणले असुल्यो २३ लाख

रासस
1 week ago
09/11/2018

दमौली । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले महशुल नतिर्ने ग्राहकको लाइन काटनुका साथै २३ लाख १४ हजार ७०८ असुल गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा विद्युत् महशुल नबुझाउने २३३ ग्राहकको लाइन काटेर उक्त रकम असुल गरिएको केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण विद्युत महशुल सङ्कलन विनियमावली २०७३ को दफा ८ अनुसार मिटर रिडिङ गरेको २३ अाैं दिनदेखि ३० अाैं दिनसम्म विद्युत् महशुल बुझाएमा पाँच प्रतिशत, ३१ अाैं दिनदेखि ४० अाैं दिनसम्म १० प्रतिशत, ४१ अाैं दिनदेखि माथि विद्युत् महशुल बुझाएमा २५ प्रतिशत थप दस्तुर लाग्नेछ ।

यस्तै विनियमावलीको दफा १०अनुसार मिटर रिडिङ गरेको ६० अाैं दिनसम्म विद्युत् महशुल नबुझाएमा विनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काटन सकिने व्यवस्था छ ।

बिग्रिएका मिटर बदली अभियान 

उक्त केन्द्रले लामो समयदेखि बिग्रेका मिटर बदली गर्ने अभियान चलाएको छ । हालसम्म यस्ता बिग्रेका करीब २५० भन्दा बढी ग्राहकको मिटर बदलिएको र यसबाट नियमित महशुल सङ्कलन पनि वृद्घि भएको प्रमुख गोशलीले बताउनुभयो । चालु आव २०७५÷७६ मा यस्ता एक हजार थान मिटर बदली गर्ने उक्त केन्द्रको योजना छ ।