सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

भूकम्पले क्षतिग्रस्त रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दाजुभाई दिदीबहिनी नहुनेको भाईटीका

राजधानी समाचारदाता
1 week ago
09/11/2018

काठमाडौं । दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा पुगेर एकअर्कालाई भाइटीका लगाइदिएका छन् ।

भाईटिका लगाउनेहरुको सो मन्दिरको गेटमा भीड लागेको छ । भाइटीकाको दिनमा दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइहरुले त्यही मन्दिरमा पुगेर टीका लगाउँछन् ।

रानीपोखरीको बीचमा अवस्थित मन्दिर २०७२ मा आएको भूकम्पले क्षतिग्रस्त भएकाले पुनर्निर्माणको काम भइरहेको छ । पुनर्निर्माणको कार्य जारी रहेका कारण यसवर्ष पनि मन्दिरको मूल गेटमा भाईटीका लगाउने व्यवस्था मिलाइएको छ ।

राजा प्रताप मल्लले आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युको शोकमा परेकी रानीलाई खुसी तुल्याउने उद्देश्यले बि.सं. १७२७ मा रानीपोखरी निर्माण गरेको इतिहासमा पढ्न पाइन्छ ।

पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि प्रताप मल्ल र उनका दुई छोराको शालिक पनि राखिएको छ । रानीपोखरीस्थित गोपालेश्वरको मन्दिर हरेक वर्ष भाइटीकाको दिनमा मात्रै खुल्दछ ।