शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

कतारसँग श्रम सम्झौता नवीकरण गर्ने तयारी

मधुजंग पाण्डे
1 month ago
11/11/2018

काठमाडौं। मलेसियासँग द्विपक्षीय श्रम समझदारी पत्रमा हस्ताक्षर भएपछि नेपाल सरकारले कतारसँगको श्रम सम्झौता नवीकरणको तयारी थालेको छ । यसअघि भएको श्रम सम्झौता अझैसम्म कामदारमैत्री नभएको पाइएपछि नवीकरण गर्न लागिएको हो ।

नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मुलुक कतारसँग यसअघि सन् २००५ मा श्रम सम्झौता भएको थियो । तर, सो सम्झौताले नेपाली कामदारको सुरक्षाका विषय समेट्न नसकेकाले सरकारले कतारसँग पुनः नयाँ श्रम सम्झौता गर्ने भएको हो । यसअघि भएको समझदारीको १३ वर्षपछि नेपाल र कतारबीच पुनः नयाँ श्रम समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले मलेसियामा जस्तै वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मुलुक कतारसँग पनि श्रम सम्झौता नवीकरण गर्ने तयारी भएको जानकारी दिए । उनले शून्य लागतमा कामदार पठाउने गरी श्रम सम्झौता गर्ने तयारीमा सरकार रहेको बताए ।

कतारसँगको श्रम सम्झौतको अन्तिम तयारीस्वरूप दुई देशका सरकारी अधिकारीबीच छलफल भइरहेको छ ।

सन् २००५ मा भएको सम्झौतालाई समयसामयिक बनाउन अहिले कतार सरकारसमेत इच्छुक छ । विद्यमान पुरानो समझदारीमा भएका अप्ठ्याराहरूमध्ये कुन–कुन क्षेत्रमा परिवर्तन गर्ने भन्नेबारे संयुक्त प्राविधिक टोलीले गृहकार्य गर्ने श्रम मन्त्रालयले जनाएको छ । संयुक्त प्राविधिक टोलीले हरेक वर्ष बैठक बसेर श्रमसम्बन्धी समस्या समाधान गर्दै आएको भए पनि यस वर्ष भने बैठक बसेको छैन । मन्त्रालयका प्रवक्ता रेग्मीका अनुसार आगामी डिसेम्बरमा हुने बैठकमा नयाँ ढंगबाट श्रम सम्झौता गर्न बृहत् छलफल हुनेछ ।

 

 

कतारसँग यसअघि सन् २००५ मा श्रम सम्झौता भएको थियो । सो सम्झौताले नेपाली कामदारको सुरक्षाका विषयमा अझै धेरै विषय समेट्न नसकेकाले सरकारले कतारस“ग पुनः नया“ श्रम सम्झौता गर्न लागेको हो

 

 

प्राविधिक टोलीको संयुक्त छलफलपछि मात्रै श्रम सम्झौता नवीकरण हुने मन्त्रालयले जनाएको छ । अब कतारसँग नयाँ श्रम सम्झौता गर्दा शून्य लागतमा कामदार पठाउने प्रावधान गरिनुका साथै सामाजिक सुरक्षामा विशेष जोड दिइने पनि उनले जानकारी दिए । वैदेशिक रोजगार विभागका अनुसार अहिले कतारमा १० लाख बढी नेपाली कामदार कार्यरत छन् । तर, कति कामदार फर्किए भन्ने विभागसँग तथ्यांक छैन । यसअघि नेपाल सरकारले २०७२ सालदेखि नै निःशुल्क भिसा र हवाई टिकट व्यवस्था लागू गरेको थियो । सो व्यवस्था अझै व्यावहारिक रूपमा लागू हुन सकेको छैन । कतारमा ‘रोजगारी भिलेज’को अवधारणामार्फत वैदेशिक रोजगारीका लागि नेपाली कामदार पठाउने सरकारी योजना रहेको छ ।

सोही व्यवस्थामार्फत एकद्वार प्रणालीबाट रोजगारदाताले प्रत्यक्ष माग लिएर आउन सक्छन् र कामदार छनोट गर्न सक्छन् । यस विषयमा पनि छलफल भइरहेको तर निर्णयमा पुग्न नसकिएको मन्त्रालय उच्च स्रोतले जनाएको छ । सोही सम्झौताको तयारीका लागि केही दिनअघि मात्र कतारी टोली नेपाल आइपुगेको थियो । अहिले नेपालमा भिसा सेन्टर राख्नेबारे गृहकार्य गर्न कतारी टोली नेपाल आएको हो । सहसचिवस्तरको कतारी टोलीले गत सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग छलफल गरेको थियो । सो टोलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विष्टसँग सामान्य छलफल गरेको मन्त्री विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए । कतारबाट काठमाडांै आएका चारजना कतारी टोलीले भिसा सेन्टरबारे प्राविधिक टोलीसँग छलफल गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भिसा सेन्टर सञ्चालनमा आएपछि वैदेशिक रोजगारीका लागि मात्र नभएर पर्यटक भिसालगायत अन्य काममा कतार जाने नेपालीलाई थप राहत पुग्ने अपेक्षा गरिएको छ ।

 

 

 

 

 

(Visited 22 times, 1 visits today)