शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

मिथिलामा छठ पर्व सुरु

राजधानी समाचारदाता
1 month ago
12/11/2018

 

जनकपुरधाम। मिथिलाञ्चलको महापर्व छठ आइतबारबाट सुरु भएको छ । महिलाले पोखरीमा नुहाइधुवाइ गरी पूजा सुरु गरेका छन् । व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज र कोदोजस्ता वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्ने गरिन्छ । यस अवसरमा जनकपुरका प्रमुख पोखरीमा नुहाउनेहरूको भीड लागेको छ । चारदिने छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रोदिन अस्ताउँदो सूर्यलाई अर्घ तथा चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा रहेको छ ।

पञ्चमी तिथिको दोस्रो दिनलाई खरना भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरू दिनभरि निर्जला व्रत बस्ने गर्छन् र साँझपख नुहाएर चोखो भई पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसादको सख्खर मिलाएर खिर बनाउने गरिन्छ । प्रसादका रूपमा विशेषगरी पाकेको केरा र खिरलाई लिइन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतालुले राति चन्द्रोदयपछि चन्द्रमालाई खिर चढाई प्रसादको रूपमा ग्रहण गर्छन् । यो दिनपछि व्रतालुले पूर्ण व्रत लिइनुपर्ने परम्परा रहँदै आएको छ ।

तेस्रो दिन गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटानीपिसानी गरी पिठोबाट विभिन्न गुलियो खाद्यसाम्रगी बनाइन्छ । छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो रहनुपर्ने हुन्छ । पूजा सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास रहँदैआएको छ । त्यसैले पूजा सामग्री तयार पार्दा महिलाहरूले निक्कै सतर्कता अपनाउने गर्छन् ।

यता छठ पर्वलाई ध्यानमा राखी जनकपुरको गंगा सागर, रुक्मिनी सर, धनुष सागर, अरगज्जा सागर, दशरथ तलाउ, रत्न सागर, भुतही पोखरीसहितका पोखरीलाई पूजाका लागि विशेष रूपले सजाइएको छ । स्थानीय युवा क्लब पोखरीको सजाउने कार्यमा सहभागी भएका छन् ।

छठमा केरा, भुसवा, ठेकुवा, नरिवल, उखु, मुलासहित विभिन्न फलफूल लिएर  भक्तजनले सूर्यलाई अर्घ दिने गर्छन् । छठको पूजा पोखरी र नदीमा मात्र हुने गर्छ ।

यसैबीच रौतहटलगायत मधेसमा मुख्य पवित्र पर्वको रूपमा मनाइने छठ पर्व विधिवत रूपमा सुरु भएको छ । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रूपमा रहेको छठ पर्व शनिबारदेखि विधिवत रूपमा सुरु भएको हो ।

चार दिन अर्थात् बुधबारसम्म मनाइने यो पर्वका लागि बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न स्थानीयवासी व्यस्त छन् ।

 

(Visited 5 times, 1 visits today)